“वगावतनामा” विमर्श

समाचार

१८ माघ २०८२, काठमाडौं

छलफल, कुराकानी गर्ने हेतुले थालिएको ‘अन्तर–विधा’ मार्फत् रिमा केसीको नवीनतम कविता संग्रह वगावतनामा माथि काठमान्डौमा संक्षिप्त अन्तक्रिया गरियो । प्रेम  र विद्रोहका दुई बृहत् पाटाभित्र गुजुल्टिएर बसेका अनेक विषयहरु छन् यसमा । यहाँ पोतिएको छ चिया मजदुर जस्ता अगोचर दुःखीजनका उहापोह । हार्दिक प्रेमको अपरिमित आह्वान । विद्रोहको दुन्दुभि । सामाजिक विभेदका अनेक कुव्यवस्थाविरुद्दका ललकार । अन्य नरमकरम भावको प्रकटीकरण । अध्ययन, अवलोकन, अनुभूति र अनुशीलनका तहगत माध्यमबाट खारिएर अन्तस्करणबाट कविता जन्माएकी छन् उनले । यस अर्थमा  हाम्रा समाजका अनेक परिघटनाका साक्षी कविताझैं लाग्छन् । साथै विद्यमान निकृष्टताविरुद्दको सम्झौताहीन प्रहार पनि हो यो संग्रह ।

संग्रहवारे अभियन्ता तथा लेखक राधा पौडेलले भनिन्ः हामीलाई कहिले हिंसात्मक वलात्कार गर्छन्, कहिले भावननात्मक वलात्कार गर्छन् । राजनैतिक घोषणापत्र समेत महिलाका विषयमा मौन रहेको यो वेला यी कविताले छुटेका यस्तै विषयहरुलाई समेटेको छ । यी कविताहरुले छद्म चरित्रका मान्छे र प्रर्वत्तिको प्रतिवाद गरेका छन् । कविताले समाजमा रहेका विभेद, क्रूरताको विरोध मात्र गर्दैनन्, विभेदरहित समाजको लागि अपील पनि गर्छन् ।

त्रिविमा प्राध्यापनरत डा हेम भण्डारीको हेराइमा यी कविताहरुले परम्परागत लेखन मान्यतालाई भत्काएर प्रतिरोधलाई कविताको नयाँ शैली र सौन्दर्यका रुपमा स्थापित गरेका छन् । परम्परागत व्याकरण नै भत्काइदिएका छन् यी कविताले । दोहोरो चरित्रमा बाँचेका, विषाक्त पितृसत्ता तथा सामाजिक विभेदका वाहकलाई कविताबाटै चुनौति दिएकी छन् कवि रिमाले । उनको अभिव्यक्ति साधारण छ तर व्यंग र कटाक्ष मिश्रित यी कविता वडो असरदार छन् । वगावतनामा शीर्षकको सार्थकता राम्ररी झल्कन्छ ।

संग्रहका कवितावारे आफ्नो धारणा राख्दै कवि लक्ष्मी रुम्वाले थपिन्, यी कविताले तल्लो तहमा रहेका तथा वर्गीय उत्पीडनको पीधमा रहेकाहरुप्रति देखाएको समभाव कम अत्यन्तै गाढा छ । वारम्वार पढ्दा पनि कम हुँदैन । सामाजिक घटनाको सूक्ष्म अवलोकनमा आफ्नै अनुभूति मिसाएर लेख्छिन् कवि रिमा । आक्रोश त पोखिएका छन् यहाँ तर अतिरन्जित लाग्दैन । लोभलाग्दो लाग्छ उनको साधारण शब्द चयन तर सशक्त अभिव्यक्ति ।

कार्यक्रममा सहजीकरण गर्दै गणेश खनियाले वक्ता त्रयसँग संक्षिप्त प्रश्नहरु राखेका थिए । वीचवीचमा दर्शक दीर्घाबाट कवि रिमा तथा तीन वक्ताहरुलाई प्रश्न पनि सोधिएका थिए । अन्तक्र्रियात्मक यस कार्यक्रमको अन्त्यमा कवि रिमाले आफ्नो पहिलो कृति यात्रामा अक्षर बाट एउटा कविता समेत वाचन गरेकी थिइन् ।

000