किशन पौडेल
उसलाई शिखरमा पुग्नु थियो । उसले एउटा आशालाग्दो चाकरीको भर्याङ देख्यो र
निहुँरिदै भन्यो –
“प्रभु ! मलाई अवसरको ढोका खोलिदिनुस्।”
“तथास्तु ! चढ् माथि ।” उसलाई आशीर्वाद प्राप्त भो ।
विवेकमा लगाम लगाएर एक खुट्किलो उक्लियो ।
उसले माथि फर्केर हेर्यो त्यहाँ गुलियो अङ्गुरको झुप्पा देख्यो र लालचको लामो हात फैलाउँदै भन्यो –
“हजुर, मलाई त्यहाँ पुग्नु छ !”
” समाऊ हात ! ” कृपा दृष्टि भो !
चाप्लुसीको डोरी समायो र चढ्यो माथि ।
उसले जिन्दगीको रङ्गिन सपना देख्न थाल्यो धेरै माथि उड्ने लालसाले महत्त्वाकाङ्क्षाको पखेटा फिँजाउँदै भन्यो –
“स्वामी मलाई शिखरमा नै पुर्याइ दिनुस् ! “
-“अवश्य ! ” मिठो आश्वासन प्राप्त भो ।
निष्ठालाई कुल्चिँदै ऊ माथि पुग्यो । त्यहाँ ऊ जस्तै अवसरवादीहरू नैतिकताको सौदा बाजी गर्दै रहेछन् ।
उसले सोध्यो-
“मालिक म के गरूँ !”
“देऊ बलिदान !”
उसले आफ्नो नैतिकताको बलिदान दियो र अवसरको झ्यालबाट फुत्त भित्र पस्यो । इमानको ढोकामा चुकुल लगायो ।
उचाईको शिशमहल भित्र सुस्ताउँदै ऐनामा अनुहार हेर्यो ।
ऊसँग स्वाभिमानको शिर थिएन ।
°°°
लघुकथाकार परिचयः किसन पौडेल गजल र लघुकथामा सकृय कलम चलाउँछन् । उनको गजल सङ्ग्रह “कहर”(२०७७) र लघुकथा सङ्ग्रह “खुशी” (२०७९) प्रकाशित छन् । संयुक्त रुपमा उनी छेस्का कविता, हिन्दी लघुकथा, बाङ्गला लघुकथा पुस्तकमा समेत समाविष्ट छन् । हेटौंडालाई सिर्जनभूमि बनाएका उनी मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष पनि हुन् ।