ललिता “दोषी”
आउँछन् नि आमा !
जीवनमा अनेकौँ मोडहरू आउँछन्
काल बादलहरू छाउँछन्
आगो निल्ने हामी मात्र होइनौँ आमा !
सफल त तिनै हुन्छन्
जो आगो निलेर पनि मार्ग पैलाउँछन् ।
पुग्नु छ मलाई पारि किनारा
तिमी नै धरमराएपछि
मलाई डो-याउनु पर्ने यो पल
तिमी नै हरेस खाएपछि
म कसरी अगि बढौँ आमा ?
म कसरी शिखर चढौँ आमा ?
कलिलो बैँसमै शहीद पत्नीको
पगरी गुथेकी तिमी
शहीदहरूको सपना नै कुठाराघात भएपछि
तिमी झरेको निरीह पात झैँ भयौ
अब तिमीले होस समाल आमा !
तिमीलाई थाहा नै छ
जब जब अँध्यारोले साम्राज्य जमाउँछ
अँध्यारो चिर्न जन्मेका थिए
राम, कृष्ण, बुद्ध जस्ता अनेकौँ अनेक
तिमीले मेरो होस्टेमा हैँसे भने
हामीले जस्तै पीडा निल्नेहरूको
पीडाको मलम बन्छु आमा !
स्वार्थमा लिप्त पापी राष्ट्रघातीहरूको
दोहोलो काट्दै यी बाङ्गोटिङ्गो रेखाहरू
सक्दो केर्छु आमा ! हो यी बाङ्गोटिङ्गो ….।
०००
कवि परिचयः कवि ललिता दोषी ललिता गजुरेलको साहित्यिक नाम हो । बिबिध बिधामा कलम चलाउने उनका कविता विधामा बुद्ध रोएझैं लाग्छ (२०५८), समयकी आमा (२०७०), दधीचि काठमाडौँ (२०८०),
जेलिएको धागो ( २०८१) कविता सङ्ग्रहहरु, मनको तलाउमा (२०७०) गीत सङ्ग्रह, उघ्रिदैन आकाश (२०८१) तथा आस्थाको नदी (२०७७) हाइकु सङ्ग्रह प्रकाशित छन् । उनका कथा, लघुकथा, उपन्यास, नाटकका पुस्तक तथा दर्जनौं वाल साहित्यका पुस्तक प्रकाशित छन् । ईमाडोल ललितपुरमा जन्मेकी उनी हाल बुध्द नगर काठमाडौंमा बसोवास गर्छिन् ।