जुत्ता

Uncategorized

–मन्दिरा मधुश्री, काठमाडौं

बिहान भुकभुके उज्यालो भएको थियो, सिरानीमा भएको मोवाइल बज्यो । निन्द्रा खुलिसके पनि काठमाण्डौमा सुरु भइसकेको कात्तिकको जाडोमा म अल्छिलाई अँगालो मारेर ओछ्यानमा नै गुटमुटिइ

रहेको थिएँ । अल्छि मान्दै फोन छामेर टिपेँ । कलमा बा देखियो । अल्छि स्वाट्टै कतातिर भाग्यो । दंग पर्दै फोन उठाएर भनेँ, “ढोग गरेँ है बा ..।”

“चिरन्जीवि भएस् । ठूलो…..मान्छे भएस् ।” बाले मनैदेखि आशिर्वाद दिए ।

“तिम्रो आशिर्वाद थाप्लामा बा ..।” मैले गदगद हुँदै भनेँ ।

“अनि किन राति नै फोन हान्यौ त बा ?”

“नाथे ! रातI नै भन्छ । यता ट्याम्के डाँडामा अघि नै घाम देखिइसक्यो । खेतालाहरुले एक जनाले दुई गरा धान काटिसके । तँ चाहिँ अझै सुतिराको छस् कि के हो ..?”  बा थोरै जंगिएर बोले ।

“हैन बा ..। सँधै त म पनि यतिखेर डिउटी गइसक्थेँ । आज त शनीबार । छुट्टिको दिन भर पो त .. । अनि त्यताको खबर कस्तो छ त बा ?”

“सबै त राम्रै छन् नि । तर तँ नआ’र हाम्रो त चाडबाड पनि अँधेरो भो । अरुले चाहिँ राम्ररी नै मनाए ।”

“अनि बाउ, आमा, बैनी सबै जाति नै छन् त बा ?”

“ जाती नै छन् । सबै खेताँ धान काट्न गका’छन् ।”

“बैनीको बे’को कुरा के भो त बा ?”

“अँ बैनीको बे’को कुरा मंसिरमा टुंगो लागेको छ । त्यसमा त जसरी पनि आएस् है बाबु । तँ नआई त बे गर्दिन भनेकी छ तेरी बैनीले पनि ।”

“त्यै भ’र त म दशैँ, तिहाराँ नआ’को नि बा । घरि घरि छुट्टि पनि दिन्नन् साहूले । अब बे’मा चाहिँ पक्कै पनि आउँछु । मैले छुट्टि पनि मिलाईसकेको छु बा ।”

“तँ नआ’कोले त मेरो आङमा राम्रोसँग घाम पनि ला’को छैन कैले देखि….।” बाले अलिक रुन्चे बोलिमा भने ।

“बा ! अनि तिमीलाई के ल्याइदिनु त आउँदा खेरि ?” सोधेँ ।

“खै ..। अब अलिक चीसो बढेको छ । एउटा सुइटर र एकजोर ताता जुत्ता ल्याइदेन.. । बे’मा लाउन पनि हुन्छ । बाले खुसी भएर भने ।

“हस् बा हस् । राखुँ है त बा अब फोन ?”

“राम्ररी ख्याल गरेस् है बाबु आफ्नो । फेरि  परदेशाँ….आफ्नो भन्ने पनि कोहि छैन ।” बाले पीर गरे ।

“ल त बा, राखेँ है !  ढोग दिएँ बा ..।” फेरि भनेँ ।

“टुँ टुँ टुँ …।” बाले फोन राखिसकेछन् ।

 

००  ०० ००

 

भकाभक तीन चोटी सम्म पनि मरेका बच्चा जन्मिएपछि सिद्धकालीमा कालो बोको भाकेपछि मात्रै जिम्दै नातिको रूपमा मेरो मुख हेर्न पाएका रे बा’ले । त्यहि भ’र त भुइँमै बस्न दिँदैनथे बाले मलाई । म दुई वर्षको हुँदादेखि आठ वर्षको हुन्जेलसम्म जहाँ जाँदा पनि बा आफ्नो काँधमा बोकेर हिँड्थे मलाई । नबुझ्नेहरु भन्थे, “कसैको नभाको नाती यो सन्तेको ..। पछि नातीले  लाइदिन्छ पाती अनि था’पाउँछ ..।” नसुने झैँ गर्थे बा । म उनको मुखमा पुलक्क हेर्थेँ  । मेरो टाउको मुसार्दै बा मुसक्क गर्थे ।

अलिक बुझ्ने भएपछि एकचोटी त मैले सोधेँ पनि, “बा मैले तिम्लाई पाती कसरी लाउने नि ?”

बाले भने,“पछि तँ ठूलो मान्छे हुने । लाहुरे बा जस्तै लाहुर जाने । धेरै पैसा कमाएर ल्याउने अनि बालाई मीठा मीठा खान दिने, राम्रो राम्रो लाउन दिएर सुख दिने भनेको क्या..। बुझिस् ?”

“ए…।” मैले सप्पै बुझेँ  ।

त्यतिखेर म दश वर्षको हुँदो हुँ  । “लाहुरे त पिन्सन पकार आ’छन् नि ।” डाँडाघरेको धान झार्न ग’का बाउले बेलुका आएपछि सुनाए ।

“ए हो र अस्ति भर्खर गएझैँ  लाग्छ लाहुर तर पिन्सन पनि पकाइसकेछन् होइ..? बाले माथि दलानतिर हेरेर भने,“धरान सम्म झोला बोकर म नै ग’कोथेँ पुर्‍याउन ।  था’पाको भा त मै  लिन पनि पो जान्थेँ केरे ।”

भोलिपल्ट हाम्रैमा धानको बिटो लगाउने पर्म थिए त्यै’भर पर्सि पल्ट बा लाहुरेलाई भेट्न जाने भए । म पनि बाको पछि लागेँ ।

लाहुरे दलानको पेटीमा बसेर लामो बुट जुत्तामा पालीस लगाउँदैथे ।

“हैन कैले आयौ हौ लाहुरे भाई ?” बाले सोधे ।

“हन क्यानम् अस्ति पो आएँ हौ सन्ते दाइ मो त । अनि जाति नै पो छौ हौ दाजु तिमी ? ” लाहुरेले पल्टने लवजमा बोले ।

“ठीकै छ त भाइ ” बाले भने ।

“ल बसुँ न त”  पिँडीमा ओच्छ्याइराखेको गुन्द्रीपटि इशारा गर्दै भने लाहुरे बाले ।

“अनि अब नजाने गरि पिन्सन पकार पो आयौ अरे भन्ने सुन्छु  त” बाले फेरी सोधे लाहुरेको मुखमा हेरेर ।

“हो त हौ दाइ ! क्यानम्, पिन्सन पाकि गो । कति अरुको देशमा मात्र सेवा गर्नु त ? आफ्नै गाउँमा पो केही गर्न पर्छ भनेर फर्केँ हौ मो त ।”

“ठीकै त गर्‍यौ  नि लाहुरे भाइ ।”  बाले भने ।

“हेर न दाइ ! क्यानम् यी यो बुट पल्टन्मा टलक्क टल्काएर लगाउने बानी परिगो । अनि टल्काउँदै पो छु है मो त । क्यानम् लाहुरेको शान भनेकै यै बुट हो क्यारे ।”  लाहुरे बाले लाहुरे लवजमै भने ।

किन हो बाले धेरै मन लगाएर हेरिरहे लाहुरेको बुटमा । मैले ध्यान दिएँ उनलाई अनि उनका धूलो र जाडोले चरचरी परेर फुटेका कुर्कुच्चालाई ।

“हैन हौ कान्छी !  क्यानम चिया पकाउन लु त ! सन्ते दाइ पो आका छन् त बाहिर ।” आवाज लगाए भित्रपट्टी  फर्केर लाहुरे बाले ।

“लाहुरेकोमा जान खोज्नु धेरैको रहर भेटघाट मात्र नभएर लाहुरेको पल्टनको गफ र पल्टनबाट ल्याएको चियाको लोभ पनि हो । किनकि लाहुरे आफ्नोमा आएका जतिलाई भिन्दै पाराले सत्कार गर्थे । नुन र अदुवा हालेको कालो चिया र पल्टनको गफ ।

बा र लाहुरे बाको घनिष्टता गाउँमा अरुको भन्दा अलि बढि नै थियो । त्यै’भर त लाहुरेले पनि पल्टने टोपी उपहार दिएर बिदाइ गरे बालाई । बा त्यति दंग भ’को कहिल्यै देखेको थिइँन मैले । तर हिँड्ने बेलामा एकचोटि बाले त्यही लाहुरेको बुटमा हेरेको देख्दा मलाई विश्वास भयो कि जुत्ताको रहर तीव्र रैछ बाको ।

लाहुरेको छोरोको बे हुने भो । बे’को निम्तो आयो । म र बा जन्त जाने निधो भो ।

गाउँमा ठूला बडा माहजनहरु अन्तरे सार्कीले बनाएका काँचो छालाका  जुत्ता लगाउँथे । कहिलेकाहिँ म बासँग शनिबारे हटिया गएर फर्कँदा बाटोको छेउ पारिलो ठाउँमा काँचो छाला किला ठोकेर सुकाको देखेको थेँ । एकदिन बालाई सोधेँ, “बा यो के को गुन्द्री हो ?”

“ए लाटा ! यो कहाँको गुन्द्री हुनु नि ..। यो त मरेका गाई गोरुको छाला पो हो त ..।” बाले धारे हात पार्दै भने ।

“यो छालाले के गर्ने त बा ? फेरी सोधेँ ।”

“जुत्ता बनाउने..।” बाले भनेका थिए  । त्यो बेलादेखि बाल जिज्ञाशा बसिरह्यो मेरो मनभरि । यस्तो गुन्द्री जस्तोबाट खुट्टामा लगाउने जुत्ता कसरी बनाउने होला ? भनेर ।

 

०-०-०

 

बेलुका भात खाएर अँगेनामा आगो तापेर बसेका बेला बाले कुरो उप्काए ।

“अब लाहुरेको छोराको बे’मा जन्त जानपर्ने छ । जन्त जाँदा त्यत्तिकै जान पनि भएन । सम्धी गाउँमा त आफ्नो इज्जत पनि त राख्नै पर्यो । एकजोर जुत्ता पनि छैन ..।”

बाउले भने “अन्तरे सार्कीकोमा गएर एकजोर जुत्ता बनाए त भैगो नि ।”

भोलिपल्ट बिहानै बा ओरालो लागे । म पनि पछि पछि दगुरेँ बाको । मलाई हेर्नुथ्यो कसरी त्यो गुन्द्री-मान्द्रो जस्तोबाट अन्तरे बाले जुत्ता बनाउँछन् भनेर ।

अन्तरे बा पाली घरको तल भएको जुत्ता बनाउने ठाउँमा जुत्ता सिलाउँदैथे । हामी आको देखेर उनले बालाई जदौ गरे । अनि आँटमा ओच्छ्याई राखेको रात्तु गाइको जस्तै छालाका टुक्रामाथि बस्ने इशारा गरे । र मुखले पनि बसुँ भने । बाको छेउमा  म पनि लेपासिएँ ।

“खै के कति कामले आउनु भो कुन्नी ?” उनले नै सोधे ।

“अब गाउँमा लाहुरे भाइको छोराको बे’ आको छ । बेमा जन्त जानु पर्ने । अब सम्धी गाउँमा जाँदा खाली खुट्टा जान पनि त भएन । लाहुरेको पनि त इज्जतको सवाल छ । त्यै भर एकजोर जुत्ता पो बनाइमागुँ कि भनेर झरेको  यता  …।”

“भैहाल्छ नि ।” हात मुख सँगै चले अन्तरे बाका । गुन्द्रीजस्तै बेरेर राखेको भैँसीको चैँ छाला निकालेर ओच्छ्याएर त्यै’माथि बाको खुट्टा राख्न लगाए । एउटा अँगारको टुक्रा लिएर बाको खुट्टा वरिपरि घेरा लगाएर नाप लिए । अनि सानो खन्ती जस्तो हतियारले अँगारले कोरेको घेरामा काटे स्वार्र स्वार्र । दुईवटा खुट्टाको आकारको टुक्रा निकाले । अनि फेरी गुन्द्री बेरेझैँ बेरेर माथि डोरीमा झुण्ड्याए ।

“जुत्ताको माथिको बनाउनलाई यो छालाले हुन्न । अलिक नरम छाला चाहिन्छ ।  त्यो चाहिँ अलिक काँचै छ । सुकेकै छैन ।” आँगनमा किला ठोकेर टाँगेर सुकाएको छाला तिर हेर्दै भने । बा र मैले पनि उनले देखाए तिर हेर्यौँ।

अर्को हप्ता आमाले खसि बेचर राखेको पैसाबाट पचास रुपिञा दिइन्  । बा र म गएर जुत्ता लिएर आयौं । कम्ता खुसी  भ’का थे’नन् बा । बा त्यति धेरै खुसी  भाको कहिलै देखेको थिं’न मैले ।

चुइँ गर्‍याप ! चुइँ गर्‍याप ! जुत्ता बजाउँदै बा लाहुरेले देको पल्टने टोपी, दौरा सुरुवाल र अस्कोट लगाएर जन्त हिँडे । म पनि दशैँको लुगा लगाएर बासँग गएँ ।

बेउलो पछि बा नै थिए होलान् त्यति धेरै खुसी । जन्ती मध्येमा । उनको नयाँ जुत्ता लगाउने रहर पूरा भको थ्यो । पहिला चोटी जन्त गाको म भन्दा पनि खुशी थे बा ।

बाको खुशी धेरैबेर सम्म टिकेन । किन आधा घण्टा जति हिँडेपछि नै बा को मुख निन्याउरो देखियो । धेरै पछि नयाँ जुत्ता लगाकोले हिँड्न अप्ठेरो भको थियो बालाई ।

बिस्तारै बिस्तारै बा जन्ती भन्दा पछि भए । मैले बा को साथ छोडिन ।

जन्ती घट्टे खोला पारिको उकालोमा उक्लिँदै थिए । बल्ल बल्ल एक्ले पिपलको चौतारीमा पुगेपछि बा थचक्क बसे र जुत्ता खोले । बाका त दुवै खुट्टामा कुर्कुच्चा माथि जुत्ताले छोएको ठाउँ र अगाडि पनि पिल्सेको रातो घाउ भएछ । दुवै कान्छी औँलामा पनि फोका उठेर जिल जिल भएको थियो ।

घाउ देख्दा था भो बा कति मुस्किलले हिँडेका थे होलान् ।

मैले कालोझार र तितेपाति माडेर बाको घाउमा लगाइदिएँ । बाले चहर्याइँदो मुख पारे । मैले फुकिदिएँ घाउमा । म जुत्ता बोकेर पछि लागेँ । बा खल्च्याङ्ग खल्च्याङ्ग गर्दै अघि लागे बिस्तारै ।

बे घर पुग्ने बेलामा चौतारामा बसेर मैले फेरि बाको घाउमा कालोझार माडेर लगाइदिएँ । अनि मेरो अस्कोटको भित्रि कपडा च्यातेर बाको घाउमा राखेर जुत्ता लगाइदिएँ । बे भरि बा बेउला नजिक बसिरहे । यताउता नगरिकन । भोलिपल्ट  फर्कँदा पनि मैले उसै गरि जुत्ता मिलाइदिएँ । अलिक तल आइपुगेपछि बाले जुत्ता खोलेर आरामले हिँडे । म बाका जुत्ता बोकेर पछिपछि लुरुलुरु हिडें ।

जुत्ताले बनाको घाउ जुत्ताले नै निको हुन्छ भन्ने थाहा पाका बाले गाउँघर तिर हिँड्दा पनि जुत्ता लाए । घाउ पनि निको भो । जुत्ता पनि सजिलो हुँदै गो बाको । बजार जाँदा भने बा लाहुरे बासँग पक्कि कालो रङ मागेर लगाउँथे । धेरैले बाका काला जुत्तामा हेरेको जस्तो लाग्थ्यो मलाई । त्यो देख्दा म पनि बा भन्दा चारगुणा दंग पर्थें ।

एक दिन बेलुका बाले ढोका नेरको गग्रेटो छेउमा जुत्ता खोलेर अँगेनामा आगो ताप्न बसे । अलिकति ठर्रा खाएर आएका बाका गफ हामी पनि मख्ख परेर सुनिरहयौँ । कतिखेर कुकुर पसेर बाको एउटा जुत्ता लिएर चम्पट भएछ कसैलाई पत्तै भएन । सुत्ने बेलामा बाले जुत्ता राख्न खोज्दा मात्र था भो । टुकी लिएर वरिपरि खोज्दा पनि कतै भेटिएन जुत्ता । न त कुकुर नै भेटियो । न त जुत्ता नै । अगुल्टो हल्लाउँदै बाउ र मैले पनि आँगन,गोठ घर पछाडि सबैतिर खोज्यौं तर कतै भेटिएन ।

निन्याउरो मुख पारे बाले । रात भर राम्ररी निदाएनन् पनि । कोल्टो परेर खुइ खुइ गरिरहन्थे । मैले सपनामा देखेँ, बाको एउटा जुत्ता त ढोका पछाडी नै रहेछ । उठ्ने बित्तिकै मैले हेरेँ तर कहाँ हुनु नि ..? उज्यालो भएपछि बिहानभर र दिनभर पनि बारी,बाटो,जताततै जुत्ता खोज्यौँ, अहँ कतै भेटिएन ।

केटाकेटी जस्तो बाले त राम्ररी खान पनि खाएनन् पो । बेलुका अँगेना वरिपरि सबै बसेका बेला बाहिर खर्याक खर्याक ङरङर घर.. घर कुकुर मुर्मुरिएको आवाज आयो । बा टुकी लिएर बिस्तारै बाहिर निस्के । हामी पनि पछि पछि लाग्यौं । खाटमुनि कुकुरले बाको त्यही हराएको जुत्ता चपाउँदै रहेछ । बाको त कन्पारो तातिगो । फनक्क फर्केर ढोका पछाडिको आग्लो निकाले र झटारो हाने । कुकुरको खुट्टामा नै लाग्यो । कङल्याङ्ग.. गर्दै कुकुर घर पछाडि भाग्यो । म खाटमुनि छिरेर जुत्ता निकालेँ । काम लाग्ने थे न जुत्ता । खुट्टा छिराउने पटि नै आधा जति चबाइसकेछ कुकुरले । जुत्ता हेरेर बा तुरुक्क रुन मात्र सकेनन् ।

बाको जुत्ताको रहर अधुरै भो । अर्को जुत्ता बनाउँदा पनि एउटा पुरानो र अर्को नयाँ हुने भो । लुगा जस्तो टाल्न पनि मिल्ने भएन जुत्ता । किन हो अर्को जोर जुत्ता बनाउन चाहेनन् बाले । पैसा नभएर हो वा रहर मरेर । या त घाउ लाग्ने पिरले हो । या त कुकुरले खाइदिने डरले, था पाइँन मैले ।

पोहोर दशैँमा घर जाँदा मैले बालाई एउटा मोबाइल र जुत्ता लगिदेको थेँ । बा केटाकेटी जस्तै उपद्रै रमाए । टिका थाप्न आउने सबैलाई मेरो तारिफ गर्दै सुनाउँथे र देखाउँथे पनि । अब आधा घण्टा हिँडेर पिसिओमा नातीको  खबर सोध्न जान नपर्ने भो उनलाई ।

“म त भाग्यमानी पो परेछु” भन्थे आफैँले पनि ।

“हो बा गज्जबकै छ नि नाति पनि ..। यस्तो अरु कस्का पो छन् र ?” अझै उक्साउँथे अरुले पनि । हुन पनि गाउँका एकाध ठिटाहरु बाहेक बा मात्रै त थिए नि मोबाइल बोक्ने पनि ।

मोबाइल भेटेपछि बाले दंग पर्दै सुनाए,रेडियो आ’को बेलाको कुरा ।

म छ सात वर्षको हुँदो हुँ त्यतिबेला । हाम्रा गाउँमा रेडियो ले’राछन् पल्टनबाट छुट्टिमा आउँदा पल्टने बाले । गाउँभरि हल्ला फैलियो । एउटा सानो–सानो चारपाटे डिब्बा छ । त्यो त मान्छे जस्तै खरररर पो बोल्छ । कहिले गीत पनि गाउँछ । कहिले भजन पनि भन्छ । रिडियो पो अरे त्यसको नाउँ । हेरेकाले अरुलाई सुनाउँथे ।

धेरै जना हेर्न जाने कुरा पनि गर्थे ।

मलाइ पनि खूबै रहर थियो रिडियो  हेर्न जाने । कसरी पो बोल्छ होला ? के खाँदो हो ? तर कोसित पो जानु हो ? बाले त हेरिसकेछन् । अब म फुच्चेलाई कस्ले देखाइदिन्छ र ?

एकदिन माथ्लाघरे बडाबा हाम्रै घरको बाटो भर आए । उनले पल्टनेको रिडियो हेरेर आको बताए । पल्टने रिडियो बोकेर वीरमान साहूको पसलमा आ’को  छ भनेर पनि सुनाए ।

मैले आमालाई पिरोल्न थालेँ । रिडियो हेर्न जाने भनेर । धेरै पिरोलेपछि आमाले एक पैसा दिँदै भनिन्, “जा सियो किनेर ले’रा पसलबाट । अनि रिडियो पनि हेरेर आउनु पल्टनेको ।

मेरो बाटो खुल्यो । म गुटुटुटु कुदेर एकै सासमा पुगेँ दश मिनेट लाग्ने बाटो पनि । एक हुल केटाकेटीहरु र ठूला मान्छेको भीड थियो रिडियो हेर्ने । फलैँचामा पल्टने र साहू बसिराथे । म भीड छिचोल्दै भित्र पसेँ र साहुबालाई “सियो दिनु हरे” भनेर मागेँ । साहूबाले सियो दिँदै “खै पैसा” भनेर मागे । मैले एक हातले सियो समाउँदै र अर्को हातले पैसा दिन गोजीमा हात हालेको त कमेजको गोजीमा पैसै छैन । गुटुटु कुद्दा खेरि कतिखेर पैसो पनि उफ्रेछ पत्तै पाइँन ।

पैसा हराको डरले रुन थालेँ म । पल्टनेले त्यहीँमाथि “यस्तो रुन्चे भुरालई त म क्यानम यै बाकसाँ पो हालिदिन्छु  त । यस्तो भुरा त खान्छ नि यस्ले ..। ल त यसलाई पक्रुँ है त । आइजो यता” भनेर पल्टने त उठ्न पो थाले मलाई पक्रन । म त डरले चिच्याउँदै उफ्रेर भागेँ । उफ्रँदा साहूको सियो पनि कता उफ्रियो पत्तै भन । नत सियो न त पैसो । दुवै खत्तम । दुवै गुमाएपछि डरले म घरमा आ’र पनि बेरेर राखेको सुकुल भित्र लुकेर बसेँ दिनभर ।

बाको उबेलाका कुरा सुनेर हामी त पेट मिचि मिचि हाँस्यौँ । बाले हप्काए “अहिले हाँस्छौ तिमेरु, आफ्नो झण्डै ज्यान गाको थ्यो उबेलाँ…।”

 

०० ०० ००     ००

 

खित्तित्त हाँसो उठ्यो एैले पनि सम्झँदा । घडि हेरेँ सात बजेछ । झ्यालबाट बाहिर हेरेको त पुरै उज्यालो पो भइसकेको । यतिबेलासम्म त म बासँगै गाउँघरतिरै पो डुलिराको रैछु ।

यसो सोचेँ,अर्को हप्तातिर त गाउँ जानु पर्छ । आउने शनीबार मेरो छुट्टि पर्ने हो कि हैन । बरु बाको लागि र बहिनीको बेका लागि बाले टिपाएका सामान चाहिँ आजै किन्नु पर्ला सोचरे उठेँ ओच्छ्यानबाट । खाना खाएर भृकटी मण्डप सस्तो बजारतिर लागेँ । चाइनाले सबै गरीबलाई सबै प्रकारका लुगा र सामान सहुलियत मूल्यमा उपलव्ध गराइदिएकै छ ।

बजारमा नयाँ भित्र भुवा भ’को जुत्ता आको रैछ । बा’को साइजको किनेँ । बूढा–बूढीलाई सुइटर भन्दा झन तातो हुने भनेर यसपाली भित्र भुवा भ’कै ज्याकेट किनिदिएँ । बा कति खुशी होलान् यो लाउन पाउँदा । बाको खुशी सम्झेर म दंग परेँ ।

कोठामा आएर सबै सामान झोलामा मिलाएर राखेँ । बा का जुत्ता फेरी एकफेरा हेरेँ हातमा लिएर अनि जुत्ता लगाए पछिको बाको  खुशी भको अनुहार सम्झेँ एकफेरा  ।

त्यतिबेलै गोजीको मोबाइल बज्यो । अर्को हातले फोन निकालेर हेरें कलिङमा बा नै देखेँ, छ वटा मिसकल अघिनै आ’को रहेछ  । “किन फोन हान्यौ त बा फेरि ? बिहान त गरेको नि” मैले भनेँ ।

बाउ पो बोले उताबाट । भने,“बा त गए …हामी सबैलाई छोडेर ।” रुन्चे थियो बाको बोलि ।

“काँ गए त बा ?”

“खै काँ´काँ´.. ..।”

“बा  कतिखेर गए ?”

“अघि नै भात खाने बेलाँ..।”

“भात खा´र नै गए नि ?”

“नखाइ  ..।”

“अनि काँ जान्छु भनेनन् त ?”

“ भनेनन् …। ” सुँक्क  सुँक्क गर्दैथे बाऊ । म पनि रुन थालिसकेको थिएँ बाको मायाँले र बाऊ रोको सुनेर ।

“अनि ब्यान जुत्ता फाटेको छ ल्याइदे है भन्दैथे  ह्याँ मैले बालाई तातो जुत्ता किन्देको थेँ ।” अर्को हातमा बोकेको जुत्ता हेर्दै भनेँ ।

“यहीँका त छोडेर रित्तै गए …।”

“अनि बा कहिले आउँछन् अरेत ..?”

“आउँदैनन् छोरा अब बा कहिल्यै पनि फर्केर आउँदैनन् । बा नआउने ठाउँमा गए । हामी सबैलाई छोडेर गए  । बा बिते…।” बाउ त डाँको छोडेर रुन लागे ।

मेरो हातबाट एक्कासी मोबाइल खस्यो । अर्को हातले समाइराखेको जुत्ता दुवै हातले जोडले समाएर छातीमा टासेँ र बेस्करी चिच्याएँ “यी जुत्ता पनि लगाउनै नपाई खाली खुट्टै गयौ नि बा………….।”

 

000

कथाकार परिचय: नेपाली साहित्यमा कथाकारको स्पष्ट छवि बनाएकी कथाकार हुन् मन्दिरा मधुश्री । उनको “वुधनको घोडी” वहुचर्चित कथा सङ्ग्रह हो ।

 

 

 

 

Leave a Reply