तुइन

छन्द कविता

नमिता दवाडी, न्यूजिल्याण्ड

मलाई तुइन तर्नु छ !
मलाई तुइन तर्नु छ !
मलाई तुइन तर्नु  छ !!
मलाई ! मलाई तुइन तर्नु छ !!!

बर्बराई रहँदो रहेछु !
आमा झक्झक्याउँदै उठाउनुहुन्छ र सोध्नुहुन्छ
कुन तुइनको कुरा गरेकी ?
अस्ति नै हालेका हुन्  साँघु
स्तुल खोलामा,
मोती खोलामा
समयसंगै चल्ने गर न छोरी !
कति अल्झिएकि विगतमा ?
बिचरी मेरी आमा देख्न सक्दिनन्
म भित्र  लम्पसार दु:खको महासागर ,
मैले देखेको तुइनको जुइनु

परैबाट मज्जाले गिज्याइरहेको
मेरो जिन्दगीको अनन्त किनार।

बचाऊ ! बचाऊ!
चिच्याईरहँदो रहेछु  बेहोशीमा ।
छम्केर पानी अनुहारभरि बा ब्युँताउनु हुन्छ
र तेर्स्याउनु हुन्छ मृत्यु जस्तै कठिन प्रश्न
यो के उपहास हो मेरो काखको ?
नभुल्नु !
तँ बाको काखमा छस्
कसरी  गरुँ जीवनको मुल्य जस्तै महँगो उत्तर
र भनुँ
बा ! खबरहरु भनिरहन्छन्
अब धेरै जसो बा भित्रका बाहरु सती भैसके
होशियार ! तिमीले बा भनिरहेको मान्छे
मात्र ! मात्र ! तिम्री आमाका पति हुन के बेर् !

मलाई बाँच्न देऊ !
मलाई बाँच्न देऊ !
ए घोषित भगवानहरु हो
मलाई बाँच्न देऊ !
आवाजको तीर हृदयको कान हुँदै मुटुमा
र् ..वाम्म  रोपिए पछि
मुर्छा परेछु म
र दौडाइएछ उनै भगवान छेऊ
पुजा  कक्षमा
सेतो पोसाकमा उभिएका उनैलाई साक्षात देखेपछि
झन्डै बेहोसिएकी मलाई  दिब्यश्वर भन्नुहुन्छ !
नआत्तिनुस् !  तपाईं अब खतरामुक्त हुनुहुन्छ
यस्तैमा फोहोरको बाल्टीबाट एउटा भ्रुण !
चित्कारको हावा पठाउँछ र फुस्फुसाउँछ कानमा,
झुट ! झुट !
भगवान झुटो  बोल्दैछ !
यो  मन्दिरमा  जीवन मार्ने औजारहरु छन् !
लत्पतिन सक्छ तिम्रो रगत जुन कुनै बेला
तिम्रो भगवानको हातमा ,
भाग ! अबिलम्ब भाग !

ऊ ऊ परबाट आउँदैछन्  सुरम्य जगका
एक हूल सभ्य मान्छेहरू बोकेर आदर्शका खुँडा खुकुरी
तिमीलाई बाँच्न दिने छैनन्
तिमीलाई बाँच्न दिने छैनन्
उनीहरूको ठम्म्याई छ
देख्ने र लेख्नेहरु समाजका बिचलन हुन् ।

000

कवि परिचय: नमिता दवाडी गोर्खा बार्पाक सुलिकोट गाउँ पालिकामा जन्मेकी हुन् र हाल न्युजिल्यान्डमा वसोवास गर्छिन् । उनको कविता संग्रह “जीवन नदीको किनारै किनार” प्रकाशित छ । उनको गजल गीत “म मजदुर मायाको” बजारमा आएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *