-डा. दामोदर पुडासैनी किशोर
मन्दिर, मस्जिद, गुम्बा र गीर्जाघर बाहिर
उदास अनुहारमा मान्छेहरू टोलाइरहेछन्
बाटो छोट्याउँन खोजिरहेछन् बटुवाहरू
बन्द हुने तर्खरमा छन् बिद्यालयहरू
जीवन र रसायनको अभावमा
बग्रन सकेकोछैन कारखाना
दाल , भात र डुकु अब सपना हुन लागेको छ
श्रमिकहरू कारख़ाना र खेतमा जान सकेका छैनन्
कर्मचारीहरू कार्यालयहरूमा भेटिँदैनन्
काम र वेतन दुबै टाढिँदै गएकोछ कामदारबाट
बैकमा खाता छन् , वासलात छ , कर्मचारी छन्
कम्तिमा पैसा त हुनुपर्थ्यो बैंकमा
तर अभाव छ त्यसैको
अचेल पैसाको किनवेच छोडेर
उँघ्न थालेका छन् बैँक कर्मचारी
पैसावालहरूलाई
अपहरण गर्ने योजना बनाउँदैछन् बैँकका कर्मचारी
भन्ने हल्ला चलेको छ
लोन फिर्ता गराइमाग्न
घर घर धाइरहेछन् सहकारीका सन्चालक
ब्याज तिर्नै नसकेर
साउँ समेत विर्सने सुरसारमा छन्
माइक्रो फ़ाइनैन्सका ऋणीहरू
हाउजिँड॰ र इन्फरमेशन टेक्नोलोजीको नाममा ऋण लिनेहरू
भाग्दैछन् ऋण नतिर्ने बाटो खोजेर
मल नपाएर , बीउ नपाएर र औषधि नपाएर
उठन सकेको छैन बारीको बिरूवा
पसिना सिँचेर फलाएको दाना , कोशा र लहराहरूलाई पनि
लुटेर खाइदिँदैछन् बिचौलियाहरूले
उता नेताहरू भने
चार भित्ताको छेका लागेर बनाउँदैछन् नोटका बिछौना
सडकमा गाड़ीहरू रमाएर गुडन सकेका छैनन्
आकाशमा क्रमश: घटिरहेछ बोइड॰ र एयरबसको ताँति
परदेशबाट घर फर्कने योजना थाँति बसेको छ
छोरा छोरी र नाति नातिना भेटन
युरोप ,अमेरिका र खाडीतिर जाने
बा , आमा र हजुरबुबा हजुरआमाको सपना अधुरै हुने सँकेत छ
मान्छे घुमन्ते प्राणी हो भन्ने त लेखिएको छ पुस्तकमा
तर , घरबाट निस्कन कुनै सामलतुमल छैन
लम्बिदै गइरहेछ ड्रोन युध्द
चम्किँदै गइरहेछ
जी सेवेन, जी ट्वान्टी ,नाटो र वार्साका अघोषित घुस्सरपन्जा
बार्ता र बन्दुकको छिनाझपटीमा ब्यापारको ढोका
आफैतिर खोल्न खोज्दैछन् चीन ,अमेरिका र आसेपासेहरू
मान्छेका
मुखमा माड लगाउने गल्छेडाहरू
बिस्तारै खोस्न सकेकोमा
मुसुमुसु हाँस्दै अघि बढिरहेछ च्याट जीपीटी
सँकट त जहिलेपनि आउनसक्छ मान्छेलाई
सँकट टार्ननै खोज्ने हो नयाँ बाटो
खियाले कुरूप भैसके
तिमीले शताब्दीयौँ अघि खनेका
पूजीवाद र साम्यवादका सूत्रहरू
नयाँ बाटाहरू नखोजेर
किन सुतुरमुर्ग सुतिरहेछ आजको मान्छे ?
ज्वालामुखी बिष्फोट भएझैँ
भर्खरै खबर आएको छ-
शटडाउन सिलिकन भ्याली .
लेखक परिचयः दामोदर पुडासैनी किशोर विविध बिधाका सकृय लेखक हुन् । उनी पछिल्लो समय नियात्रा विधामा बढी केन्द्रित भएका छन् । उनका स्वदेश तथा विदेश भ्रमणका कृतिहरु प्रकाशित छन् । उनको पछिल्लो नियात्ता कृति “डोल्पो ओ डोल्पो” साझा प्रकाशनबाट प्रकाशित छ ।