‘सिर्जनविधाका परिधिमा तीर्थराज अधिकारी’ लोकार्पित

समाचार

३१ साउन २०८३, काठमाडौं

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा काठमाडौँमा आयोजित एक समारोहबीच प्रमुख अतिथि प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले समालोचक दीपकप्रसाद गौतमद्वारा तयार गरिएको अनुसन्धानात्मक कृति ‘सिर्जनविधाका परिधिमा तीर्थराज अधिकारी’ को लोकार्पण गरे । सो अवसरमा प्रमुख अतिथि पन्तले कृतिकार गौतमको प्रशंसा गर्दै कृतिनायक तीर्थराज अधिकारीको सिर्जना र साहित्यिक योगदानका बारेमा चर्चा गरे ।
भुवानीशङ्कर बहुमुखी क्याम्पस, चितवनमा प्राध्यापनरत कृतिकार दीपकप्रसाद गौतमले यसअघि अधिकारीका मुक्तकसङ्ग्रहमा केन्द्रित रहेर अनुसन्धान गरेको र त्यसपछि उहाँका समग्र कृतिको अध्ययन-विश्लेषण गर्न उत्प्रेरित भएको बताए ।
कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका संस्थापक तथा सल्लाहकार ठाकुर शर्मा भण्डारीले कवितामै स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
लोकार्पित कृतिका बारेमा समालोचक तथा साहित्यकार प्रा.डा. भागवत ढकालले समीक्षा गरेका थिए । समालोचक तथा साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कृतिकार दीपकप्रसाद गौतम र कृतिनायक तीर्थराज अधिकारीका व्यक्तित्व, सिर्जना र समालोचनामाथि प्रकाश पार्दै आफ्नै निर्देशन र सल्लाहमा कृति तयार भएको जानकारी गराए ।
सो अवसरमा नेपाल स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदन, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष साहित्यकार रामकाजी कोने, समालोचक डा. कृष्ण भण्डारी मुमुक्षु, अनुवादक भोजराज न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिकार गौतम र कृतिनायक तीर्थराज अधिकारीको योगदानको चर्चा गरेका थिए ।
साहित्यकार तीर्थराज अधिकारीले लोकार्पित कृति आफ्ना लागि अमूल्य र महत्त्वपूर्ण भएको उल्लेख गर्दै साहित्यमा लागेर आफूले सन्तुष्टी प्राप्त गरेको बताए ।
कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष साहित्यकार रामप्रसाद पन्तले कृतिकार गौतम र र साहित्यकार तीर्थराज अधिकारीको व्यक्तित्वबारे चर्चा गरे ।
सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित कृतिका कृतिकार दीपकप्रसाद गौतमलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
प्रतिष्ठानका महासचिव तथा साहित्यकार यादव भट्टराईद्वारा कार्यक्रम सञ्चालन गरिएको थियो ।

०००