कोशेली

लघुकथा

रञ्जुश्री पराजुली

रमोलाको बिहे पछिको पहिलो तिज ।
माइती गरएर साथीसङ्गीहरुसँग रमाउँदै, माइतीको मीठो दर खाँदै, नयाँ गहना पहिरन लगाएर पशुपती जान नपाए पनि घर नजिकैको शिव मन्दिर जाने भनेर मन पुलकित बनाइरहेकी थिइन् । कोरोना महामारीको कहर भए पनि घर भित्र नै बसेर रमाईलो गर्न सकिने सोचिरहेकी थिइन् । श्रीमानलाई पनि उनले आफ्नो माइतीको योजना सुनाएकी थिइन् । पत्नीको पहिले तीजको व्रत रमाईलो हुने भयो भनेर उनी पनि खुशी थिए ।
तीज आउन पाँच दिन बाँकी थियो । उनले रातो सारीसँग मिल्ने गहना ,चुरा, पोते , हरियो पोतेको छड्के तिलहरी सबै तयारी सुटकेशमा हालिसकेकी थिइन् ।आफ्नो मनको चुरीफुरी उनले आमालाई सुनाई सकेकी थिइन् । छोरी खुशी भएकोमा आमा पनि हर्षीत थिइन् । आफू शाकाहारी भएकोले उनले आमालाई खिर र खावा दही बनाउँन नबिर्सनु है भनेकी थिइन् ।
यता सासूआमा पहिलो बर्षको तीजमा माइतीले लिन आउँदा लुगा , गहना सहित विभिन्न परिकार कोशेली आउँछ भनेर निश्चिन्त थिइन् । बुहारीले लुगा गहना तयार पारेको थाहा पाएर पनि उनले यस विषयमा केही बोलेकी थिइनन् । दरखाने दिन अगाडि उनको माईतीबाट सासुको लागि शृङ्गारका सामान र लुगाले भरिएको सुटकेस अनि मिठाई ,फलफुल ,मसला, तरकारी अचारको परिकारसहित भरिया लिएर माइतीबाट भाई आइपुग्यो ।
यस्तो आपतको बेला मेरी आमाले कति दुःख गरेर यी सामान जोडेकी होलिन् भन्ने सोच्दै थिइन् । भाइले सासुलाई दर खान र तीज पर्व मनाउन पञ्चमीसम्मका लागि दिदीलाई लिन आएको बतायो ।
सासुआमा क्यै नबोली कोशेलीको सुटकेश कोठामा लगेर खोतलखातल पार्न लागिन् । सबै पल्टाईपुल्टाई गर्दा पनि उनले अपेक्षा गरेको गहना हरियो पोते सहितको तिलहरी देखिनन् ।
“छिटै विदा दिनु भए चाँडै पुगिन्थ्यो। ” भाईले सासु आमासँग भन्यो ।
सासु आमाले जवाफमा भनिन्, ” लौ बाबु ! मैले त भन्नै बिर्सिएको ! हाम्रो घरमा त पहिलो तीज आफ्नै घरमा मनाउनुपर्ने चलन छ । माइतीको तीज अर्को पाली है !”

०००

कवि परिचयः साहित्यका विविध विधामा कलम चलाउने रञ्जुश्री पराजुली नेपाली नियात्रा साहित्यको क्षेत्रमा प्रथम नियात्रा कृति, “विदेशमा बिताएका केही बर्ष” (बिसं २०४१) प्रकाशन गर्ने लेखिका हुन् । उनका कथा, समालोचना तथा वाल साहित्यका पुस्तकहरु प्रकाशित छन् । विभिन्न साहित्यिक संस्थामा समेत संलग्न उनलाई साहित्य सेवाका लागि पुरस्कार तथा सम्मान प्राप्त भएको छ । लामो समय त्रिविमा प्राध्यापन गरेर अवकाशप्राप्त उनी नेपाल अमेरिका दुबैतिर समय बाँड्छिन् र हाल अमेरिकाको टेक्सासमा बस्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *