गारल्याण्डमा बेबी सावर

कविता

डा.दामोदर पुडासैनी किशोर

प्रेमको टुसा पलाउने क्रममा छ
मान्छेहरू प्रेम पर्व मनाउने तर्खरमा छन्

घरमा फूल त फुलेको थियो
सुगन्ध भरिएको थिएन
प्रेमको प्रार्थना चलिरहेको छ
प्रेम र मुस्कान एकैपटक बर्षनेवाला छ

धेरै धेरै चमत्कार भए सँसारमा आजसम्म
सँसारमा भएका सबै चमत्कार मध्ये
सबैभन्दा ठूलो चमत्कार मान्छेको जन्म हो
एउटै मान्छेको जन्मले
फेरिनसक्छ सँसारको पुरै अनुहार

हामी
सँसारको अनुहार फेर्ने मान्छेकोलागि
आह्वान गरिरहेछौं

कोही आइरहेछ
समय बदल्न
उसको बाटोलाई
कसैले बदल्ने दुस्साहस नगर्नु

सँसार त खजानाको भण्डार न हो
जसलाई जे चाहियो त्यही छ सँसारमा
संसार चिन्ने
र संसार चिनाउने मान्छे अझै पूर्ण रूपमा पाइएको छैन
आओस् त्यस्तो मान्छे
मङ्गल कामना चलिरहेछ

संसार तिम्रो घर हो
संसार आफैँ सुन्दर छ अझ सुन्दर पार्नुपर्छ
सबै आफन्त हुन् संसारका सबै मान्छे
संसारका सबै सौन्दर्य चिनाउन
हामीले
बेलुन उडाइरहेछौं
फूल बर्साइरह्छौं
रिबन फर्फराइरहेछन्
केक काटिरहेछौं
खेलौना थुपारिरहेछौं
जुटिरह्छौं सबै आफन्त
तिमी दौंडदै आइरहेछौ बाटैबाटो
हामी उमङ्गको हल्ला गर्दै चिच्याइरहेछौँ-
ट्विङ्कल ट्विङ्कल लिटिल स्टार
हाउ आइ ओण्डर ह्वाट यु आर ?

संसारकै सबैभन्दा कान्छो पाहुना
संसार टेक्न आइरहेछ
सबैभन्दा ठूलो खुशीको ब्याड सजाएर
स्वागतमा उभिएका छौँ हामी गारल्याण्डमा ।

-५ असार २०८०( २० जुन २०२३), सँयुक्त राज्य अमेरिका

 

कवि परिचयः दामोदर पुडासैनी किशोर विविध बिधाका सकृय लेखक हुन् । उनी पछिल्लो समय नियात्रा विधामा बढी केन्द्रित भएका छन् । उनका स्वदेश तथा विदेश भ्रमणका कृतिहरु प्रकाशित छन् । उनको पछिल्लो नियात्ता कृति “डोल्पो ओ डोल्पो” साझा प्रकाशनबाट प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *