बालकृष्ण काफ्ले, उदयपुर
सर्जकको चिनारी:
सामाजिक सञ्जालको उपयोग हुँदै गर्दा बेला-बेला छन्द कविताहरू पाठकसामु पस्कदै आउनु भएका एक उदयपुरे साधक हुन् हिमालय पौडेल । बाक्लै रुपमा मधुपर्क, शारदा, शाल्मलि, जनमत, शब्दसंयोजन आदि साहित्यिक पत्रपत्रिकाहरूमा आफ्नो रचना (विशेष गरी छन्दका कविता) प्रकाशनसँगै थोरै साहित्यिक चिनारी बनाएका साहित्यपारखी पौडेल पछिल्लो समयमा मनग्यै सक्रिय हुँदै साहित्यिक कार्यक्रमहरूमा उदयपुरे कलमकर्मीबीच उपस्थित भएका देखिन्छन्, भेटिन्छन् । असल पारिवारिक वातावरण प्राप्त गरेका पौडेलले सानै उमेरमा भानुभक्तीय रामायण (सुन्दर काण्ड) लय हालेर छन्दमा वाचन गर्ने सिप-कला र तौरतरिका जानेका थिए, यही छन्दोवध्द वाचनले उनी छन्द कवितातर्फ आकर्षित भएका हुन्। विद्यालयमा स्वागत गीत लेखन उनको साहित्यिक सिर्जनाको प्रारम्भ थियो । देउसी भैलोमा पनि गाउँमा उनका रचनाले स्थान पाउँदै जानु पनि उनको साहित्यिक भर्यांग तयार हुनु हो । २०५३ देखि २०५८ सम्म पौडेलले जागिरे जीवनका साथ शार्दूलविक्रीडित, मन्दाक्रान्ता, मालिनी, अनुष्टुप र उपजातिका केही छन्दोबद्ध साहित्यिक सन्तानलाई जन्म दिएका थिए, तर यथोचित स्याहार सुसारमा भने खासै ध्यान दिएनन्, निरन्तरता दिएनन् । करिब २०७२ सालपछि भने सामाजिक सञ्जाल र प्रविधिको उपयोगिताको स्थान भने पौडेलले कविता लेखनकै निम्ति उपयुक्त ठाने, निरन्तर रूपमा फेसबुक सञ्जालमा कविता पोष्ट गर्न उद्धत भए र पाठक बजारमा आफ्नो सिर्जना उपलब्ध गराउदै आए।
हिमालय पौडेलका विषयमा अनौठो लाग्ने पक्ष चाँही उनी अंग्रेजी विषय अध्ययन गरेका विद्यार्थी हुन्, अर्कोतर्फ उनी स्वास्थ्य सेवामा कार्यरत राष्ट्रसेवक पनि हुन। यी दुवै पक्षहरु अंग्रेजी पढाइ र स्वास्थ्य क्षेत्रमा नोकरी – छन्द कविता भन्दा निकै टाढाका वस्तु हुन् तथापि उनले सबैजसो कविताहरू छन्दमै लेखेका छन, लेख्ने गर्दछन्। विश्वविद्यालयको पढाइ र पेसागत भोगाइलाई हेर्ने हो भने त नेपाली साहित्य नै उनी भन्दा धेरै टाढा रहनु पर्ने विषय हो, तर साहित्यिक रस मौलाउनुमा पढाइ र पेसाले खासै फरक नपार्ने रहेछ भन्ने उदाहरणीय पात्र पनि हुन् हिमालय पौडेल । उदयपुरे साहित्यकर्मीहरुमध्ये एउटा गीत पनि रेकर्ड गराइसकेका हिमालय पौडेल जिल्लादेखि राष्ट्रिय स्तरका कविता प्रतियोगितामा कतै प्रथम त कतै द्वितीय अनि कतै तृतीय स्थान हाँसिल गरी पुरस्कृत पनि भएका छन्।
हाल, उदयपुर जिल्ला अन्तर्गत चौदण्डीगढ़ी नगरपालिका वडा नं. १० स्थित हँडियामा स्थायी बसोबास गर्दै आएका हिमालय पौडेल पिता हरिप्रसाद पौडेल र माता निर्मला पौडेलको सातौँ सन्तानका रूपमा वि.सं. २०३२ साल फागुन महिनाको २८ गते साबिक साउने चउर गा.वि. स. वडा नं. ८ (हालको कोशी प्रदेश खोटाङ जिल्ला, बाराहापोखरी गाउपालिका वडा नं. ३, साउने चउरमा जन्मेका हुन् । साहित्यिक लेखनको क्षेत्रमा लगनशीलता बढाउँदै गरेका पौडेल हाल प्रगतिशील लेखक संघका राष्ट्रिय परिषद् सदस्य समेत हुन् । पछिल्लो समयमा हिमालय पौडेलले महाभारतकालीन विषयवस्तुको माध्यमबाट विगतदेखि वर्तमान, सम्मको पुरुष प्रधानतामा आधारित समाजमा नारीहरुप्रति हुँदै आएको अन्याय, अत्याचार र विभेदलाई उठान गर्दै नारी जागरण तथा प्रतिवादसम्मको नारीआवाजलाई बुलन्द गर्दै शिखण्डी नामक खण्डकाव्य पाठक सामु ल्याएका छन्।
‘शिखण्डी‘ किन खण्डकाव्य हो?
‘शिखण्डी’ कविताको लघुरूपभन्दा ठूलो छ, यो कविताको वृहत रूपभन्दा सानो छ। यसले कविताको लघु रूप र बृहत् रूप विचको मध्यविन्दुलाई समातेको छ। त्यसैले ‘शिखण्डी कविताको मझौला रूप हो, यो खण्डकाव्य हो। आख्यानलाई उपयुक्त ढंगले अनुभूतिसँग घोलेर रसास्वादनका निम्ति थप मिठास ल्याइएको हुनाले पनि ‘शिखण्डी खण्डकाव्य हो। हिमालय पौडेलको ‘शिखण्डी सर्ग व्यवस्थापन, श्लोक संख्या (२२०), विशिष्ट कालखण्डको चित्रण, विशिष्ट घटनाको स्थापना, काव्यिक पूर्णता आदि पक्षहरूको तालमेलले गर्दा पनि खण्डकाव्य हो । खासगरी पौडेलद्वारा रचित यो खण्डकाव्य चरित्र र घटना दुवैको एकैसाथ उठान गरिएको आख्यानात्मक रचना हो ।
‘शिखण्डी‘ खण्डकाव्यको चिनारी: संरचना
कवि हिमालय पौडेलद्वारा रचित ‘शिखण्डी’ खण्डकाव्यमा दशवटा उपशीर्षक रहेका छन् । सबै उपशीर्षकको एक-आपसमा सम्बन्ध रहेकै छ । यी दश उपशीर्षकमध्ये कुनै पनि उपशीर्षकलाई झिकेर हेर्ने हो भने खण्डकाव्यको उद्देश्य पूरा हुँदैन, काव्यतत्व गम्भीर बन्दैजान्छ, टुङ्गोमा नपुग्न पनि सकिन्छ। यी दशवटा उपशीर्षकहरूमध्ये केही उपशीर्षक र भित्री घटनावस्तुलाई यो भन्दा बढ़ी सिलासिला मिलाउनु पर्ने थियो, अगाडि पछाडि भएका छन् । महाभारतकै प्रशंगहरू अनुसार पनि केही घटनाक्रमहरूको क्रम मिलाइएको छैन । ‘बीभत्स युद्ध, आखिरी युद्ध, उन्मुक्त हाँसो, प्रेमिल दिनहरू, अम्बाहरण, दुःखका दिनहरू, बहिनीहरूको जीवन, छोरा जन्माउन दबाब, बलात्कार र आजका अम्बाहरू शिखण्डी खण्डकाव्यका उपशीर्षकहरू हुन्। दशवटा उपशीर्षकमध्ये नौ वटा उपशीर्षकमा बीस-बीस श्लोकहरू रहेका छन् भने ‘दुःखका दिन’ उपशीर्षकमा भने चालीसवटा श्लोकहरु समावेश छन्। समग्रमा संरचनात्मक रूपमा सिंगो खण्डकाब्यमा जम्मा २२० (दुई सय बीस) श्लोकहरू समाहित छन् । सबै श्लोकहरु शार्दूलविक्रीडित छन्दमा रचिएका छन । विषयवस्तुको छनोट पौराणिक खालको छ, दृष्टिकोण स्पष्ट छ तर वैचारिक तहमा भने थोरै परम्परावादी चिन्तनले घर गरेकै छ। खण्डकाव्यमा नारी उत्पिडन, थिचोमिचो, अन्याय, अत्याचार जस्ता विषयहरुलाई बढ़ी बढ़ावा दिइएको छ भने नारी जागरण र सशक्तिकरणलाई हराइएकै छ। पुरुष प्रधानतामा नारीले सिधै विद्रोह गर्नसक्ने, क्रान्तिको बहार ल्याउन सक्ने एक साहसिक नारी पात्र खडा गर्नुको सट्टा विद्रोहका निम्ति पुनर्जन्म पश्चातको पनि तेस्रोलिंगी पात्र अघि सार्नुले नारीमाथि कमै न्याय गरेको छ खण्डकाव्यले। वीर, रौद्र करुणा र श्रृंगार रसको संगमका रूपमा एकै खण्डकाव्यमा बहुरस घोल्नु यस ‘शिखण्डी’ खण्डकाव्यको अलग मौलिक विशेषता हो ।
खण्डकाव्यमा पात्र चयन: शीर्षकीय पात्रका रूपमा शिखण्डीलाई केन्द्रिय पात्र बनाउन खोजिएको छ। अम्बाले पुरुवंशी भीष्मसँग बदला लिन रुद्रसमक्ष परशुरामको सल्लाह अनुसार हारगुहार गरेपछि रुद्रकै बरदानस्वरूप (अम्बाले) तेस्रोलिंगी शिखण्डीका रूपमा जन्म लिएको र क्रोधी भीष्मसँग बदला लिएको प्रसंग सविस्तार वर्णन गाएिको छ। खण्डकाव्यमा भएका सवै पात्रहरु महाभारतको कथा प्रसंग भित्रबाटै अगाडि ल्याइएको छ। शौम देशका राजा शाल्व यस खण्डकाव्यका घटनाकारक पात्रका रूपमा स्थापित दोस्रो आकर्षक पात्र हुन्। तीन छोरीहरू (अम्बा, आम्बिका र अम्बालिका) को एकैसाथ हरण हुँदा सम्म कुनै ठोस र परिणाममुखी प्रतिकार गर्न नसक्ने काँशी दरबारका राजा एक कमजोर र निरीह पात्र हुन्। पुरुषत्व र सन्तान प्रदान गर्न नसक्ने विचित्रवीर्य अर्का शक्तिहीन पुरुष पात्रका रूपमा देखिएका छन्। सम्पूर्ण घटनाका योजनाकारका रूपमा पर्दा पछाडि बढ़ी भूमिका निर्वाह गर्ने एक महत्वपूर्ण पात्र हुन् ‘कौन्त्यय’ जो अर्जुनका नामले विख्यात छन् जसको चरित्र वर्णन सन्तुलित ढंगले गरिएको छ,धेरै रंगिन पात्र पनि बनाइएको छैन, त्यति फिका पनि बनाइएकव छैन । भीष्म भने यस खण्डकाव्यका प्रमुख क्रुर अनि शक्तिशाली खलनायकका रूपमा वर्णित पात्र हुन। अम्बिका र अम्बालिका दुई दिदीवहिनी एकै एकै स्वभाव र नियतिका उपजसहितका निरीह नारी चरित्रका रूपमा स्थापित पात्रहरु हुन्। “नाठो” पुरुषका रूपमा वर्णित व्यास कामवासनाका निम्ति उद्धत र पुरुवंशी राजघरानाको निरन्तरताका निम्ति अम्बिका र अम्बालिका (आफ्नै बुहारीहरु) सँग मैथुन क्रिडा गर्ने जस्तो खेलको प्रमुख पात्र हुन।
विषयवस्तुको संक्षेपीकरण :
भीष्म र अर्जुन नाति बाजे रणमैदानमा वाण, तरबार आदि हानाहान गर्नु र आफन्तजनहरु ढलेको ढल्यै गर्नु आदि दृष्य वर्णन (विभत्स युद्ध) गरिएको छ । श्रीकृष्णसहित धृतराष्ट्रको साथ बसी नारी र अस्त्रबिहीनहरूलाई नहान्ने नमार्ने सहमति भएता पनि श्रीकृष्णले नै स्त्री र पुरुष नछुटिने शिखण्डीलाई उपस्थित गराउनु, अर्जुनकै वाणले भीष्म ढल्नु जस्ता प्रसंग (आखिरी युद्ध) ज्यादै मार्मिक प्रसंगहरु हुन । लडाइँमा भीष्म ढलेको हुँदा ‘जीवन त म्यादी हो’ भन्ने प्रसंग र कैयौं योद्धाहरू मर्दा विपक्षी (कौरबहरू) ले पनि शोक मान्नु, श्रीकृष्ण आफैँ शोकमा डुब्नु तर शिखण्डी भने यस्तो विभत्स घटना हेर्दा मक्ख पर्दै हाँसो छोड्नु (उन्मुक्त हाँसो) अर्को एक विवादास्पद तर गहिरो विषादको पक्ष हो। नारी यौवन र तारूण्य (अंग-अंग) को वर्णन, शाल्वसँग रम्ने अम्बाको चाहना (प्रेमिल दिनहरू) जस्ता श्रृंगारिक पक्षहरुको वर्णनले घटनालाई थप नयाँ परिघटनातर्फ डोर्याएका छन। काशी दरवारमा अम्बा, अम्बिका र अम्बालिकाको तामझामका साथ गरिएको स्वयंवरको तयारी, राजकुलका कैयौं योध्दा र सेनाको उपस्थिति, भीष्म र शाल्व युद्धमा शाल्व घाइते भएको र भीष्मले तीनवटा राजसुता (अम्बा, अम्बिका र अम्बालिका) हरण गरी हिँडेको (अम्बाहरण) प्रसंगको यथोचित वर्णन गरिएको छ।
अर्कोतिर अम्बाले सधैँ शाल्वकै गुणगान गाइरहनु, भीष्मसँग आफू (अम्बा) र शाल्वबिचको प्रेमको खुलासा गर्दै आफू शाल्वसँगै जाने अनुमति माग्दा भीष्मले जाने अनुमति दिनु तर शाल्वसँग भेटेपछि शाल्वले आफूले हारेको र भीष्मले जितेको वस्तु भएकाले अम्बालाई अस्वीकार गरी फिर्ता पठाउनु (दुःखका दिन) जस्ता प्रसंग व्याख्यात्मक ढंगले वर्णित छन्। अम्बिका र अम्बालिका कुरुराजका महलमा सुखसयलका साथ बस्नु, रजबिजदेखि सुत्केरी अवस्था सम्मको वर्णन गर्नु र अम्बाले (आफू जस्तै) नारी “भवानी” बन्दै नारीले अलपत्र जीवनबाट मुक्ति खोज्नु (बहिनीहरुको जीवन) जस्ता समिश्रण सहितका प्रसंगहरुको वर्णन मार्मिक ढंगले गरिएको छ। त्यसैगरी उता विचित्रवीर्य पछिको राजघरानाको निरन्तरताका निम्ति राजसभा बस्नु, पुरुवंश धान्नै पर्ने निश्कर्ष निकाल्नु र उमेर मिल्दो प्रेमीको दृढ चाहना विपरित अम्बिका र अम्बालिकामा गर्भाधानका निम्ति खोपीमा गुरु वा जेठाजु वा बान्धव (व्यास) आई गर्भाधान गराउनु (छोरा जन्माउन दबाब) जस्ता अस्वभाविक घटना वर्णन छर्लङ्ग पारिएको छ। अम्बिका र अम्बालिकाको सन्तान प्राप्तिको चाहना रहनु तर बाध्यात्मक यौनक्रिडाका पुरुष व्याससँग मैथुन क्रिडामा सरिक हुन बाध्य हुनु, व्यासको डरलाग्दो शरीर देख्दा अम्बिका र अम्बालिका डराएर आँखा चिम्लिनु र अर्थर कॉप्नु (बलात्कार) जस्ता प्रसंगहरु वर्णित छन। अन्त्यमा रुद्र भाकेपछि (परशुरामको सल्लाह अनुसार अम्बाले शिखण्डी भई पुन: जन्म लिई भीष्मसँग बदला लिएको प्रसंग र आजका अम्बाहरु, आम्बिकाहरू र अम्बालिकाहरुले समाजमा अन्याय र नारीहिंसा विरुद्ध विद्रोहको चेत छेड्न सक्नुपर्ने सन्देश सहितको कथा प्रसंग (आजका अम्बाहरु) सविस्तार वर्णन गरिएको छ ।
कथावस्तु र घटना वर्णनको केन्द्रिय विशेषता :
महाभारतकालिन प्रसंगलाई अघि सार्दै धर्मशास्त्र र इतिहास सधैँ जीत र शक्तिको पक्षमा लेखिने तथ्यको उजागर
→ खण्डकाव्यको सारवस्तु विषयवस्तु मौलिक नभई पौराणिक र मिथकीय प्रसंगमा आधारित
→ पौराणिक विषयवस्तुलाई प्रगतिशिल नभई प्रगतीवादी ढंगले प्रस्तुत गरिएको ।
→ सामाजिक क्रान्ति, प्रगतिवादी चिन्तन, नारीमाथिको शोषण, अन्याय, अत्याचार, दमन, थिचोमिचो, हिंसा र उत्पिडनको प्रतिबिम्बन
→ एकदेशिय काथातत्वमा आधारित खण्डकाव्य
→ नारीले आफ्नो आदर्श, इमान, यौवन आदि सुरक्षित गर्न प्रेमिल भाव जाहेर गर्न, कायम गर्न नपाउने परिवेशको चित्रण
→ नारीलाई राजकीय सत्ताको निरन्तरताका निम्ति सन्तान जन्माइदिन वेश्या समेत बनाइने गरेको कारूणिक कथानकको वर्णन
→ अपहरणमा पर्दा समेत न्याय खोज्न नपाइने नारी पीडाको चित्रण
→ घटनाविशेष सूक्तिहरुको जीवन्त उपयोग
→ समाजमा अल्पसंख्यक रूपमा पाइने तेस्रोलिंगीहरुको समेत सम्मानार्थ शिखण्डी (तेस्रो लिंगी) चरित्रको केन्द्रिय पात्र चयन
→ उन्माद शक्तिको क्षयीकरण र बिनास हुने सत्यताको उद्घोष
→ घटना वर्णन र चरित्र निर्माणमा तादाम्यता
→ भीष्म-शाल्व द्वन्दको मारमा परी अम्बाले घरकी न घाटकी नारी बन्नु पर्ने वाध्यात्मक (सामाजिक यथार्थमा आधारित) परिस्थतिको वर्णन ।
सुझाव:
→ पुस्तकमा पाठकीय टिप्पणी/ प्रतिक्रिया समावेश गर्नाले पाठक बजारका समीक्षकहरू पुस्तकमा दिइएको पाठकीय टिप्पणी वा प्रतिक्रियाप्रति अनुग्रहित हुने गर्दछन, जसले गर्दा पाठकवर्गबाट प्राप्त हुने सुझाव, समीक्षा आदि प्राप्त हुँदैनन् । तसर्थ पुस्तकमा पाठकीय टिप्पणी समावेश नगर्नु उचित हुन्छ।
→ सर्जकले पुस्तकमा लेखकीय समावेश गर्नु राम्रो पक्ष हो भने विषयवस्तुको सन्दर्भ प्रस्तुत गर्नु त्यति व्यवहारिक
हुँदैन, विषयवस्तुको सन्दर्भले पाठकलाई बढ़ी पूर्वाग्रही बनाउने गर्दछ ।
०००
