२६ चैत २०८२, काठमाडौँ ।
सिक्किम भारतका सर्जक जीवन शर्माको संगीत रहेको नयाँ ‘जीवन रहरमै’ लोकार्पित गरिएको छ ।
सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रचना रहेको उक्त गीतमा अञ्जु पन्तको स्वर रहेको छ । साहित्यक पत्रकार संघ र मिलाप मासिकको आयोजनामा भएको कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक सम्मान पनि गरिएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले कार्यक्रमको उदेश्य र महत्वमा प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष वरिष्ठ गीतकार चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा भएको समारोहमा साहित्यक पत्रकार संघ र मिलापबाट संयुक्त रुपमा सर्जक जीवन शर्मालाई सम्मान गरिएको थियो । यस्तै तारेकेश्वर कला प्रतिष्ठान, डिआर म्युजिक क्रियशन र युथ क्रियशनले पनि सम्मान गरेका थिए ।
शर्मालाई प्रमुख अतिथि देवकोटा र कार्यक्रम सभापति लेकाली, मिलापका अध्यक्ष भुषालसहित महाकाव्यकार खेमनाथ दाहाल, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ कलाकार उत्तम केसी, रमेश थापालगायत, निर्देशक रामशरण कोइराला, लव प्याकुरेल लागयतले फूल, माला, दोसल्ला र ताम्रपत्रले विभूषित गरेका थिए ।
चलचित्र विकास बोर्डका सदस्य तथा निर्देशक एवं गीतकार गणेश सुवेदीले सञ्चालन गरेको कार्यक्रममा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, प्राडा. गोविन्दमान सिंह कार्की, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ समालोचक प्रमोद प्रधान, महाकाव्यकार खेमनाथ दाहाल, वरिष्ठ कलाकार उत्तम केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्रष्टा शर्माका चालीस भन्दा बढी गीत सार्वजनिक छन् भने ४ उपन्यास र अनेकौं गीत, कविता पनि पाठकमाझ आएका छन् ।
सो समारोहमा स्रष्टा शर्माले आफ्नै गीत संगीततर्फ सानैदेखिको लगाव रहेको बताउँदै नेपालमा पाएको यो सम्मानले थप जिम्मेवारी थपिएको बताए ।
०००
