सेल्फी (लघुकथा)

लघुकथा

ईश्वर पोखरेल

सेल्फी लिइएका तीनवटा फोटामा कुनैमा पनि चाहे जस्तो राम्रो आएन छ— मेरो फोटो । कुशल र टीकाको भने राम्रो आएछ ।
एक मन त लाग्यो— फोटालाई लिएर के टाउको दुखाइ रहूँ ! पोस्टै नगरेपछि कुरै खलास !!
उसो त बडो उत्साहका साथ लिएको थिएँ— मैले सेल्फी । लागेको थियो— अरूले लियो भने उसको अनुकूलता हेरेर फोटो पोस्ट गर्ला र मेरो आफ्नो चैँ झूर फोटो पर्ला ।
र, मैले भनेको पनि थिएँ— ‘म पोस्ट गर्छु र तिमीहरू दुबैलाई ट्याग गरी दिउँला ।’
मेरा कुरा सुनेपछि दुवैले निकाली सकेको मोवाइल गोजीमा हालेको थिए । अब अहिले आएर फोटो पोस्ट नगर्नु पनि मिल्ने कुरा हो र !
मैले फेरि पनि तीनवटै फोटाहरू हेरें ।
तीनमध्ये एउटा फोटामा चै म तै विसेक ठिकठिकै देखिएछु तर त्यसमा ती दुईको फोटो भने लास्टै झुर रहेछ । अन्ततः मैले त्यही गरें; जे मेरो ठाउँमा भएको जोकोहीले गर्ने थियो । बुझ्नु भयो नि— मैले यही फोटो पोस्ट गरें र दुवैलाई ट्याग हान्दिएँ ।
ग्रुप फोटामा मान्छे जतिसुकै होऊन्; सबैको पहिलो चासो आफ्नै फोटामा रहने हो क्यार !
के कसैले कहिल्यै फेसबुकमा फोटाहरू पोस्ट गर्दा आफ्नो जेसुकै होस् भनेर साथीहरूको फोटालाई न्याय गर्न सकेको देखिएको छ र !

०००

लघुकथाकारको परिचयः ईश्वर पोखरेल कोटगाउँ, तीनपाटन, सिन्धुलीमा १९ असारमा जन्मिएका हुन् । २०४५ सालको कृषि विकास बैङ्कको समष्टि साहित्यिक पत्रिकामा भ्रष्टाचार शीर्षकको लघुकथा प्रकाशन गरी यिनले लघुकथा लेखनयात्रा प्रारम्भ गरेका हुन् । पोखरेल संस्मरण, व्यङ्ग्य निबन्ध र कविता सिर्जनामा संलग्न छन् । यिनी महालक्ष्मी— ३ बोझेपोखरी, ललितपुरमा बसोबास गर्दछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *