विश्वपरिक्रमा डेस्क
१५ अगस्त, वाशिंटन डिसी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय कार्य समितिले ‘अनेसास शब्दसारथि’ अनलाइन पाक्षिक कार्यक्रम आरम्भ गरेको छ । आजैबाट उक्त सुरु भएको हो ।
अनेसासको प्रेस विज्ञप्ति अनुसार यस कार्यक्रममा दिवंगत सर्जकको सम्झना , वरिष्ठ सर्जकलाई सम्मान, समकालीन कविको सिर्जना र अनेसासका गतिविधिलाई प्रस्तुत गरिने छ ।
पहिलो कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला र अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्रीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा कविहरु मञ्जुल, रमेश क्षितिज र सुरेन्द्र अस्तफलले तीनतीनवटा कविता वाचन गरेका थिए । मदन पुरस्कार विजेता दिवङ्गत उपन्यासकार मदनमणि दीक्षितको तेस्रो बार्षिक पूण्यतिथिका अवसरमा प्रा.डा. खगेन्द्रप्रसाद लुईंटेलले दीक्षितप्रति श्रद्धा-सुमन अर्पण गर्दै उनीसँगको सम्झना पनि सुनाएका थिए ।अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्षद्वय पुरु सुवेदी र पदम विश्वकर्मा एवम् सदस्य तीर्थ अधिकारीले सिर्जना वाचन तथा कार्यक्रमको आवश्यकता वारे मन्तव्य राखे ।
कार्यक्रममा अनेसासका महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष कृष्णकुमार गिरी , सदस्य डा. रेणुका सोलु र दर्पणका प्रधानसम्पादक लालगोपाल सुवेदीले अनेसासका केही नयाँ कार्यक्रमका बारेमा जानकारी गराए ।
अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले कार्यक्रमको संयोजन गरेका थिए ।