कमल रेग्मीका गीतहरू

गद्य विविध

नवीन पौड्यालकालिम्पोङ

परिचय :

गीत भनेको आनन्दको स्रोत हो। प्रकृति नै गीतको अनन्त स्रोत हो। प्रकृतिमा नै गीत संगीत सिर्जना हुन्छ। चराचुरूङ्गीहरू स्वरहरूको मिठासपन, हावाको बेगबाट उब्जने मिठो आवाज आदि मान्छेले सभ्यताको प्रारम्भदेखि नै सुन्दै आएको हो। मान्छेले प्राकृतिक वस्तुहरूको धर्षणबाट नै बाजा बजाउने सिक्यो, गाउन सिक्यो। गीतले मानव मनलाई उद्वेलित तरङ्गित र आनन्दित बनाउँछ। गीत एउटा लयात्मक संरचना भएको विधा हो। यद्यपि यसलाई एउठा सर्वाङ्गीन विधा मान्नु वा वा उपविधा मान्नु भनन्ने कुरामा केही मतभेद पनि पाइन्छ। गीतको कवितात्मक स्वरूपलाई लिए उपविधा र यसलाई गायन वाद्यवादन तिनैवटाको संयोजन भए एउटा सर्वाङ्गीन विधा मान्न सकिन्छ। यसमा शब्दहरूको ध्वनिगत आरोह अवरोहको संयोजन गरी लय हुन्छ। गीतमा केही घटक हुन्छन् जसले गेयता र लय सिर्जना गर्दछन्। गीतका आदि मध्य र अन्त्य हुन्छ। आदि भाग गीतको स्थायी भाग हो भने मध्यभाग अन्तराका रूपमा पाइन्छन्। स्थायीले उठान गरेको विषयलाई अन्तराले पुष्टि गर्दछ। गीतमा भाव वा विचार, उद्देश्य, भाषा, शैली आदि तत्त्व पाइन्छन्। गीतमा आत्मनिष्ठता हुन्छ जुन वैयक्तिक नभएर निर्वैयक्तिक हुन्छ अर्थात् गीत वैयक्तिक भए पनि यसले सामूहिक चेतनालाई प्रतिनिधित्व गर्छ। गीतको परिधिमा गीतिकाव्य, गीत र प्रगीत गरी तिन शब्द प्रयुक्त हुनेगर्छन्। यद्यपि यी तीनमा केही अन्तर छन्।

गीति पद्य-काव्य विधा हो जसमा संगीत, अनुभूति र रसका संगम रहेको हुन्छ। यो एउटा व्यापक अवधारणा हो, जसमा गीत, अनुगीत, समगीत, प्रगीत, गीतिका, अगीत आदि समाहित हुन्छन्। त्यसैगरी गीत र प्रगीतमा पनि केही भेद हुन्छ। प्रगीतमा लयात्मकता शब्द र शब्दकारको हाव-भाव, प्रस्तुतीकरणबाट उत्पन्न हुन्छ तथा वाद्यवादनबिना नै संगीत प्रष्फूटित  हुन्छ। प्रगीतमा सौन्दर्य शब्दहरूका तत्वबाट आउँछ जबकि गीतमा  संगीतको शास्त्रीयताबाट उत्पन्न हुन्छ| प्रगीत युग बोधका आधारमा आत्मानुभूति र वैयक्तिकताको वरीयता दिन्छ। प्रगीतमा स्थायी र अंतरा आदिका अनिवार्य परिपालन गर्ने आवश्यकता हुँदैन जबकि गीतमा स्थायी र अन्तरा सर्वाधिक हुन्छ। गीतमा लयबद्धता, गेयता, आख्यानरहितता, भावकेन्द्रितता, कोमल पदावलीमय आदि विशेषता हुन्छ।

अभिव्यक्तिका माध्यमहरुमा गीतको छुट्टै महत्व छ किनभने गीतका शब्दहरुलाई सुर र सङ्गीतले सजाएर कारगर र प्रभावकारी तुल्याएको हुन्छ। कुनै पनि गीतको पुस्तकीय अध्ययन मात्रको आधारमा सही मूल्यांकन हुँदैन। तर साहित्यका अरु विधा सरह गीतमा पनि शब्दले नै आत्माका रुपमा रहेर प्रमुख भूमिका खेलेको कुरालाई अस्वीकार गर्नु मिल्दैन।  गीतमा स्थायी र अन्तरा गरी दुईवटा मुख्य भाग हुन्छन्। गीतको मुख्य भाव वा कुरा भनिने पंक्तिलाई स्थायी वा ध्रुव पंक्ति भनिन्छ। यो पंक्ति घरिघरि दोहेरिन्छ। अरु पंक्तिलाई अन्तरा भनिन्छ जसले ध्रुव पंक्तिमा भनिएका कुरालाई पुष्टि गर्दछ। गीतको कुरा गर्दा गायन र सङ्गीतको प्रसङ्ग आउँछ नै। सम्पूर्ण सृष्टि लयवद्ध छँदैछ। मानिसको शरीरतन्त्र, आयु र सम्पूर्ण जीवन नै लयवद्ध छ। जरा-मरणको चक्रीय आरोहण-अवरोहण लयमय छ। लयबाहिर केही छैन। यसैले मानिसलाई लय मन पर्छ लयमा ऊ रमाउँछ। लयमा झुम्छ, निदाउँछ। लय आमाको काखसरह हो जहाँ उसले निर्विघ्न शान्ति पाउँछ। लय गीतभन्दा जेठो हो। यसैले जीवनका हर्षामर्ष, सङ्घर्ष र रहस्यका अभिव्यक्तिलाई लयमा बाँधिदा त्यो गेय गीत बन्छ। गीतमा ढाल्न नसकिने कुनै गद्य वा पद्य हुँदैन यद्यपि गीतका केही सैद्धान्तिक आधार मान्ने प्रचलन छ। यसका साथै 1. आत्माभिव्यक्ति, 2. संगीत र लय, 3, भावुकता, 4. संक्षिप्तता, 5. कल्पनाशीलता र 6. समग्र अनुभूति जस्ता तत्त्व पनि पाइन्छन्। समग्रमा गीतमा गेयात्मकता, लयान्विति, निजात्मकता, संक्षिप्तता, सरलता, एकोन्मुखता, भावप्रवणता आदि विशेशता रहेका हुन्छन्। यी आधारहरु शाश्वत भने होइनन्। उसो त वेदका ऋचाहरु पनि सबै गीत हुन्। भगवद्गीता पनि गीत हो। गीतको शक्ति भनेको त्यसमा पाइने नैसर्गिकता र स्वाभाविकता नै हो। हृदयको अन्तरतम गहिराइवाट निस्किएको उद्गारले नै कुनै अर्को हृदयलाई छुन्छ अनि अमर बन्छ।

कमल रेग्मी : एक परिचय-

नेपाली साहित्यमा कमल रेग्मीलाई अब चिनाइरहन पर्दैन। उनको जन्म ११ नोभेम्बर, १९७८ मा कालिम्पोङको गैरीबासमा भएको हो, उनका बाबुआमाको नाम लक्षुमण रेग्मी र मनकुमारी रेग्मी हो। उनी विद्यार्थी कालदेखि नै नेपाली साहित्यमा रूचि लिएर साहित्य अध्ययन, अध्यापन र लेखनमा सक्रिय छन्। उनी मूलतः एक कवि प्रतिभा हुन्। उनी कविताका विभिन्न रूप जस्तै गीत, कविता र गजलहरू लेख्दै आएका छन्। उनले नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेर अहिले दार्जिलिङ प्रसिद्ध सन्त जोसेफ्स विद्यालयका नेपाली विषयका शिक्षकका रूपमा सेवारत छन्। उनी दार्जिलिङको सांगीतिक साहित्यिक कार्यक्रममा एक कुशल उद्घोषक पनि हुन्।

हालसम्म कमल रेग्मीका प्रकाशित पुस्तकहरू अध्ययन गर्दा कवितासङ्र्गह, गीतसङ्ग्रह र गजलसङ्ग्रह प्रकाशित छन्। उनका प्रकाशित पुस्तकहरूमा सङ्ग्रहभित्रका कविताहरू (कवितासङ्ग्रह १९९७), सृजना र अभीष्ट (कवितासङ्ग्रह, २००९), काँड़ाफूल (गीतसङ्ग्रह, २००७), तप्कना (गीति अल्बम्, २०१२), हिउँको आगो (गीतसङ्ग्रह, २०१२), घामपानी (गीतसङ्ग्रह, २०१२), ऋतुगीत (गजलसङ्ग्रह, २०१०), कमलकोठी (गजल सङ्ग्रह, २०११), निबन्धमाला (निबन्धसङ्ग्रह, २०१०), रङ्ग तरङ्ग (निबन्धसङ्ग्रह, २०१६) प्रकाशित छन्। यीबाहेक उनका प्रतिनिधि गीतहरूको अङ्ग्रेजी अनुवाद Confluence (२०१८, अनुवादक श्रद्धामणि प्रधान) प्रकाशित छ।

रेग्मीले सङ्कल्प (साहित्यिक सामयिक, १९९८- २०००), विकल्प (साहित्यिक सामयिक, १९९९- २०००), साहित्य साधना (भित्ते पत्रिका, १९९९-२०००), पहाड़ (साहित्यिक सामयिक, २०००) जस्ता केही साहित्यिक पत्रिकाहरूको पनि सम्पादन गरेका छन्। यीबाहेक उनले केही पाठ्यपुस्तक पनि सम्पादन गरेका छन्। रेग्मी केही साहित्यिक पुरस्कारबाट पनि पुस्कृत भएका छन्- साहित्य अकादमी युवा पुरस्कार, नयाँ दिल्ली (२०११), भानु स्मृति पुरस्कार (२०००), विश्वभारती सम्मान, शान्तिनिकेतन (२०००), विद्याश्री न्यास नन्दी सेवा सम्मान, बनारस (२०११), स्रष्टा पुरस्कार गेजिङ सिक्किम (२०१६), सर्वश्रेष्ठ गीतकार पुरस्कार, गोदुनिस संगीत प्रतियोगिता, दार्जिलिङ (२०१६)। यीबाहेक उनले केही साहित्यिक सामाजिक सङ्घ संस्थाहरूबाट सम्मानित अभिनन्दित भएका छन्।

गीतकार कमल रेग्मी

अहिलेका एक चर्चित र सफल गीतकार हुन् कमल रेग्मी। उनी गीत सिर्जनामा एकनिष्ठ भएर अनवरत लागिरहेका छन्। गीतबाहेक उनका कवितासङ्ग्रह, गजलसङ्ग्रह पनि प्रकाशित छन् यद्यपि उनको अभीष्ट गीत नै हो। उनले कविता कोर्दा स्वतः गीत नै निस्कन्छ। काँड़ाफूलमा जम्मा बयानब्बेवटा गीतहरू सङ्गृहीत छन्। दोस्रो गीतसङ्ग्रह हिउँको आगोमा जम्मा अठासीवटा गीतहरू रहेका छन्। तेस्रो गीतसङ्ग्रह घामपानीमा एक सय पाँचवटा गीतहरू समावेश छन्। यसरी हेर्दा उनका हालसम्म तीनवटा गीतसङ्ग्रहभित्र जम्मा दुई सय पच्यासीवटा गीतहरू सङ्ग्रहीत छन्। यद्यपि तीनवटा गीतसङ्ग्रहको तुलनात्मक अध्ययन गर्दा पहिलो गीतसङ्ग्रह काँड़ाफूल मा नै उनको गीतको मूल फुटेको छ। पछिल्ला दुईवटाका गीतहरू अझ गुणात्मक पनि बनेका छन्।

उनका धेरैवटा गीतहरू गायनभित्र परेका छन्। उनका गीतहरूलाई कर्म योञ्जन, गगन गुरूङ, मणिकमल छेत्री, वसनत छेत्री, दीप वाइबा, चन्दन लोम्जेल, जीवन प्रकाश प्रघधान, कुन्दनराज सुब्बा, प्रसाद रनपहेंली, महेश्वर लामा, पारस गजमेर, अजनिस राई, महेश तापा, राजु सुन्दास, योगेश राई, दिवस गुरूङ, गौतम गजमेर, सुरज मोक्तान, चेतन गजमेर, फ्रान्सिस सुब्बा, प्रमिता गुरूङ, आग्नेश लेप्चा, उत्तममणि बमजन, नन्दकिशोर खँड़्का, रतन लामा, हेमन्त थापा, प्रवीण गजमेर, श्याम प्रधान, पुजन लोहागुन, पवन गोले, विनय सेवा, विमला सि प्रधान, प्रवल थापा, पुष्पन प्रधान, प्रदीप छेत्री, उदय सोताङ आदिले सङ्गीत भरेका छ। यसैगरी डेजी बराइली, अजनीश राई, प्रसाद रनपहेंली, कुमार रनपहेंली, यम बराल, लासिमित राई, रामकृष्ण ढकाल, थुपदेन भुटिया, अनुपमा प्रधान, हिरा रसाइली, गौतम गजमेर, महेश सेवा, कर्म शेर्पा, सागर बल, किरण वाइबा, नारायण लकान्द्री, रीना रनपहेंली, शोभना प्रधान, दिपेन्द्र नारायण प्रधान, रोमा सुनाम, सोनू राई, राजेन आले, दिपेन गुरूङ, रबिन गुरूङ, चेतन गजमेर,  बरूण बराइली, डा. कृष्णराज घतानी, शर्मिला रसाइली, सीमा मोक्तान, सुमन लक्नाद्री, सरूसिंह रसाइली, सुवास बस्नेत, शरण सिंह, प्रज्ञान दर्नाल, सरिता थामी, सङ्गीता थापा आदिले गाएका छन्। रेग्मीका कञ्चनजङ्घा स्कुल र गैरीबास उच्चतर विद्यालयको स्कुल गीत पनि बिहान बिहान गाइन्छन्।

कमल रेग्मीका प्रत्येक गीतमा शाब्दिक कोमलता, गेयात्मकता, अर्थगत व्यापकता, शैली सचेतता, सुमधुरता र सरसता जस्ता तत्त्व पाइन्छन्। उनका गीतहरूले विभिन्न राग, भाव, विचार र धारणालाई समेटेको पाइन्छ। उनी गीतलाई शब्दहरूले बुन्दै लगेर एउटा सुन्दर भावको सिर्जना गर्दछन्। उनका अधिकांश गीतमा प्रेमानुभूति पाइन्छ। त्यसमा पनि प्रेमानुराग र प्रेमपीड़ा पाइन्छन्।

कमल रेग्मीका गीतहरूको विषयवस्तुगत अध्ययन –

गीतको भाव, विचार वा घटना नै वस्तु हुन्। यसकै आधारमा गीतको संरचना रहेको हुन्छ। रेग्मीले आफ्ना विषयवस्तुको चयन स्वततन्त्र रूपमा गरेका छन्। आफुले देखेका कुरालाई नै वस्तु बनाएका छन्। उनका गीतमा वस्तुहरूमा देश, जाती, भूगोल, राजनिती, प्रकृति चित्रण, मानवीय स्वभाव, प्रे र यसबाट उब्जेका विभिन्न अनुभूति. जीवन जगतमा दृष्टिगोचर भएका कुराहरू नै उनका गीति व्सतु हुन्। गीतलाई रागात्मक, सौन्दर्यमूलक, संवेदनशील र रमणीय तुल्यउन सुन्दर भाव विन्यासमा दिएका छन्। उनी युगसचेत र शैली सचेत गीतकार हुन्। आफुले देखे-भोगेका, मनमा उब्जेका संवेदनालाई गीतको माध्यमबाट अभिव्यक्ति दिएका छन्। प्रकृतिका विभिन्न तत्वहरूको सुन्दर बिम्बको सिर्जना गरेर मानवीय संवेदना अभिव्यक्ति गर्न सक्षम छन्। यसका साथै मानवता प्रेम, माटोप्रेम, गीतका शब्दहरू एकार्काका पूरक बनी आबद्ध छन्। उनी सौन्दर्यप्रेमी युवा हुन्। प्रकृतिमा सौन्दर्यको अजस्र स्रोत पाउँछन्। जस योञ्जन प्यासीका अनुसार ‘प्रणयदेखि पर्यावरणसम्म, विरहदेखि विद्रोहसम्म, प्रेमदेखि पीड़ासम्म, जातिदेखि शरणार्थीसम्म र अरू रकतिदेखि कतिकतिसम्मका गीतहरूभित्र रेग्मीले यथार्थ कल्पना, भावना, व्यङग्य उत्साह र प्रेरणाका सहज अनि गम्भीर दुवै प्रकारका सृजन दिएका छन्। लयात्मकताले स्वतः गेयात्मकता सृष्ठि हुने यिनका गीतहरू यिनाई गीतकारको रूपमा परिचय दिन सक्षम छन्’। ‘मन र मथिङ्गलको सन्तुलन मिलाएर आफ्ना गीतहरूमा मृदु मार्मिक एवम् मनहारी शब्दहरू सजाउन निपुण गीतशिल्पी कमल रेग्मी..’ (जस योञ्जन प्यासी, भारतीय नेपाली गीतकार पारिचायिक चर्चा, पृष्ठ ८४)।

रेग्मीका गीतमाथि केही समीक्षकहरूले समीक्षात्मक टिप्पणी लेखेका छन्। जस योञ्जन प्यासी, सपन प्रधान, राजकुमार छेत्री, प्रकाश बरदेवा आदिले समीक्षा गरेका छन्। जस योञ्जन प्यासीको अनुसार ‘कमल रेग्मीका गीतहरू विविध लय, मात्रा, विम्ब, प्रतीक, व्यङग्य र आलङ्कारिक विशेषताहरूले गर्दा जति सौन्दर्यसिक्त छन्, उति नै पोख्त भाव र चेतनायुक्त पनि छन्। अतः यिनका गीतहरू सरस, सुन्दर, सबल र आकर्षक छन्, मधुर, मनोरम, मनोहर र मनोत्कर्षक छन्”। (भूमिका, हिउँको आगो) सपन प्रधानले ‘काँड़ाफूल’ गीतसङ्ग्रहको समीक्षा गर्ने क्रममा लेखेका छन्- रेग्मीका गीतहरूमा नेपाली समाजको आत्म बोल्छ, प्रेममा परेका हृदयस्पर्शी तथा अति मार्मिक कारूणिकता र भाव विकलतामा प्रेमको सार्वजनिकता र समुद्भासित हुन्छ भने आत्मगोरव र पुर्ख्यौलीको स्वाभिमानका चिह्न बनेर उनका गीति कविता चहकिला देखिन्छन्। (कृति कीर्ति, पृष्ठ 32)। यसैगरी प्रकाश बरदेवाका अनुसार कमल रेग्मीको गीतसङ्ग्रह ‘हिउँको आगो’ मा हदयस्पर्शी, मर्मस्पर्शी भावगम्भीर, सम्प्रेषणको सहजता, माया-प्रीति र घामछायाँका आवेगमय गीतहरूदेखि वर्तमान प्रचलित धाराअनुसार रोचक एवम् रमाइला गीतहरू समाविष्ट छन्। प्रस्तुत सङ्ग्रहमा समावेश गगरिएका गीतहरूका विषयहरू वर्तमान मानव जीवनमा देखा परेका अन्योलपूर्ण जीवन स्थिति, देशभक्ति र प्रणयमूलक अभिव्यक्ति आफ्नो जाति, संस्कृति औ माटाको माया मानव हृदयका दुखेसो, भत्कोसहरू, व्यङ्ग्यका भावसाथै मनमा उब्जिएका मनोभाव खुबै चाखलाग्दो र प्रभावशाली ढ्ङगमा गीतमा प्रस्टिएका छन् (कृति समीक्ष्य, पृष्ठ ११४)। उनका गीतसम्बन्ध राजकुमार छेत्रीले पनि अध्ययन प्रस्तुत गरेका छन्। काँड़ाफूल गीतसङ्ग्रहका आधारमा छेत्रीको विचारमा ‘रेग्मीका गीतमा कतै प्रेम प्रणयका भावनात्मक गीतहरू सङ्गृहीत छन् भने कतै जातीय चेतनाले अभिप्रेरित भई लेखिएका छन्। उनले आफ्ना गीतिरचनामा प्रेम प्रीतिका विविध पक्षहरूलाई अभिव्यञ्जित गर्ने क्रममा इच्छा-आकांक्षा, उत्साह- उमङ्ग, आशा निराशा, विरह, पीड़ा- व्यथा, हर्ष- अमर्ष, विवशता आदि भाव-संवेगहरूलाई अति नै संवेदनशील ढङ्गले शब्द-शब्दमा प्राण भरेर र सफल प्रस्तुति दिएका छन्। काव्यिक सौन्दर्यचेतनाले भरिपूर्ण रेग्मीका यी गीति रचनाहरू सम्प्रेषणीय र गेयगुणले भरिभराउ र सजिसजाउ पाइन्छन्’ (कृति आलोकन, पृष्ठ 59)।

देशप्रेम-

हामी कुनै एक राष्ट्रका नागरिकमा देशभक्ति हुनु स्वभाविक कुरा हो। आफु बसेको देशको महिमा गाइन्छ। रेग्मीका केही गीतमा हाम्रो देशको महिमा गान गरिएको छ। हाम्रो देशको भौगोलिक विविधता र सुन्दरता, अनेकतामा एकता आदिको भावलाई सम्प्रेषण गरिएको छ।

आउँ हामी सबै मिली एकताको पाठ पढौं

एकताको ज्ञान सिकी देशको लागि अघि बड़ौ (काँड़ाफूल, पृष्ठ 62)

शुभ्र शान्त मयूर नृत्य पवन स्पर्श स्वर्गिक आनन्द

यो हो जपोभूमि भारत जननी परमपूज्य देश अत्यन्त। (हिउँको आगो, पृष्ठ २९)

जातीय चेतना-

कमल रेग्मीका केही गीतमा जातीय चेतना प्रखर रूपमा पाइन्छ। उनका निम्ति हाम्रो गोर्खा गौरव, वीरता, हाम्रा युद्धकला, हाम्रा सरल जीवन प्रिय लाग्छ। हाम्रा जीवनमा पहाडीपना छ, हाम्रा सयपत्री, मखमली, कृष्णचुँडा, लाली गुराँस आदि जस्ता फूल फूल्ने प्राकृतिक परिवेश भएको ठाउँ हो, चियाबारीले ढाकिएको सुन्दर छाउँ पनि हाम्रा परिचयका अङ्ग हुन्।

लाली गुराँस पहाडभरि देशलाई सजाउँ भन्छ

कृष्णचुँड़ा तराइसरि देशलाई बचाउँ भन्छ।

देशको निर्माणमा हाम्रो पनि उत्तिकै योगदान रहेको छ। देशको भौगोलिक सुन्दरमा हाम्रो दार्जिलिङ-सिक्किमको उत्तिकै योगदान छ। देशको सिमाना रक्षा, राष्ट्रिय निष्ठा र स्वाभिमानको रक्षा, देखको गौरव बढाउने भावना सबैमा हामी अघि छौं तर पनि देशले हामालाई चिन्दैन, बुझ्दैन। हामीमा देशभक्तिको कुनै कमी छैन तर देशले भने घरिघरि विदेशीको लाञ्छना लाउने गर्दछ। हामी पनि अरूसरह नागरिक हौं, हाम्रो अधिकार पनि बराबर हुनुपर्छ भन्ने कुरालाई रेग्मीले गीतमा अभिव्यक्त गरेका छन्।

पूर्व गए पूर्वै हजुर विदेशीको दाग लाग्छ

उत्तर दक्षिण जता गए पाहुनाको भाग लाग्छ

यो जातिको भाग्य कस्तो आफ्नो भन्ने कहीँ छैन

आसाम बर्मा भूटानबाट खेदुवाको ताँत लाग्छ  (काँडाफूल)

जातीय उत्थानका लागि क्रान्तिको आह्वान पनि गरेका छन्-

बाटो छोडिदेउ ए बुढा खुट्टा टुङ्गो लाउँदैनौ यो यात्रा भने

हामी हातमा राँको बोकेर निस्केका छौं

हामी आँखामा आगो बोकेर निस्केर निस्केका छौं।

जातीय सङ्घर्षमा पुनः उठ्नुपरेको छ, फेरि होमिन परेको छ भन्ने भावना व्यक्त गरिएको छ। हाम्रो आफ्नो घर बनाउने सबैमा उत्कट इच्छ तर अयोग्य नेतृत्व, इच्छा शक्तिको अभाव, पलायनता, सम्झौता, धनको लालच आदि कुराले हाम्रो इच्छामा कुठाराघात परेको छ। यसको कारण पनि गीतमा यसरी अभिव्यक्त गरेका छन्-

घरि घरि हामीलाई हार्ने बानी बस्यो

आन्दोलनलाई सम्झौतामा सार्ने बानी बस्यो।

किन गर्छौ जनहित विरूद्द सन्धिपत्र सही

संग्रामलाई बिसाउनी भन्दै टार्ने बानी बस्यो। (घामपानी 27)

जितिसकेको युद्ध पनि हार्‌यौं हामीले

आफ्नै घरको आँगन पनि पर सार्‌यौं हामीले (काँड़ाफूल, पृष्ठ 52)

शिर त बेच्यौ बेच्यौ टोपी चैं नबेच

छाती त बेच्यौ बेच्यौ इमान चैं नबेच। (घामपानी 28)।

मन्दिरमा खाको कसम अब पिर्ने भो

झुटो ढाँटको साम्राज्य पनि अब गिर्ने भो। (घामपानी 33)

नसम्झ नेपालीले माटोले माया भुलेछ

भौंतारिएर कता कता यो जाति डुलेछ

संग्रामको लागि हामी त यहाँ तारतम्य गर्दैछौं

जातीय हितको लागि अब अघाडि बड़दैछौं। (काँड़ाफूल, पृष्ठ ६१)

जीवन दर्शन-

जीवन भोग्दाका अनुभव र अनुभूतिलाई गीतकारले विभिन्न कोण प्रतिकोणबाट हेरिएको छ। गीतकारले नो जीवनमा देखेका भोगेका, सुनेका, बुझेका र अनुभवबाट जीवन र जगत्‌प्रति उब्जेका धारणालाई गीतमा अभिव्यक्त गरेका छन्-

जिन्दगी दोबाटो हो कोही भेटिन्छन्, कोही छुटिन्छन्।

भेटिएका छुटिन्छन्, छुटिएका भेटिन्छन्। (हिउँको आगो, पृष्ठ 38)

म पथिक अनि यात्राको पुग्नु भेड्नु कहाँ हो

भए कुन अज्ञात दिशाबाट जानु पनि कहाँ हो।

मानेको पातमा शीतको थोपा यो जीवन एउटा मिठो धोका

सुस्त पवनमा हल्ली हल्ली, आहा जीवनफूल ओइली झर्छ।

राम्रो बाटो हिँड्दा पनि कोही बेला वेश लाग्छ।

ओंठको मुस्कान खोज्ने भनिदा मनको पीर बुझुने चाहिन्छ।

धर्म चाहे जे सुकै होस्, मर्म बुझ्ने मान्छे चाहिन्छ। (काँड़ाफूल, पृष्ठ ४०)

मानवता प्रेम

रेग्मीका केही गीत मानवता प्रेमको भावनामा आबद्ध छन्। मान्छेमा मूलभूत रूपमा हुनुपर्ने मानवता प्रेम, माया- ममता, करूणा, दया, सहानुभूति, समान भावना जस्ता कुरा हुन्छन्। यद्यपि यी मूलभूत गुण पनि हराउने थालेकामा लेखक क्षोभ व्यक्त गर्छन्। मान्छे मान्छेमा असमानता, प्रतिष्पर्धा, अरूलाई उछिनेर आफु ठुलो हुने प्रवृत्तिलाई खण्डन गर्छन्-

मलाई देउता हुनु छैन लाखमा एउटा हुनु छैन,

मान्छे हुँ म मान्छे नै सही भीड़मा अलग हुनुछैन। (पृषठ 29, हिउँको आगो)

तिमी भोको छौ भोजन छैन मरो भोजन छ भोक छैन।

आउ साटौं भोक र भोजन भन्ने यहाँ मुटु छैन। (घामपानी, पृष्ठ 5)

प्रेमानुराग

गीत भन्नु नै मनका कोमल भावनाका सहज उद्गार हुन। प्रेमले मानिसको जीवनलाई सबैभन्दा बढी प्रभावित पारेको हुन्छ। प्रेम नहुनु हो त मानिसको जीव शुष्क हुन्छ। प्रेम सफल भए जीवन सफल लाग्छ विफल भए असफल लाग्छ। यसमा प्रेमका विभिन्न राग भाव अनुभूतिहरूलाई उतारिएको पाइन्छ। कतै प्रेम परेपछिको सुखानुभूति पाइन्छ। रेग्मीका अधिकांश गीतगहरू नै प्रेमानुरागमा आवद्ध छन्। प्रेमका विभिन्न स्वरूप र भावना व्यक्त गरिएको छन्। प्रेमको अनुरागमा धरती पनि उज्यालो लाग्छ, अँध्यारो पनि उज्यालो  लाग्छ-

थाह छैन पाप हो कि पुण्य गरें मैले

मन्दिरभित्र तिम्रो तिम्रो लागि मन्दिर बनाइसकें।

जीवनको मूल आधार नै प्रेम हो। नरनारीको एकार्काको आकर्षण आसक्ति चाहना सबैको समग्रता प्रेम हो। प्रेमका विभिन्न रूपको वर्णन, प्रेम पाउनका निम्ति प्रेयसीलाई रिझाउने विभिन्न उपाय लगाइएको भाव पाइन्छ। प्रेम पाउनका निम्ति प्रेमी लालयित भएको भाव कतै प्रेममा प्रेयसीको रूप वर्णन, प्रेम अनुभूतिका भाव, प्रेमका महिमा आदि अभिव्यक्ति गरिएको पाइन्छ।

प्रेमपीड़ा

कमल रेग्मीका धेरैजसो गीतहरूमा प्रेमपीड़ा पाइन्छन्। प्रेम असफल हुँदा, प्रेयसी मनबाट टाड़ा हुँदा, विभिन्न परिस्थितले विछोड़ भएपछिका मनका पीड़ालाई केही गीतमा उतारेका छन्। प्रेममा धोका पाएको, दुईमा एउटाले अर्कोलाई छाडेको आदिलाई गीतमा उतारिन्छन्।

तिमीलाई सम्झन भुलेको छैन अचेल गुलाफ फुलेको छैन

यादमा तिम्रै दुखिरहन्छ यो मन अन्त डुलेको छैन। ()

नगर्नु है पत्यार अब छल भो

विश्वास गरी ज्यान दिँदा आज यो फल भो ()

निष्ठुरीको माया आज मेरो जाल भो

त्यही जालले हजर मेरो बड़ो हाल भो। (काँड़ाफूल 31)

यस्तै पर्‌यो यो जुनीलाई एकलै जिउनु पर्‌यो

निर्मोहीको यादमा सधैं आँसु पिउनु पर्‌यो।

आत्मविलयन र आत्मपीड़ा-

रेग्मीले गीतमा कतै आफुलाई आत्मविलयन र आत्मपीड़ाको प्रयुक्तिले अभिव्यक्त गरेका छन्। संबोधक कहिले आफैं बिलाएर सबैको सामुबाट ओझेल हुन खोज्दछन्। संसारका सन्तापदेखि पलायन हुन चाहन्छ, प्रेमबाट धोका पाएर दुःखित, पीडित भएर बस्नुपरेको अवस्थालाई विभिन्न उपकरणका माध्यमबाट पोखेका छन्। कहिले आफै लुकेर टाडिने मन लाग्छ-

एउटा मान्छे मभित्र साह्रै लुक्न खोज्छ

रमाउनलाई बोलाउँछु चाँड़ै भाग्छ अचेल।

मन दुख्ने कुरा छ घोच्ने कुरा छ।

कुन कुरा सुनाउँ प्रिये मन रूने कुरा छ। (हिउँको आगो- पृष्ठ ३०)

नैतिक चेतना-

रेग्मीका गीतमा मानवीय नैतिक चेतना पनि पाइन्छन्। मानिस सुखी भएर बाँच्न निम्ति नैतिकता, इमानदार, अनुशासन, कर्तव्यनिष्ठता, मानवता प्रेम, परोपकार भावना आदि हुनपर्छ जसले गर्दा अरूका दृष्टिमा विश्वास र मैत्रीभाव उत्पन्न गर्न सकियोस्। नैतिकता मानिसमा नभई नहुने गुण हो।

स्थानीय रङ्ग चित्रण-

रेग्मीका गीतमा स्थानीय रङ्गको पनि चित्रण पाइन्छ। आफ्नै वरिपरिको परिवेश, भौगोलिक सुन्दरताको वर्णन गरिएको पाइन्छ। जस्तै-

हिम शिखरको शिर छ मेरो जलनिधिको पाउ

सुन्दर स्वच्छ रमणीय दार्जिलिङ हो नाउँ।

………………………………

मलाई आफू जन्मिएको ठाउँ प्यारो लाग्छ

उसरी नै हुर्किएको गाउँ लाग्छ

त्यसैले होला दार्जिलिङ साह्रै साहै प्यारो लाग्छ। ()

जहाँ बज्छ मादल धिन्ताङ जहाँ बिनायो

त्यही मेरो गाउँ साथी प्राण जस्तै प्यारो। (हिउँको आगो  पृष्ठ ७२)

यसमा हिमशिखर, जलनिधिको पाउ. सुन्दर, रमणीय भन्ने बिम्बद्वारा प्राकृतिक सौन्दर्यको वर्णन पाइन्छ।

समसामयिक सामाजिक अवस्थाको चित्रण-

कमल रेग्मीले आफ्नो गीतमा हाम्रा स्थानीय सामाजिक, राजनैतिक, आर्थिक समानिसिक समस्याहरूलाई पनि देखाएका छन्। हाम्रा वरिपरिका चियाबारीमा भोग्नुपरेको आर्थिक समस्या, हामीले पाउनुपर्ने अधिकारका निम्ति लड्नुपरेको कथा व्यथालाई गीतमा संकेत गरेका छन्। एकातिर चियाबासी बन्द हुने स्थितिमा छ, अर्कातिर चियाकमानमा मजदुरहरूलाई आर्थिक शोषण पनि भइरहेको छ।

चियाको बोटमा शोषणको फसल उठाउँदै हिँड्दैछु

पातहरूसतै दमनको गला निमोठ्दै चुँड़्दैछु। (घामपानी पृष्ठ 38)

उनका गीतमा समसामयिक सामाजिक राजनैतिक आर्थिक, स्थितिको पनि चित्रण वर्णन पाइन्छ। अझ विशेष गरी भारतमा हाम्रो गोरखाली जातिको राजनैतिक अवस्था सठिक छैन। देशको संविधानले दिएको हाम्रो आत्माधिकारसमेत पाएका छैन। हामी सय वर्षभन्दा अधिक आफ्नो घर बनाउने प्रयासमा छौ। हाम्रो घर बनाउने कुराको हाम्रो मनोभावलाई लिएर धेरै चलखेल भएका छन्। यही कुरालाई लिएर सामान्य मान्छे नेता भएका छन्, आन्दोलनलाई दुहुना गाई पनि बनाएका छन्। लक्ष्यको बाटामा हिँड्दै गर्दा नेतृत्वले ससाना प्रलोभनमा सम्झौता गरी ससाना व्यवस्थामा नै अलमलिएको अवस्था छ। त्यसलाई रेग्मीले यसरी अभिव्यक्त गरेका छन्-

घरिघरि हामीलाई हार्ने बानी बस्यो,

आन्दोलनलाई सम्झौतामा सार्ने बानी बस्यो। (घामपानी पृष्ठ २७)

शिर त बेच्यौ बेच्यौ टोपी चैं नबेच

छाती त बेच्यौ बेच्यो इमान चैं नबेच। (घामपानी पृष्ठ २८)

माटो खोज्नेले बाटो बिर्स्यो नदिनेको के दोष

शोकगीतमा नि नाच्न थाल्यौं गीत सङ्गीतको के दोष (घामपानी, पृष्ठ २९)

देशमा चलेको भ्रष्टाचार अकर्ण्यता आदि देखेर उनी कुण्ठित छन्। नेताको भाषण र कामको तालमेल मिलेकै छैन। नेताको आन्दोलन गर्दाका भूल रणनीतिले पहाड़ समस्याको सम्मुखिन हुनुपर्यो। लामा लामा हड़तालले पहाड़को आन्दोलनलाई बिथोलिदियो।

वन्द गर्ने मन्द बुद्धि कसले दियो दियो

गरीबलाई भोकै मार्ने युक्ति कसले दियो। (घामपानी, पृष्ठ 47)

कुरा जस्तै तिमीले काम गरे हुन्थ्यो

काम गरिदिनेको नाम जाने हुन्थ्यो।

स्वच्छन्दतावाद-

मनमा उब्जेका कुरा व्यक्त गर्नु, कल्पना गर्नु, प्रकृतिका विभिन्न रूपको वर्णन गर्नु, आत्मभिव्यजना सौन्दर्य चेतना आदि स्वच्छन्दतावाद हुन्। यस प्रवृत्तिमा आज पनि कविता गीत आदि लेखिन्छन्। रेग्मीका गीतमा स्वच्छन्दतावादको केही झलक पाइन्छन्। मनमा उब्जेका स्वतःस्फूर्त मनोरागलाई शब्दमा व्यक्त गरेका छन्। उनका गीतमा कल्पनाशीलता, अतीतावलोकन वा भविष्योन्मुख आशावाद, आत्मभिव्यञ्जना सौन्दर्यका विभिन्न छटाको वर्णन पनि पाइन्छ। जस्तै –

गाउँ गाउँ लाग्यो मलाई हाँसु हाँसु लाग्यो

पुतली भई फूल फूलमा नाचूँ नाचूँ लाग्यो। (हिउँको आगो, पृष्ठ 16)

जून देखें कि तारा देखें फूल देखें कि हार देखें

शायद यो त भ्रम हो आज उनको मुहार देखें। ()

तिम्रो लागि फूलबाट बास्ना चोरी ल्याएको छु

सुटुक्क गई इन्द्रेणीको रङ्ग चोरी ल्याएको छु। (हिउँको आगो, पृष्ठ ६८)

सूक्तिमयता-

रेग्मीका कतिपय गीतमा सूक्तिमय अभिव्यक्ति पनि पाइन्छ। आफुले अनुभूत गरेका वा आफुले भोगेका कुरालाई मिठा सूक्तिहरूमा अभिव्यक्ति गरेका छन्। आफ्नो जीवन अनुभवका निचोड़लाई पाठकसामु व्यक्त गरेका छन्। केही उद्गार अंश हेरौं-

गहभरि बह झार्छौ भिजाइदिन्छौ सारालाई

आफ्नै विचार अँध्यारो छ कोसिरहन्छौ तारालाई।

नहिँडी पुगिने कुनै ठाउँ छैन

हिँडेपछि नपुगिने कुनै गाउँ छैन। (घामपानी 36)

एउटा अधूरो कथा हो जिन्दगी

एउटा मधुरो ज्योति हो जिन्दगी।

हिँड्दै हिँड्दै बीच बाटोमै छुटिनुपर्छ

एउटा अपूरो यात्रा हे जिन्दगी। (हिउँको आगो, पृष्ठ 39)

 

कमल रेग्मीका गीतहरूको संरचनागत अध्ययन

उनका गीतहरूका संरचना, बनोट, बुनोट, शब्द संयोजन, वस्तुगठन आदि सबै पक्षमा सचेतपूर्ण प्रयोग भएको पाइन्छ। कमल रेग्मीका गीतहरू पनि सामान्य गीतमा पाइने चार चार पंक्तिहरूको संरचना पाइन्छ यद्यपि दुई पेक्तिलाई एकै पंक्तिमा जोड्दा भने भावले पुष्टता पाउँदछ। उनका प्रायः जसो गीतमा यही संरचना पाइन्छ। गीतका स्थायी र अन्तराहरूका बिच विषयगत संयोजन गरिएको हुन्छ। स्थायीले उठाएको प्रस्तावनालाई अन्तराले पुष्टि गर्दै लगेको पाइन्छ। प्रायः प्रत्येक गीतको आयाम दुई पंक्ति अन्तरा र चार चार पंक्तिका दुई अन्तरा पाइन्छन्। गीतमा स्थायी र अन्तराको भावगत तालमेल हुनुपर्छ। रेग्मीका गीत छोटा छोटा पंक्तिमा आबद्ध छन्, यद्यपि तिनलाई दुई दुई पंक्तिलाई जोडेर एकेक पंक्ति बनाउँदा भने पूर्णता आउँछ। गीतमा यति, अनुक्रम, पंक्ति योजना, शब्द योजनामा सचेतता पाइन्छ। शब्द शब्दको संयोजनबाट गीतमा गेयता, माधुर्य आएको पाइन्छ। एक लहरमा कतै चार चार मात्रा, कतै पाँच पाँच मात्रा पाइन्छ। गीतका स्थायी अधिकांश चार चार पंक्तिको पाइन्छ भने कतै तीन, कतै पाँच, आठ पंक्तिको पाइनाले गीतमा सुर वैभिन्य पाइन्छ।

गीतको ढाँचा वा प्रारूप- यी तीनवटा गीतसङ्ग्रहहरूका संग्रहीत अधिकांश गीतहरूको कथन ढाँचा वृत्तात्मक पाइन्छ। यस्तोमा छाँचामा गीतमा भाव वा विचारको विस्तार केन्द्रीय विन्दुको पुनरावृत्तिद्वारा गरिन्छ। (मोहनराज शर्मा, समकालीन समालोचना सिद्धान्त र प्रयोग, पृष्ठ 184)।

रेग्मीका गीतका केही विशेषता- गीतका केही विशेषता हुन्छन्। मोहनराज शर्माका अनुसार गीतका आठवटा विशेषता हुन्छन्- सरलता, आत्मनिष्ठता, असीमता, एकलता, अभिव्यक्तिमय निश्छलता, वैयक्तिकता, सम्बोधन र गेयता। यी सबै विशेषताहरू रेग्मीका गीतमा पनि पाइन्छन्।

क.सरलता– भाव र शैलीमा सरल रहेका छन्। यद्यपि सरल भएर पनि गहिरो प्रभाव पार्न सक्ने खालका गीत रहेका छन्। सरलताभित्र नै भावको गहिराई पाइन्छ।

ख.आत्मनिष्ठता– यसै गरी रेग्मीका गीतमा आत्मनिष्ठता पाइन्छ। यसमा गीतकारका आफुभित्र रहेका भाव, विचार वा अनुभूतिलाई मथेर गीतको कथ्यवस्तु बनाएका छन्। उनले संवेदनशील र आत्मनिष्ठ अभिव्यक्ति दिएका छन्।

. असीमता– उनका गीतमा विषयवस्तु असीम छ। गीतमा घाम जून, आकाश, मन, पानी बिजुलीदेखि लिएर सूक्ष्म र संवेदनशील वस्तुहरूसम्मलाई गीतमा विषयवस्तु बनाइएको छ। अर्थात् मूर्त, अमूर्त, सूक्ष्मदेखि स्थूलसम्म सबै विषयलाई समावेश गरेका छन्।

. एकलता– गीतमा भाव वा विचारको एकलता हुनुपर्छ। यसले एउटा गीतमा भावगत एकोन्मुखता तुल्याएको हुन्छ। रेग्मीका गीतमा  विषयगत उपकरण धेरै भए तापनि लक्ष्य भने एउटै हुन्छ। जस्तो प्रेममा धोका भेको कुरा विभिन्न युक्ति, सादृश्य र

ङ. अभिव्यक्तिमय निश्छलता– रेग्मीका गीत गुणात्मक र निश्छल अनुभूतिको साकार रूप हुन्। सरल र इमानदार र निश्छल भावाभिव्यक्तिलाई अघि सारिएको छ। मनमा उब्जेका भावलाई गुणात्मक र निश्छलसँग उतारिएको छ।

च. वैयक्तिकता र आख्यानहीनता– रेग्मीका गीतमा वैयक्तिकता र आख्यानहीनता पाइन्छन्। यद्यपि वैयक्तिक भएर पनि सामूहिकता, एकल भाव भए पनि बहुल भावको प्रदर्शन पाइन्छ। गीतमा प्रयुक्त म भए तापनि वास्तवमा हामीको बोध हुन्छ। त्यो गीतकारको वैयक्तिक भाव नभएर प्रेमीको, जनताकोको, याचकको, पीडितको प्रतिनिधिमूलक संबोधन गरिएको पाइन्छ।

छ. सम्बोधन– यहाँ अधिकांश गीतहरू सम्बोधन परिपाटीका छन्। धेरै गीतमा संबोधक म ले संवोधित तिमीलाई सम्बोधन गरेको छ। संबोधक र संबोधितमा कहिले प्रेमी-प्रेमिका, कहिले पीडित र पीडक, कहिले जनता र नेता, कहिले याचक र याचिक जस्ता भावसम्बन्ध पाइन्छन्।

ज. गेयता– गीतमा गेयता हुनु नै पर्दछ। रेग्मीले पनि आफ्ना गीतमा स्वरका आरोह अवरोह, ध्वनि, शब्द र भावका लयको प्रधानता दिएका छन्।

कमल रेग्मीका गीतहरूको सौन्दर्यपरक अध्ययन

कमल रेग्मीका गीतहरूमा सौन्दर्य पक्ष सबल रूपमा पाइन्छ। आफुले अनुभूत गरेका भाव सौन्दर्यलाई गीतका माध्यमबाट अभिव्यक्त गरेका छन्। आफ्नो वरिपरिका हरियाली, प्राकृतिक सौन्दर्य, प्रेमानुराग आदिबाट गीतमा सौन्दर्य बोध गरेका हुन्। वर्ण प्रयोगमा सचेतता, शब्द चयन, शब्दशय्या, शब्दार्थमा गीतकार रेग्मी सचेत देखिन्छ। शब्दको अर्थद्योतन गर्ने शक्ति, अर्थबहुलता आदि जस्ता कुरामा रेग्मीले सचेतता देखाएका छन्। गीतमा हुनुपर्ने कथ्य, संवेदन र बिम्बनिर्माण जस्ता तत्त्वहरूलाई उनले अघि बढाएका छन्। यीबाहेक उनका गीतमा स्मरणयोग्य गेयात्मकता, आकर्षक शीर्षक, पाठको अनिश्चितता, आफैं गुनगुनाउँदै गीत रचना आदि कुरा पनि पाइन्छन्। कतै शब्दको आवृत्ति पनि पाइन्छ-

म आँखा आँखामा नाच्छु म भाका भाकामा नाच्छु

भुल्न नखोज मलाई कोही सबको मन काखमा बाँच्छु।

 

कमल रेग्मीका गीतहरूको भाषा शैलीगत अध्ययन

गीतमा भावलाई सजाएर राख्न सुव्यवस्थित विन्यास गरिएको हुनुपर्छ। गीतको भाषा शैली शब्दचयनम  सजगता, प्रयुक्ति विविधता अग्रमूमिकरण (विचलन, समानन्तरता, विरोधाभास) आदिको समुचित निर्वाह गरेको हुनुपर्छ। गीतकार रेग्मीले पनि समतुल्य, विरोधाभास आदि प्रयुक्ति व्यवहार गरेका छन्।

भाषा प्रयोग

गीतको भाषा कोमल सहज, विशिष्ट लयात्मक गुणले ओतप्रोत सरस, र सरल हुनपर्छ। विशिष्ट शब्द, शब्दावलीयुक्त पंक्ति तथा पंक्तिपुञ्जमा कलात्मक प्रस्तुति रहेको पाइन्छ। रेग्मीका गीतको भाषा सरस, सरल, कोमल पदावलीयुक्त रहेको पाइन्छ।

विरोधाभास

म घाम बनी भेट्न आएँ तिमी जून बनी डुबिदियौ

फेरि पूर्णिमा बनी छुन आएँ तिमी औंसी बनी हराइदियौ।

मिलनको सौगात बोकी ल्याएँ प्रितीको धागो चुँड़ाइदियौ

साँचेथें माया दिन तिमीलाई निष्ठुरी बनी लत्याइदियौ।

म दिन बनी लिन आएँ तिमी रात बनी लुकिदियौ

म बिहानी भई पर्खिबसें तिमी साँझ बनी बनी अस्ताइदियौ।

….

घामको कथा लेखू भन्छु परहाल्यो रात

विश्वास लिन् भन्थें तिम्रो गरिहाल्यौ घात।

यसमा घाम- जून, पूर्णिमा- औंसी, मिलन बिछोड़, माया साँच्नु- निष्ठुरी बनी लत्याइएको, दिन – रात, बिहानी साँझ जस्ता परस्परविरोधी शब्द र शब्दावलीको प्रयोग भएको पाइन्छ। यसै गरी-

मुटुभित्र तीर रोपी हाँस भन्छौ तिमी

काँड़ामाथि पाइला राखी बाँच भन्छौ तिमी

पीड़ाको नी सीमा हुन्छ हदै नाघ्य तिमी

आगोमाथि रमाउँदै नाच भन्छौ तिमी

कसले घोट्छ चाहेर नी गला दुनियाँ

सिङ्गै मुटु निकालेर नाच भन्छौ तिमी।

समानान्तरता– कुनै गीतमा समान वस्तुहरूको समान रूपमा वर्णन गरिन्छ।

विछोड भनेको कस्तो हुन्छ नदीका दुई किनारलाई सोध

त्यस्तै एक्लो जीवन पनि औंसीको कालो रातलाई सोध (Confluence पृष्ठ, ३१)

यसमा विछोडको अवस्था र नदीका दुई किनारको अवस्था तथा एक्लो हुनु र औंसीको काले रातमा समानान्तर अर्थमा प्रतीति गराइको छ।

आज किन क्षितिजलाई कालो बादल आई छेल्यो

मनभित्र कहीँ कतै बेरमाइलो कुरा खेल्यो। (क्नफ्लुन्स ४३)

यहाँ क्षितिजमा कालो बादल आएर अँध्यारो परिवेश बनाइदियो जुन मनमा पनि कुनै विषाद आएर नै दुःखित बनायो। यसमा काले बादल र विषादको एकै समानधर्मीको अर्थबोध गराइको छ।

बिम्ब– गीतमा पाठकको मानसिक शाब्दिक चित्र उतार्न गीतकार रेग्मी निपुण देखिन्छन्।

सिङ्गै रात निले जस्तै अँध्यारो प्रस्तुत भयौ

आफ्नो रूपलाई शास्ती दिँदै बेरूप साबित भयौ।

यहाँ प्रेयसीको दुःखले अनुहार कालो पारेको अवस्थालाई सिङ्गै रात निलेको विम्ब उतारिएको छ।

प्रतीक– कमल रेग्मीका गीतमा अमूर्तलाई मूर्तता दिन केही प्रतीकको पनि प्रयोग गरेका छन्।

लय– गीत भन्नु नै लयको संयोजन हो। गीतलाई कवितासित छुट्याउने मूल तत्त्व नै लय हो। यसमा रहेका प्रायः सबै गीतमा वर्ण, शब्द, मात्रा, वर्ण सङ्ख्या, आन्तरिक लय, छन्दयुक्तता वा आक्षरिक छन्द, समानुपातिक शब्दप्रयोग आदिले गीतको लय सर्जना गरिएको पाइन्छ।

अलङ्कार– रेग्मीका गीतमा कतै शब्दालङ्कार र कतै अर्थालङ्कार जडित पाइन्छन्। अनुप्रास, उपमा, दीपक आदि अल्ङाकरहरूको प्रयोग पाइन्छ। अझ उपमा अलङ्कार सबैभन्दा कलात्मक रूपमा प्रस्तुत गरिएको छ। वर्ण, शब्द र वाक्यका स्तरमा पनि सचेतता अपनाइएको छ।

गजलको ढाँचा– रेग्मीका तीनवटै गीतसङ्ग्रहमा केही गजल पनि रहेका छन्। गीत र गजल दुवै गेयात्मक र छोटा संरचनाका प्रगीतात्मक ढाँचाका हुन्। यी दुवै गाइन्छन्। रेग्मीका गीतमा गजल पनि समावेश पाइन्छन् भने उनको गजल सङ्ग्रहहरू ऋतुगीतकमलकोठीमा पनि गीतात्मक प्रस्तुति पाइन्छन्। तीनवटा गीतसङ्ग्रह भए तापनि गीतकै नजिकमा रहेको विधा केही गजललाई पनि स्थान दिएका छन्। यहाँ दुईसय पच्यासीवटा गीतमध्ये जम्मा चौध-पन्ध्रवटा जति गजल पनि समावेश छन्।

कमल रेग्मीको गीत लेखनको मूल्याङ्कन र उपसंहार –

कमल रेग्मी एक सफल र कुशल गीतकार हुन्। उनका हालसम्म तीनवटा गीतसङ्ग्रह प्रकाशित भएका छन्। यीनवटामा जम्मा दुई सय पच्यासीवटा गीतहरूमा विभिन्न भावका गीतहरू संरचित छन्। उनका गीतमा देशप्रेम, जातीय चेतना, विद्रोह चेतना, स्थानीय रङ्ग चित्रण, स्वच्छन्दतावाद, स्थानीय समस्या कथन, नैतिक चेतना, जीवन दर्शन, प्रेम पीडा, प्रेमानुराग, सूक्तिमयता आदि जस्ता विषयवस्तु पाइन्छन्। गीतका पारखीका निम्ति उनका गीत सफल छन्। सम्प्रेषणीयता आधारमा पनि उनका गीत सफल छन्।

सहयोग लिएका सन्दर्भ ग्रन्थहरू-

१, मोहनराज शर्मा, समकालीन साहित्य सिद्धान्त र प्रयोग, काठमाडौं, नेराप्रप्र, २०५५.

२, डा. खगेन्द्रप्रसाद लुइँटेल, नेपाली गीत-गजल (भाग १), काठमाड़ौ, साढा प्रकाशन, २०६७।

३, डा देवी नेपाल, लेखन शिल्प, काठमाडौं, ऐरावती प्रकाश,  २०७८ ।

४, डा जस योञ्जन प्यासी, भारतीय नेपाली गीतकार पारिचायिक चर्चा, खरसाङ, लाशा प्रकाशन, ई. २०१४

५, जे के बराइली, बिर्सनै नसकिने हाम्रा गीत सङ्गीतका पदचापहरू, लेखक स्वयम्, ई, २०२२ ।

६, राजकुमार छेत्री, कृति आलोकन, दार्जिलिङ, मनमाया प्रकाशन, २०१३।

७, सपन प्रधान, कृति-कीर्ति, दार्जिलिङ, श्याम प्रकाशन, २०११।

८, प्रकाश बरदेवा, कृति समीक्ष्य, सिलगड़ी, नई इन्डिया पब्लिकेसन्स, २०१६।

९, नवीन पौड्याल, नेपाली गीतको सेरोफेरो, असम, इन्द्रेणी प्रकाशन, २०२३ ।

१०, www.wikipedia.com