अमेरिका- १९९१

छन्द कविता

लव गाउँले, काठमाडौं

 

खासमा भन्नुपर्दा फिलिपिन्समा सन्चालन हुने एक वर्षे सार्वजनिक प्रशासन बिषयक पोष्ट ग्र्याजुयट डिप्लोमा कोर्समा मेरो मनोनयन भएको थियो । मलाई स्कुल जीवनदेखि नै अमेरीका सफर गर्ने इच्छा पलाइरहेको थियो ।  मैले अफिस, अर्थ मन्त्रालय र दातृ निकायमा आग्रह गरेँ । तीनवटै निकाय राजी भए । मेरो लागि युएसएआइडीले फिलिपिन्सको लागि छुट्याएको रकम अमेरिका जान पर्याप्त थियो । त्यसैले युएसएआईडीले पनि अनुमति नदिने कुरा थिएन । तर घाँडो के भैदियो भने अमेरिकास्थित जर्जटाउन युनिभर्सिटीले तयार पारेको (एलुगु) अङ्ग्रेजी परीक्षा थियो ! तीन चरणको परीक्षा (एकैदिनमा सकिन्थ्यो) को ग्रामर (व्याकरण) पोर्सनमा माइनस सिस्टम भएको र हेर्दा उस्तै उस्तै लाग्ने भएकोले आफ्नो मनले खाएको उत्तरमा चिनो लगाउँदा म तीन पल्ट गुल्टिएँ । संसारमा भनसुन नलाग्ने ठाउँ कहीँ छैन । एलुगु (इङ्गलिस ल्याङ्गवेज टेस्ट अफ जर्जटाउन युनिभर्सिटी) परीक्षा लिने भारतीय मूलका संयोजक मेरो सालीको साथीको आफन्त रहेछ । पत्ता लागिहाल्यो । उनले त्यसलाई भनिदिइन् । अङ्ग्रेजी परीक्षाको खेल खत्तम भइगो…!

वाशिङ्गटन डिसीको वाशिङ्गटन मेरिडियन हाउसमा हुने १० दिने अमेरिका ओरियन्टेसन कार्यक्रमसहित मे महिनाको १९ देखि जुलाई २७ सम्म कनेक्टिकट राज्यको वेस्ट हार्टफोर्डमा सञ्चालन हुने कर्मचारी व्यबस्थापन कार्यक्रममा भागलिन म काठमाडौंबाट नयाँ दिल्ली हुँदै जर्मनीको फ्रयाङ्कफर्ट पुगेँ । मसँगै महालेखा परीक्षकको कार्यालय (त्यसबेला बिभाग) का निर्देशक योगेन्द्रराज जोशीजी (हाल दिवंगत) र त्यतिबेलाको कृषि मन्त्रालय अन्तर्गत काम गर्ने महिला थिए । त्यतिबेला तत्कालीन आरएनएसीको जहाज फ्रयाङ्कफर्टसम्म पुग्थ्यो ।

आरएका क्रुहरू हामी बसेको होटल ईन्टर कन्टिनेन्टलमा बस्ने रहेछन् । तिनीहरूका कारण हामी त्यहाँको कुनै सडकमा केही समयको लागि लाग्ने सडक बजारमा गयौँ । मैले केही सामान किनें जो चिनोको रूपमा अहिले पनि छ । जोशीजीले केही किन्नु भो । उहाँ महिलाले बोक्न सकेजति सामान किन्नु भो । किन्न त किन्नु भो तर ट्राभल चेक र टिकटसहितको वालेट नै उडाउनु भो । पछि हामी त्यहीँ कतै पाइन्छ कि भनेर होटलबाट त्यो ठाउँमा खोज्न गयौँ । बजार त हावाले सिनित्तै बढारिसकेछ ।

चिन्नु न जान्नु घचेडी माग्नु भने झैँ ती महिलाको घाँडो ममा आइलाग्यो । मैले अमेरिकन एक्स्प्रेसमा फोन गरेर हराएको ट्राभल चेकको नम्बर र अमाउन्ट टिपाएँ । पैसा पछि रिफन्ड भयो । भोलिपल्ट एयरपोर्ट म्यानेजर टिकट मिलाइदिने कुरामा मरे मानिरहेको थिएन । यसैको लागि हामी आयोजकले लिन आउने गाडी छोडेर अलि अगाडि ट्याक्सीबाट एयरपोर्ट पुगेका थियौँ । र मेरो बत्तीस डुइच मार्क झ्वाम भइसकेको थियो । पैसा तिरम्न त भने एकतर्फी टिकटको मात्र तेह्र सय डलर भन्यो मसँग पाँचसय डलरको ट्राभल चेक थियो । जोशीजीसँग त कुरै गर्नुहुने थिएन । उहाँले त उसलाई छोडेर जाऊँ भनिसक्नुभएको थियो । अन्ततः अनुनय विनय काम नलागेपछि बाझेर वाशिङ्गटन डिसीको टिकट मिलाएँ । महिलाले खुसी हुँदै मलाई एक गिलास बियर अफर गरी ।

न्यूयोर्कको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हामी वाशिङ्गटन डिसीको डलस एयरपोर्ट पुग्यौँ । वाशिङ्गटन डिसीस्थित युएसएआइडी अफिसमा न्यूयोर्कका लागि नेपाली स्थायी नियोगका पूर्वप्रमुख जयराज आचार्यकी श्रीमती उषा आचार्य काम गर्नुहुँदो रहेछ । वाशिङ्गटन मेरिडियन हाउसमा हुँदा उनले सक्दो सहयोग गरिन् । हामी दस दिनको ओरिएन्टेसन कार्यक्रम सकेर वाशिङ्गटन डिसीबाट बोस्टनको लागि उड्यौँ । बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा सुजन नामकी संयोजकले रिसिभ गरिन् । उनले हामीलाई ‘रामादा ईन’ होटलमा छोडिदिइन् । डीसीको दसदिने कार्यक्रममा त्यहाँको खस्रो सडक (द्रुत गतिमा हुँइकिएको गाडी पनि ब्रेकमार्दा जहाँको तहीँ रोकिन सक्छ भन्ने लजिकल पक्ष थियो सायद) नाप्दै हिँड्दा छालाजुत्ताको तलुवा प्याट्टै भाँचियो । जुत्ता एकदम फिटिङ र कम्फर्टेबल थियो । मलाई हुनुसम्मको पीडा भयो । मसँग अरु जुत्ता थिएन । सोल फेर्नको लागि बाटोमा सोध्दै खोज्दै शु डक्टर (जुत्ता चिकित्सक) को पसल पुगेँ । डक्टरले जुत्ता ओल्टाई पल्टाई हेरेर भन्यो— ‘थर्टीएट डलर !’ मैले अङ्गे्रजीमै पछि आउँछु भनेर जुत्ता फिर्ता लिएँ ।

यो दशदिने ओरियन्टेसनमा याङ्किला दिदी (याङ्किला शेर्पा, पर्यटन व्यवसायी, शाही शासन कालमा पर्यटन राज्यमन्त्री पनि हुनु भयो) पनि हुनुहुन्थ्यो । एक दिन उहाँले मलाई ब्रुसेट नाम गरेको उहाँको फ्रेन्च साथीकोमा जाउँ भन्नुभयो । उहाँका अनुसार ब्रुसेट पूर्वीय तन्त्र साधनामा अत्यन्त रुचि राख्ने फ्रान्सेली युवती थिई । मेरो मनमा भयको एउटा डरलाग्दो झस्का पस्यो । मैले जान्न भन्नु कायरता प्रदर्शन गर्नु थियो । डराई डराई उहाँको साथ (हिँडेर गयौँ कि ट्याक्सीमा त्यो पनि याद भएन) गएँ । हामी एउटा ठीकठीकै भुइँतल्ले बङ्गलामा पुग्यौँ । दिदीले डोरबेल थिच्नुभयो । घरक्क ढोका खुल्नेबित्तिकै एउटी आकर्षक युवती देखिई तर कस्तो पहिरनमा भने माथिदेखि तलसम्म अत्यन्त कञ्चन सेतो गाउन लगाएकी, निधारमा कालो लामो टीका कोरिएको, झाँक्रो फिँजिएको र आँखामा बुझ्नै कठिन कुनै तान्त्रिक दृष्टि सलबलाइरहेको जस्तो। मैले सोचेभन्दा पनि बढी डर लाग्यो मलाई । म अनायसै दुई कदम पछि हटेँ ।

दिदीले ऊसँग हात मिलाइसकेपछि मेरो परिचय दिनुभयो । मैले डराई डराई अघि बढेर ऊसँग हात मिलाएँ । हामी ऊसँगै भित्र छिर्यौँ । कोठामा पसेपछि मलाई झन् डर लाग्यो । कोठा मधुरो रातो बत्तीमा सकिनसकी मुस्काइरहेको थियो । ढोकाबाट छिर्नेबित्तिकै आतेसखाना देखिन्थ्यो आगो बाल्नको लागि । र सँगै नेपालका धामी झाँक्री बस्ने शैलीको आसन थियो । त्यस्को ठ्याक्कै माथिपटिृ चमर, कुचो, ढ्याङ्ग्रो र थरीथरीका नेपाली परम्परागत सामान झुन्डिएका थिए । भित्तैभरि भगवतीका विभिन्न रौद्ररूपका तस्बिरहरू सजाइएका देखिन्थे ।

मैले शारीरिक पीडा हटाउने भौतिक विज्ञानको ब्रुसेट नामको क्याप्सुल देखेको थिएँ । तर शारीरिक एवं मानसिक पीडा हटाउने विश्वासै गर्न नसके पनि अविश्वास गर्न नसकिने अध्यात्मिक तन्त्र साधनाको यो खेलमा उद्दत ब्रुसेट नामको यस्ती सुन्दरी देखेको थिइन । ऊ अनुहारमा जति सुन्दर देखिन्थी उस्को पहिरन र कोठाको आवरणले उस्लाई त्यत्तिकै क्रुर बनाइरहेको देखिन्थ्यो । एकै छिनमा ठूल्ठूलो मगमा चिया आइपुग्यो । चिया पिउने मेरो साहस भएन । तन्त्रमन्त्रको खेलमा टुनामुनाको दाउसमेत मिसिन सक्ने आशङ्काले म विचलित भएँ । ब्रुसेटले चिया पिउने अनुरोध गरी । मैले आत्तिएर याङ्किला दिदीलाई हेरेँ । मनमा उर्लेको अशान्तिले छाती नै आफ्नो साइजभन्दा डबल भइसकेको थियो । तर दिदी स्वयम्भूजत्तिकै शान्त हुनुहुन्थ्यो । दिदीले पनि मलाई चिया पिउन भनेपछि मैले आफ्नो कमजोरी जोगाई राख्न सकिन । मैले तत्काल भने—

“दिदी ! पहिले तपाईं पिउनोस् अनि म पिउँछु !”

उहाँले मेरो भनाइलाई कसरी ग्रहण गर्नुभयो सम्मान या कमजोरीको रूपमा मलाई त्यो थाहा भएन । उहाँ मलाई हेरेर मुसुक्क हाँस्नुभयो । म लाजले पानी पानी भएँ ।

भोलिपल्ट सुजनले हामीलाई होटलबाट ट्रेनिङ सेन्टर लिएर गइन् । त्यहाँ विश्वका सत्र देश वङ्गलादेश, बेल्हिज, भुटान, बुर्किना फासो, साइप्रस, घाना, जमैका, केन्या, मलावी, मलेशिया, नेपाल, नाइजेरिया, पाकिस्तान, श्री लङ्का, टान्जानिया, वेस्ट ब्याङ्क र जिम्बावेका ५१ जना सहभागीहरूलाई पाँच समूहगत विषयमा विभाजित गरिएको थियो । नेपालबाट युएनडीपी मार्फत् पुरुषोत्तम सापकोटा   (जनकनाथ प्याकुर्याल–जो कन्या हाई स्कुलका संस्थापक थिए—का ज्वाईं । प्याकुर्याल पञ्चायतकालमै पुलिसको कुटाईले मरे । सापकोटा ०४३ सालमा नेपाल एडमिनिष्ट्रेसन स्टाफ कलेजमा नयाँ ब्याचको शाखा अधिकृतहरूको बेसिक एडमिस्ट्रिेसन ट्रेनिङका एक स्रोतव्यक्ति थिए । कसैकसैले उनलाई पिसापकोटा भनेर जोक पनि गर्थे— (अहिले उनी बिते), राम प्रसाद (निजामती किताब खानाका प्रमुख थिए अमेरिकाबाट फर्केपछि बिते) र सामान्य प्रशासन मन्त्रालयबाट हरिराम न्यौपाने आएका रहेछन् ।

म भाँचिएको जुत्ता जतन गरी लाउने प्रयास गर्थेँ । जसले गर्दा हिँड्दा खोच्याएको जस्तो देखिन्थ्यो । युएसएआइडीले पहिलो महिनाको भत्ता जम्मा गरिदिएपछि वल्ल मैले तीस डलरमा ईटालियन जुत्ता किनें ।

हाम्रो समूहको उन्नाइस जनामा नेपालका रामप्रसाद पराजुली र अनुराधा श्रेष्ठ पनि थिए । ती उनै अनुराधा हुन्— जो म जस्तै फिलिपिन्सको लागि मास्टर्स कोर्समा मनोनयन भएकी थिई । पछि गन्तव्य फेरियो । फिलिपिन्सबाट अमेरिकाको लागि उसको गन्तव्य परिवर्तन गर्नको लागि र फ्र्याङकफर्टमै उसले टिकट र ट्राभल चेक हराउँदा उसलाई मद्दत गर्नुमा मेरो सानो भूमिका थियो । यस मानेमा मैले उसलाई सहयोग गरेको थिएँ भन्दा फरक पर्ने थिएन । म वास्तवमा एक्लै सुत्न सक्दिन । एक्लै हुँदा केले केले आएर थिच्ने र बोल्नै नसक्ने । मैले यो कुरा गम्भीर भएर यो नेपाली महिलालाई जहाजमा सुनाउँदा हो नहो मैले उसलाई केके न गर्ने मनसाय राखेको ठानेर ऊ परक्क बटारिइहाली ।

पान आमको भव्य जहाज आन्ध्र महासागरमाथि उडिरहेको थियो । उसले यसलाई अर्कै अर्थमा लिइछ । विमानमा भएर मात्र ! गाडीमा भएको भए उसले सिट चेन्ज गर्थी अथवा गाडी रोकाउन लगाएर ठमठम बाहिर हिँड्थी होला ! अझ महिला अधिकारबादीहरू भेटिएको भए मैले ‘ऊसँगै सुत्ने’ मनसाय राखेको भनेर मलाई ‘ख’ गराउँथी होला ! मैले आफ्नो समस्या पूरा कहन पनि पाइनँ । मेरो आशय उसले सोचे जस्तो हैन भनेर स्पष्टिकरण दिँदा पनि उसले पटक्कै विश्वास गरिन । अझ उसले म त पानी नचल्ने जात जस्तो गरेर छोइएला भन्ने अर्थमा मतिर ढाड फर्काएर आफ्नो बसाइस्थिति नै परिवर्तन गरी । मलाई झनक्क रिस उठिहाल्यो । यत्रैसित भनेर मैले पनि त्यसै गरेँ । मुन्टो त यथावत बटारिएकै थियो, ढाड पनि दुईतिर फर्कियो । दुई जनाले दुईतिर मुन्टो बटारेको बटारै, ढाड फर्काएको फर्कायै हाम्रो यात्रा टुङ्गियो ….।

हामीलाई ट्रेनिङ सेन्टरको पूर्व दिशातिर ४५ मिनेट वाकिङ डिस्ट्यान्समा रहेको ‘मार्क ट्वेन टावर’, अमेरिकी लेखक जस्को असली नाम सामुयल लङ्गहोम क्लिमेन्स थियो–मा बासको व्यबस्था मिलाइयो । बास बसेकै रात कालेहरूले मासु बार्बिक्यु गरेछन् कि के गरी हो ग्यासस्टोभ बेस्सरी तताएछन् क्यारे धुँवाको प्रेसरले फायर एलार्म बज्यो । त्यस्तो हुँदा लिफ्ट प्रयोग गर्न नहुने भएकोले स्टेयरकेसबाट भागदौड सुरु भो । हस्याङफस्याङ गर्दै नौ तल्ला ओर्लेर तल लनमा पुगेपछि देख्छु त कालेहरू कट्टुमा र कालीहरू कट्टु र ब्रा’मा मात्र दौडेका रहेछन् । एकैछिनमा फायर फाइटर टिम आएर टावरको परीक्षण गरिसकेपछि हामीलाई भित्र पस्ने अनुमति दिइयो । त्यो रात म निदाउनै सकिन ।

ट्रेनिङ सेन्टरमा बौध्दिक सिकाई अगावै शहर बजार कसरी घुम्ने, बसको टिकट कसरी लिने कहाँ कसरी जाने जानकारी पनि प्राप्त भयो । एकदिन जोशीजी र म ‘के मार्ट’ सपिङ मल घुम्ने सिलसिलामा बस चढ्यौँ । हामीसँगै मध्यअमेरिकी देश बेल्हिजकी बारबारा जो कर अधिकृत थिई– ऊ पनि आई । बस पूर्व दिशातिर दगुरिरहेको थियो । बाटोको दायाँबायाँ महिलाका सेमिन्यूड (अर्धनग्न) पोस्टरहरू टाँसिएका देखिन्थे । जोशीजी लोभिनु भो सायद । उहाँले पानी जस्तो बसको झ्यालको कञ्चन ऐनाको ख्याल गर्नसक्नु भएनछ । पोष्टरलाई दोहर्याएर हेर्न जसै उहाँले मुन्टो दायाँतिर के बटार्नु भाथ्यो ‘तडाक्क’ गरेर उहाँको पावरग्लासको फ्रेम भाँच्चियो । मलाई जस्तै उहाँलाई बेहद तनाव भैगो ।

उहाँले एक्स्ट्रा चश्मा ल्याउनु भएको रहेनछ । ‘के मार्ट’ मा गएर बुझ्दा फ्रेमको मात्र चारसय डलर भन्यो । उहाँ रन्थन्निएर पाँच एमजीको सुपर ग्लु पच्चीस डलरमा किन्नु भो । बाहिर बारबरा हाफप्यान्टमा सिगरेट तानिरहेकी थिई । म बाहिर निस्केँ र भनेँ— ‘बारबरा ! तिमीहरूलाई यो हाफप्यान्ट कति सुहाउँछ हगी ? हामीले लगायो भने त ड्रममा बाँस हुलेको जस्तो देखिन्छ !’ उसले चुरोटको बटलाई गटरमा फ्याँक्दै भनी— ‘लव ! तँलाई प्रोटिन बढी भए जस्तो छ…… !’

जोशीजी बिहान ब्रेकफास्ट खाएर पावरग्लाससँग खेल्दै हुनुहुन्थ्यो । के भयो कुन्नि सुपर ग्लुले टाँसेको फ्रेम फेरि ठनक्कै भयो । उहाँलाई छोडेर म र वङ्गलादेशी लोभी सहसचिव बूढो सँगै ट्रेनिङ सेन्टर गयौँ । जोशीजी फ्रेम मिलाउन त सफल हुनु भो क्यार तर बस पाउनु भएनछ । उहाँ पैँतालीस मिनेट हिँडेर लेक्चर रुममा छिर्न खोज्दा स्रोतव्यक्तिले उहाँलाई नआउने प्रश्न सोधिदिएछ । उहाँ रन्थन्निएर मलाई बोलाउनु भो । सुगरको बिरामी हुनुहुन्थ्यो उहाँ । उहाँले भन्नु भो— ‘लवजी म नेपाल फर्कन्छु । काठमाडौंमा फोन गरिदिनोस् ।’ उहाँ पाटनको मान्छे । काठमाडौँमा कस्लाई फोन गर्ने, सायद सुगरको तोडले होला त्यसो भन्नु भएको । मैले भने— ‘सर ! यस्तो कुरा नगर्नोस् । एकपल्ट डाक्टर देखाउँ’ भनेर संयोजक सुजनकोमा लगेँ । हाम्रो स्वास्थ्य बीमा थिएन । सुजनले यताउती फोन गरिन् र भनिन्— ‘चेकअप गर्न पचास डलर लाग्छ ।’ यो सुनेर जोशीजीको सुगर ख्वार्लाप्पै घटेछ क्यार उहाँ चुप हुनु भो ।

अमेरिकामा एउटा राम्रो चलन के थियो भने यसरी तालिममा जाने सहभागीहरूलाई त्यहाँका स्थानीयहरूले आतिथ्यता दिने चलन रहेछ । जोशीजी र मेरो भागमा नेपाल घुमिसकेका बालरोग विशेषज्ञ डा. हाइट र उनकी श्रीमती सुजन हाइट परे । डा. हाइट बच्चाको डाक्टर भएकोले होकि केहो उसको बानी बेहोरा बच्चाको जस्तै थियो । उनीहरू फार्मिङ्गटन सहरभन्दा केही पर बस्दा रहेछन् । उनीहरूले पहिलो पल्ट हामीलाई खान बोलाउँदा घरको ढोकामा नेपाली झन्डा र स्पिकरमा उदितनारायणको गीत बजिरहेको थियो । उनीहरूको साथमा नेपाल घुमिसकेका अर्को एक डाक्टर (जसको नाम लसुन थियो । उसले नेपालमा लसुन खान्छन् नि भनेर हँसायो) र उसकी श्रीमती जापानिज थिइन् ।

डा. हाइटले मलाई धेरै स्ट्रिट परेड (सडक मेला) मा लिएर गयो । एकदिन उसकोमा भएको सायद १९४० मोडेलको होला— भक्स वागनमा लिएर गयो । बाटोमा सबैले अनौठो मानेर हेरे । र गाडी एक छेउमा पार्क गर्दै ऊ ब्यागपाइपर (न्याउली बाजा) बजाउने ड्रेसमा बाजा बजाउन थाल्यो । सुजन हाइटले मलाई मेला घुमाई । मेला स्टलमा एउटा इभेन्ट थियो—सोकेसभित्र एउटी तरूनी मेचमा बसिरहेकी थिई । मेचको अगाडि भेनिस्ताजस्तो बोर्डमा भकुन्डो आकारको रातो चिन्ह थियो । बाहिर डोरी लगाएर ट्रेमा साना बलहरू राखिएको थियो । पैसा तिरेपछि तीनवटा बलहरू पाइन्थ्यो र त्यसले मेचमा भएको रातो गोलाकारमा हिर्काउन सक्यो भने तरूनी पानीमा डुब्थी । सुजन आफैले एक डलर तिरेर तीनवटा बल मलाई दिई । पहिलो र दोस्रो खेर गयो । तेस्रोमा रातै गोलोमा लाग्यो र तरूनी चुर्लुम्मै डुबी । मलाई रमाइलो लाग्यो । म हाँसें । सुजनले भनी— ‘पख म तेरी स्वास्नीलाई भनिदिन्छु !’ मैले मनमनै भने— ‘आफै बल किनिदिने अनि यसो पनि भन्ने ..?’

डा. हाइटका जोडीले घुमाउने सिलसिलामा मलाई उनीहरूको परिवारसहित वेस्ट हार्टफोडबाट ३२४ किलोमिटर उत्तरतिर रहेको भरमोन्ट राज्य (क्यानाडाको मोन्ट्रियलसँग सिमाना जोडिएको) को राजधानी मोन्टपेलियर शहर लगे । गाडीको गति सीमित ६५ किमि प्रतिघन्टा भए पनि गाडीमा डिटेक्टर प्रयोग गरेर हाइटको छोराले प्रतिघन्टा सरदर ८० किमि वा त्यो भन्दा बढीको गतिमा हुँइक्याइरहेको थियो । यस्तै तीन घन्टामा हामी पुग्यौँ । बाटोमा श्रीमती हाइटले आफ्नो छोराछोरीको विषयमा गुनासो गरी । ऊ आफ्ना छोराछोरीले कसैसँग पनि लभ नगरिदिएकोमा खिन्न थिई । नेपालमा भए हाम्रा छोराछोरी कसैसँग प्रेममा अलमलिँदा हामीलाई असह्य हुने ।

मोन्टपेलियरमा पनि स्ट्रिट फेस्टिभल रहेछ । डा. हाइटको ताल उही त हो नि । ड्रेस चेन्ज गरेर न्याउली बाजा बजाउन लाइनमा उभिगो । मलाई श्रीमती हाइटले आइसक्रिम र फ्रुट्स किनेर ल्याईदिई । काठमाडौंजस्तो भिरालो र समथर जमिनको एक सियालमा बसेर मज्जाले खाएँ । दुई तीन घन्टा त्यहाँ बिताएर हामी फर्कियौँ ।

यता ट्रेनिङ सेन्टरमा प्रत्येक सेसनपछि कफी ब्रेक हुन्थ्यो । जोशीजीलाई देख्नेबित्तिकै पिसापजी— ‘जोशीजी यहाँलाई आरामै हैन त ?’ भनेर सोधिरहनुहुन्थ्यो । जोशीजी ङिच्च दाँत देखाएर हाँस्नुहुन्थ्यो । दिनमा चार पल्ट्ट जति कफीब्रेक हुन्थ्यो । जोशीजी र पिसापजी भेट हुनै नहुने ।

पिसापजी सोधिहाल्ने— ‘जोशीजी यहाँलाई आरामै हैन त ?’

भोलि, पर्सि, निपर्सि पनि यो क्रम यथावत दोहरी रहँदा जोशीजीको सुगर र प्रेसर एकाएक बढेछ क्यारे ! उहाँ रिसाउँदै बम्किनु भो—‘सापकोटाजी ! यु आर अनफ्ल्याटरिङ मी । दिस इज नन्सेन्स कोईसन्स द्याट यु आर नट सपोज्ड टू आस्क्ड् फ्रिक्वेन्ट्ली !’

पीजी अङ्गे्रजीका धुरन्धर थिए । उनी पनि अङ्ग्रेजीमै बम्किए । दुबैको हात हालाहाल होला जस्तो भो । म बीचमा पसेर छुट्याएँ । यो अङ्ग्रेजी बादबिवाद चाहिँ खासमा हामी बस्ने घरमा भएको थियो । मैले यहाँ ल्याएर जोडेँ, जोशीजीले चश्माको भाँच्चिएको फ्रेम सुपर ग्लुले जोडेजस्तै ।

काठमाडौंबाट मसँगै आएकी नक्कली महिला टान्जानियाकी मारियासँगै रूम सेयर गरेर बस्दिरहिछ । मारिया मलाई समय समयमा बियर खान उसको कोठामा बोलाउँथी । खै किन हो कालीहरूले मलाई माया गर्थे तर ती सबै विवाहित थिए । एकदिन जिम्बाबेकी राधाले भनी— ‘लव तेरो लागि मेरो ढोका चौबीसै घन्टा खुल्ला छ । तँलाई मनलागेको बेला आए हुन्छ !’ त्यतिखेर एड्स आतङ्क बढिरहेको थियो । म उसकोमा जान सकिन ।

तर यो नेपाली आइमाई कतिसम्मको कृतघ्न रहिछ । मेरो उद्देश्य उसले सोचे जस्तो थिएन । एक दिन म मारियासँगै बियर खाइरहेको थिएँ । उसले नेवारी भाषामा भनी— ‘तपाईंले यहाँ आएर भन्नु भएको म तपाईंलाई सपोर्ट गर्नसक्थेँ हुँला !’ मैले पनि नेवारीमै उत्तर दिएँ— ‘तिमीले माया देखाउनु पर्दैन । मलाई माया गर्ने धेरै छन् यहाँ !’

मलाई खै किन हो श्रीमती सुजनले असाध्य माया गर्थी । एक दिन उसले मलाई उसको माइती लिएर गई । उसकी आमा थरथर गर्दै नजिकैको मलबाट दुध ल्याउँदै हुनुहुन्थ्यो । कोठामा उसकी बहिनी ज्वाईं बहिनीको तिघ्रामाथि गोडा चढाएर सोफामा पल्टिरहेको थियो । त्यहाँ सुजनको आमाको बन्द भएको ह्याण्डलुम फ्याक्ट्री रहेछ । उसले मलाई त्यहीँको उत्पादन मफलर र श्रीमतीको लागि सल दिई ।

कार्यक्रमको फिल्ड ट्रिप वाशिङ्गटन डिसीमा तय भयो । वाशिङ्गटनस्थित होटल एन्थोनीमा हामीसँगै बस्न बारबराले पनि नाम लेखाई । अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक सुजनले मलाई बोलाएर भनिन्— ‘लव ! होटलको रुम सानो छ । त्यहाँ तिमीहरू चार जना अट्दैनौ । तँ त्यहाँ नबस् !’

तेतिबेला म नेपालमै हुँदा पेट दुख्ने, खाना नरूच्ने र राति निद्रा नलाग्ने भएकोले डक्टरको सल्लाहमा म ट्रयाङकुलाइजर युज गर्थेँ जस्ले गर्दा मुख च्यापच्यापती हुन्थ्यो र सास गन्हाउँथ्यो । यो मामलामा आराधना शर्मा, अहिले अमेरिकामै छिन्, नेपालमा सान मिगेल बियरको पहिलो विज्ञापनमा काम गरेकी जो हामी एलुगु टेस्टमा पर्याप्त स्कोर नआउँदा तालिममा थियौँ— ले मैले राष्ट्रिय नाचघरमा देखाउने मेरो नाटकमा मलाई पनि बोलाउनु भनेर मेरो मुख नजिकै उनको मुख ल्याउँथिन् । मलाई अहिले पो सास गन्हाउने कुराको महसुस भयो ।

मैले कुन रूममा बस्ने भनेर सोध्न सकिन र सुजनले पनि विकल्प दिन सकिन । मैले सोधेको भए— तँ र म एउटै रुममा बस्छौँ’ भन्न सक्थी उसले सायद ।

एकदिन उसले मलाई एउटा चर्चमा लिएर गई । मलाई थाहा थिएन त्यहाँ घुँडा टेक्दै घोप्टो परेर प्रार्थना गर्नुपर्ने रहेछ । हामी घोप्टो पर्यौँ । सुजनले सेतो प्यान्ट लगाएकी थिई । सुजन मेरो दाहिनेतिर भएकोले घोप्टेरै मैले दायाँ आँखा पिर्लिक्क पल्टाएँ । सुजनको चाक गजबसित माथि उठिरहेको थियो । त्यस्तो पवित्र स्थलमा पनि एउटा अकल्पनीय सोच आयो । हुने भए दायाँ हात उठाएर सुजनको चाक थपथपाउनु हुन्थ्यो…. !

होटल एन्थोनीमा सुजनले भने जस्तो त्यति अप्ठेरो हुन पाएन किनकि बारबरा रातभरि बाहिर हुन्थी र बिहानीपख आएर सुत्थी । ऊ एक प्रकारको चेन स्मोकर थिई । चुरोट तानेपछि ऊ यति लामो समयसम्म सुक्खा खोकी खोक्थी कि हामीलाई डर लाग्थ्यो । अहिले भए कोरोनाको परीक्षण गर्नुपर्ने हुन्थ्यो ! बिहान होटलमा म उसैको खोकीले ब्युँझन्थेँ ।

हामीलाई दुई चारदिन आफ्नो खुशीमा वाशिङ्गटन डिसी घुम्ने मौका दिइयो । म भने भर्जिनियाको उडब्रिजस्थित होमनाथ दाइले फोनमा दिनुभएको जानकारी अनुसार डिसीबाट ट्रेन चढेँ । ट्रेन पश्चिम दक्षिण भएर ३७ किमि पार गर्दै उडब्रिज पाएक पर्ने स्टेसनमा रोकियो । म ओर्लिएँ । एकैछिनमा होमनाथ दाइको छोरा पुरुषोत्तम (पुरु) गाडी लिएर आउनु भयो र मलाई घर लानु भयो । दाइसँग दसदिने ओरियन्टसनको बेला कुनै एउटा कार्यक्रमा भेट भएको थियो । होमनाथ दाइ, भाउजू नन्दा, छोरा प्रकाश र पुरू, छोरी कल्पना एवम् बुहारी कल्पना सुवेदीसँग बस्नुहुँदो रहेछ । त्यहाँ नेपालका समालोचक शिवप्रसाद सत्याल ‘पीठ’ (अहिले दिवंगत भैसक्नु भो) का छोरा वासु सत्याल पनि बस्थे । पछि छोरी कल्पनाको बिहा उनै वासुसँग भो र कल्पना सुवेदी सत्याल हुन पुगिन् ।

होमनाथ दाइसँग नजाने गहिरो घनिष्ठता भयो । सुवेदी दाइले एक बिहान मलाई भर्जिनियाकै लिसिल्भानिया पार्कमा आयोजित नेपालीहरूको वनभोजमा लिएर जानुभयो । गाडी बुहारी कल्पनाले हाँकिरहेकी थिइन् । ससुराबा घरी यता काट, घरी उता मोड भनेर निर्देशन दिइरहन्थे । डिसीमै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाको तदर्थ कार्य समिति बन्यो । म नेपाल फर्केपछि अनेसासको नेपाल च्याप्टरको नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दर्ता गर्ने अनुमति नदिएपछि अनेसास नेपालको नाममा २०५० मा संस्था दर्ता भयो मेरो सभापतित्वमा । केही समय आफ्नै खल्ती र साथीहरू गुहारेर संगठन चलाइयो । पछि कारण त नभनौ मैले संस्था छोडेँ । अहिले त मागी मागी विदेश डुल्ने र बग्रेल्ती आइमाईहरूलाई हुल्ने भाँडो महसुस हुने बनाएछन् अनेसास नेपाललाई । सुवेदी दाइकोमा तीन चार दिन रमाइलोसँग बिताएपछि म वेस्ट हार्टफोर्ड फर्किएँ । त्यहाँ नेपालबाट भर्खरै जानुभएका बीबी थापा पनि तीन चार दिन सँगै थिए । उनले मलाई गाडीमा डिसीको एम्ट्रयाक (ट्रेन) स्टेसनसम्म छोडिदिए ।

बारबराले एकदिन मेरो कपाल काटिदिन्छु भनेकी त हो तर एउटा शर्त थियो ऊ छोरीको बिहामा बेल्हिज पुगेर फर्केपछि मात्र । ऊ बिहा सकेर फर्किसकेकी थिई । मार्क ट्वेन टावरको इन्ट्रयान्स लबीमा क्याराबियन देश पोर्तोरिकोका दुई किशोरीहरू जहिल्यै तिघ्रामा ओयल मसाज गरिरहेका देखिन्थे । उनीहरू यति सानो कट्टु लाउँथे कि अलि निहुरेर हेर्यो भने कट्टुले छोप्न नसकेका रौँहरू मजाले देखिन्थ्यो । उनीहरू दिनहुँ मसँग एक डाइम (दस सेन्ट) माग्थे सायद कसैलाई फोन गर्न होला । म दिन्थेँ । उनीहरूकै लागि भनेर म क्वाइन जोगाएर ल्याउँथेँ । मेरो सोझोपनको फाइदा लुट्न (लुट्न नै नभनौँ ती अल्लारे किशोरीहरू थिए) एकदिन मेरो रूममै आइपुगे । कारण रहेछ सेक्ससम्बन्धी कुनै थेसिस लेखिदिनु भनेर । जोशीजी आइमाईहरूलाई देखि नसहने । नेपाली छडौँलीलाई फ्रयाङ्कफर्टमा टिकट मिलाउन म म्यानेजरसँग बाझिरहेको बेला उहाँले मलाई लडाउँला झैँ तानेर— यो कल्चौँडीलाई यहीँ छोडेर हामी जाउँ भनेका थिए !’ हुन पनि यो छोड्नै पर्ने खालको थिई तर मेरो मनले तेसो गर्न मानेन । जोशीजीले पोर्तोरिकोका युवतीहरूलाई पनि यसै धपाइदिए । मलाई दुःख लाग्यो ।

एक दिन इन्ट्रयान्स लबीमा पिसापकोटा भेटिए । उनले सोधे— ‘कहाँ जान लागेको ?’

मैले भनेँ— ‘बारबराले मलाई कपाल काट्न बोलाएकी छे !’

अर्काको असाध्यै चासो राख्ने उनले ‘मोटीले तपाईंलाई थिच्लिन् । अलि होस पुर्याउनुस् । म गएँ !’ भनेर मलाई केके न गुन लाए जस्तो गरेर ठम्ठम् परेर हिँडे ।

बारबराले कपाल चिटिक्क पारेर काटिदिई । मेरो बीस डलर बच्यो । उसले क्याराबियन समुद्रको मिठो माछा पनि खुवाई ।

यसरी म रोड आइल्याण्ड, न्यू ह्याम्पसायर, म्यासाचुएटस्, भरमोन्ट, न्यूयोर्क घुमेँ । बोस्टनको उलवर्थ सपिङ सेन्टरमा सेल लागिरहेको थियो । हामी साँझतिर छिर्यौँ । रामप्रसादजीले सस्तो भनेर सुट किन्नु भो र जोशीजीले साबरका जुत्ता । घर आएर हेर्दा त रामप्रसादजीले किनेको सुट लेडिज परेछ । अनि जोशीजीको साबरको जुत्ता एउटा सारै गाडा रङको अर्को फुस्रो परेछ । दुबै चुकचुकाए ।

न्युयोर्क अमेरिकाको सारै फोहरी ठाउँ हो । त्यहाँको पसलमा मैले एउटा क्यामरा किन्न खोजेँ । एउटा क्यामरा देखाएर पसलेलाई कति पर्छ भनेर सोधेँ । उसले तीनसय डलर भन्यो । तँसँग वारेन्टी कार्ड छ भनें ।

“तेसो भए एकसय तीसमा लैजा ।“

“नो, म यसरी लैजान्न” भनें ।

उस्ले भन्यो— “उसोभए पचहत्तरमा लैजा ।“

मैले भनेँ—“अहँ ।“

उस्ले फेरि भन्यो— “अन्तिम तीसमा लैजा ।“

मैले “लान्न” भन्ने बित्तिकै त्यो काउन्टरबाट निस्केर मलाई कुट्ने हिसावले लखेट्यो । म भागेर मुख्य सडकमा आएँ ।

न्युयोर्क ट्वीन टावर मध्य एउटाको एकसय तल्लामा म मलेसियन साथीहरूसँग गएँ जहाँबाट हेर्दा वरिपरिका शहर फुच्चे खेखिन्थे । नब्बेऔँ तलामा एउटा रेष्टुराँ थियो । भोक लागेकोले त्यहाँ मैले एउटा बर्गर खाएँ । ओहो बर्गर खाएको पाँच मिनेटमै पेट त गड्याङ गुडुङ भैगो । बर्गरमा बिफ (गाइको मासुको) हालेको रहेछ क्यारे म त छटपटिएर ट्वाइलेट खोज्न दौडि गएँ ।

मेरो ग्र्याजुएसनमा हाइट परिवार सबै आएका थिए र म नेपाली पोशाकमा थिएँ । ‘यो ड्रेस तँलाई कति सुहाएको’ भनेर श्रीमती हाइटले हग गरी । छुट्टिने बेलामा घरमा बोलाई र हिँडने बेला ऊ निकै रोई । बोस्टनको लोगान एअरपोर्टमा अर्की सुजन असाध्यै रोइन् । रसाएका आँखाले उसलाई हेर्दै बाइबाइ गर्नुबाहेक मसँग अरू केही विकल्प थिएन ..!

यसरी म वेस्ट र्हाटफर्डको ब्राड्ले, वाशिङ्गटन डीसीको डलस, न्युयोर्कको जोन अफ केनेडी, फ्याङ्कफर्टको फ्याङ्क पेस, नयाँदिल्लीको पालम अन्तरराष्ट्रिय विमानस्थल हुँदै लगभग चौध हजार एक सय चालीस किलो मिटरको आकाशे दुरी पार गर्दै झन्डै बीस घन्टा खर्च गरेर त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल आइपुगेँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *