वी.पी.शाही
उनलाई सधैं देख्थें म
हँसिलो मुहार देख्दा उर्जा पाउँथें
दिनभरिको थकाइले गलेको तनै हलुङ्गो हुन्थ्यो
हामी खुशी थियौं
सानो र सुखी परिवारझैं
विस्तारै उनमा अन्तर देखें
दिग्दार मुहार देखें –
“समाजमा असल मान्छे बनेर
के नै पाईंदो रहेछ र !
उही दुई छाक, घर बहाल –
म त आजित भएँ” उनको गुनासो ।
मेरै दर्जाका साथीलाई सम्झेँ
ऊ मभन्दा धेरै सम्पन्न छ
आलिशान बंगला, मोटरगाडी छ
धेरै कुरा बुझ्न कोशिस गरें बुझ्न सकिँन
उनलाई सम्झाउँन कोशिस गरें
केही बुझेजस्तो केही नबुझेजस्तो गरिन् ।
केही हप्तापछि समाचारमा आयो –
“अकुत सम्पत्ति आर्जन गरेकोमा पक्डाउ”
समाचार पढेपछि उनले घोषणा गरिन् –
“ठूलो मान्छे बन्नु छैन – असलै मान्छे बन्नु राम्रो”
यसपछि उनको हाँसो फर्कियो
ममा धेरै उर्जा थपियो
म सही छु भन्ने कुरामा उनले सहीछाप गरिन् ।
कवि परिचयः कवि बालप्रसाद शाहीको साहित्यिक नाम हो बी पी शाही । मित्रपार्क चाबहिलमा जन्मेका उनका ‘यात्रा धेरै लामो छ’, ‘मन खोजिरहेछ’तथा ‘फूल त फुल्छ नै’ तीन कविता सङ्ग्रहहरु प्रकाशित छन् ।
सटीक 👌