शीतलहर (कविता)

कविता

शीतलहर (कविता)

पुरुषोत्तम आचार्य

हाम्रो पसिनामा
नली लगाएर
तानि रहे तिनिहरूले
नशालु हुक्का
र, छाडि रहे आकाशतिर
विषालु धुवाँ

त्यही धुवाँ चिसिएर
हाम्रो टाउको माथि
खसिरहेछ शीतलहर

ए! रामलखन काका
अब घुर ताप्न छाडेर
टाउकोमै चिलिम सल्काउने पो हो कि ?

०००

कवि परिचयः कवि पुरुषोत्तम आचार्य हर्नामाडी हेटौंडामा जन्मेका हुन् र अहिले पनि हेटौंडालाई नै कर्मभूमि बनाएका छन् । उनका भोको मझेरी ( ( मुक्तक सङ्ग्रह २०६८), मुटु र गीतहरू ( गीति सङ्ग्रह २०७०), छैनौ कसोरी तिमी (ऊर्जाकाव्य -२०७९), जुनेली ( खण्डकाव्य -२०८०) लगायतका कविता कृतिहरु प्रकाशित छन् ।

Leave a Reply