मीरा गोतामेको पहिलो कृति उपन्यास “निति” को लोकार्पण सम्पन्न

Uncategorized

विश्वपरिक्रमा डेस्क
१८ सेप्टेम्वर, वाशिंटन डिसी

साहित्यिक पत्रकार सङ्घको आयोजनामा काठमाडौंमा असोज २ गते एक विशेष कार्यक्रम वीच मीरा गोतामेको उपन्यास “नितीको लोकार्पण” सम्पन्न भयो । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि कथाकार भागीरथी श्रेष्ठ, विशेष अतिथि गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, प्रमुख वक्ता समालोचक प्रमोद प्रधान, अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत र आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली लगायतले पुस्तक लोकार्पण गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि भागीरथी श्रेष्ठले उपन्यास कुतूहलपूर्ण भएकोले पढ्न थालेपछि नसकिएसम्म तानिरहने बताइन्। विषय, घटना, पात्र र भाषा सबै दृष्टिबाट पुस्तक राम्रो रहेको बताउँदै उनले उपन्यासको अन्त्यले न्याय गरेको धारणा राखिन् । अर्का वक्ता हिरण्यकुमारी पाठकले महिला साहित्यकारहरूको बढ्नु सुखद् भएको बताइन् । उनले लोकार्पित पुस्तकका स्रष्टालाई बधाई दिंदै भनिन्, “पहिलो कृति नै उपन्यासका रूपमा लेख्नु पनि महत्वको कुरा हो ।”
प्रमुख वक्ता समालोचक प्रमोद प्रधानले उपन्यासमा नेपाली नारीले भोग्नुपरेका विभिन्न समस्यालाई सचेततापूर्वक उठाइएको र त्यसलाई न्यायपूर्ण तरिकाले निरूपण गरिएको बताए । उनले भने, “उपन्यासमा नारीका समस्या उठाइए पनि पुरुष चरित्रप्रति पनि न्याय गरिएको छ ।” अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेतले पहिलो उपन्यासमा नै दह्रो रूपमा प्रस्तुत भएकोमा स्रष्टालाई बधाई ज्ञापन गर्दै नारी सम्बद्ध थुप्रै उपन्यासले सम्बोधन गरेको बताइन्।
अध्यक्षको आसनबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले सङ्घका गतिविधिमाथि प्रकाश पार्दै मीरा गोतामेको साहित्यिक यात्राका लागि हार्दिक शुभकामना दिए । उनले प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरुलाई संघको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए भने लोकार्पित कृतिका सर्जक मीरा गोतामेलाई सम्मान पनि गरिएको थियो ।
उपन्यासकार मीरा गोतामेले आफूले समाज वरपर नेपाली नारीले भोगिरहेका अनेकन् समस्या देखेको र ती समस्याहरूले आफूलाई सधैं भावुक बनाउने गरेको र त्यही भावुकताले घच्घच्याएपछि लकडाउनको समयको सदुपयोग गरेर उपन्यास तयार गरेको उनको भनाइ थियो । सो अबसरमआ चर्चित गायिका रितु कडेलले गीतहरु गाएकी थिइन्।
कार्यक्रममा उपन्यासकारका जीवनसाथी एवम् प्रकाशक धर्मराज बोगटी, उपन्यासकारका बाल्यकालका साथी रक्षा अधिकारी, साहित्यिक पत्रकार सङ्घका सदस्य डा. दामोदर पुडासैनी किशोर र साहित्यकार गीता सापकोटाले पनि आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *