विजय मल्ल शतबार्षिकी विशेष-तीन

गद्य विविध

विजयमल्ल दाईलाई सम्झँदै

शैलेन्द्र साकार, काठमाडौं

यस वर्ष विजयमल्लको पनि जन्म शताब्दी बर्ष पर्दोरहेछ । जन्म पनि १९८२ वि.स.मा कृष्ण चन्द्र सिंह प्रधान संग संगै भएको रहेछ विजय मल्लको ।
‘तिमीलाई देख्दा
सङलो पानी पिए जस्तो लाग्छ’
जस्ता मर्मस्पर्शी कविताका पिता उनले त्यस पछि “छोरीलाई मानचित्र पढाउँदा” नामक प्रसिद्ध कवितामा विश्व मानवताको शंखनाद गरे । मलाई सर्वप्रथम यिनै दुई कृतिले अधिक प्रभाव पारेका थिए । रोमान्टिक कविताको बाढीबाट सङ्‌लो पानी छुट्याएर उनले नेपाली पाठकलाई त्यो पानी पिलाएका थिए।
‘कोही किन वरवाद होस’ जस्ता बाल मनोविज्ञानमा आधारित नाटक हामीले पाठ्य पुस्तकामा पढेका थियौं सुरुका वर्षहरूमा ।
मलाई ती दिनहरुको समझना हुन्छ जब उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवमा नियुक्त भएका थिए। १९९१ वि.स. मा प्रकाशित प्रथम साहित्यिक पत्रिका ‘शारदा’ का प्रकाशक सु. ऋद्धिबहादुर मल्लका माहिला सुपुत्र विजय मल्ल का जेठा दाजु के गोविन्द बहापुर मल्ल ‘गोठाले’ पनि नेपाली साहित्यका अविष्मरणीय प्रतिमा पुरुष हुन्। विजय मल्न नेपाली साहित्यका ख्यात‌नामा कवि, कथाकार नाटककार हुन्, यसमा कुनै ब्याख्याको जरुरत पर्ला जस्तो लाग्दैन । भवानी भिक्षु उनीहरुकै घरमा बसेर “शारदा” को सम्पादन कार्य गर्दै हुर्केका थिए। विजय मल्ललाई सम्झने केही खास कारणहरू उल्लेख गर्दै जान्छु ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सुरुमा प्राज्ञ परिषदमा र पछि सदस्य सचिवमा नियुक्त हुनुभयो । तात्कालीन रानी रलको माइतीमा सुब्बा भएका ऋद्धिबहादुर मल्लको छोरा भएकाले रानी रत्नसँग सानैदेखि परिचय र आत्मियता थियो विजय दाईको। दाईको । यो सबका कारण कुनै खास शिक्षा आर्जन गर्न नसके पनि उहाँलाई आफूलाई सुहाउँदो अड्डामा जागिर खान कुनै ठूलो विध्नबाधा उहाँलाई भएन । म धेरैजसो दिउँसो प्रज्ञा प्रतिष्ठानमा निस्किरहन्थें । मलाई त्यहाँको पुस्तकालयमा भएका पुस्तकहरू पढ्ने र त्यसको साराँश लेख्ने काम कुलपति व्यथित र र उहाँका सचिव खड्गमान मल्लले मिलाई दिनु भएको थियो। एउटा पुस्तकको सारांश लेखेको रु १०।- जति मलाई थियो आदेश लेखालाई कुलपतिले भन्नु भएको थियो । केही आम्दानी पनि हुने र विविध विषयका क्लासिक पुस्तकहरू पढ्ने वातावरण मलाई प्राप्त भयो।
२०४६ पछि गठन भएको प्रज्ञा परिषदले समकालीन साहित्यको प्रकाशन सुरु ग-यो । म फुर्सदमा ‘समकालीन साहित्य’का सम्पादक अविनाश श्रेष्ठ कहाँ गफ गर्न गैरहन्थें । त्यहीवेला अनायास विजय दाई आउनुहुन्थ्यो र भलाकुसारीपछि हामी दुवैलाई जाउँ भनेर भन्नुहुन्थ्यो । हामी उहाँको पछि लाग्थ्यौं। हामी दुवै खुशीसाथउहाँको पछि लाग्थ्यौं । स्थानीय वासा हामीलाई जस्तै उहाँलाई पनि मन पर्ने पेय रहेछ । उहाँको पछि लागेर हामी त्रिचन्द्र कलेज नपुग्दै दायाँ पट्टि भित्र पस्थ्यौं । त्यहाँ नेपाल भाषाका प्रख्यात हास्य व्यङ्ग्य लेखक सूर्यबहादुर पिवाको घर रहेछ । उहाँहरू नेवारी भाषामा के के कुरा गर्नु हुन्थ्यो र एकछिन पछि पिवा दाईकी पत्नीले छोयला, कचिला र एक बोतल ‘वासा’ हाँस्दै ल्याउनु हुन्थ्यो । हामी प्रफुल्ल भएर त्यसमा रमाएर गफ गर्न लाग्थ्यौं । विजय दाई पनि प्रसन्न मुद्रामा आफूले विताएका पुराना कथा जस्ता लाग्ने घटनाहरू, लेखन गर्न लागेको उपन्यासको प्लट आदि बताउन थाल्नु हुन्थ्यो । हामीलाई थाहा भैहाल्थ्यो यो उहाँको दोहरिएको ‘प्लट’ हो। तैपनि हामी पहिलोपल्ट सुनेझैं प्रभावित भएको जस्तो तेश्रो पटक सुने पनि जिज्ञासु भावले सुनेर एकदम प्रभावित भएको नाटक गर्थ्यौं । यस्तो काममा हामी निकै पोख्त भएका थियौं। त्यस्तै सूर्य बहादुर पिवा दाई पनि नेवारी र नेपाली विविध प्रसङ्गहरू मच्ची मच्ची सुनाउन थाल्नु हुन्थ्यो । धेरै प्रसङ्ग थाहा नभए पनि हामी दिल खोलेर हास्थ्यौं । उहाँहरू दुवै प्रसन्न ।
मेरो विवाहको वेला भोजमा धेरै कवि लेखकहरूलाई निम्तो गरेर मज्जाले रक्सी र छोयला बजी खुवाउने मेरो योजना पूरा भएन । कवितारामले पनि त्यसमा रुचि देखाएन र अर्थिक संकट पनि थियो । खाली केही भोजपुरे साथीहरू र दाईका विद्यार्थीहरू पवन आलोक, नरबहादुर बुढाथोकीहरू मात्र सम्मिलित भोजकै बीचमा संकट पनि थियो। भोजकै बीचमा कताकताबाट विजय दाई हाम्रो डेरामै आउनु भयो। त्यो भोजको प्रमुख अतिथि नै उहाँ हुनुभयो । मेरो खिस्रिक्क परेको मन र मुख पनि उज्यालियो ।
त्यसबेला उहाँले ‘वासा, बजी र छोयला खाँदै ‘अनुराधा’ उपन्यासको पूरै रचना गर्भ सुनाउनु भयो। मलाई अहिले पनि त्यो अँध्यारो कोठा र वसन्तपुर दक्ष मरुसालको घाम नछिर्ने पुरानो ढल्न लागेको घरको सम्झना आइरहन्छ कैयौंपल्ट सपनामा पनि । आज भोलि कहिलेकाहीं त्यता घुम्न जाँदा त्यस्तो ठाउँमा कैयौं बर्ष कसरी विताइएछ भनेर छक्क पर्छु ।
साझा प्रकाशनको बोर्डमा चुनाव जिते पछि म पनि अलिकति सम्मानित हुन थालेको थिएँ। साझाको पुस्तक प्रदर्शनीमा २०४२ साल तिर तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठलाई भृकुटी मण्डप परिसरमा अध्यक्ष क्षेत्रप्रताप र महाप्रवन्धक कृष्णचन्द्र सिंहले आदरपूर्वक उद्‌घाटनका लागि बोलाउनु भएको थियो । त्यही सभामा एकेडेमीका तर्फबाट विजय मल्ल पनि आउनु भएको थियो । पञ्चायतको ‘२५ बसन्त’ नामक नाटक लेखेर विजय मल्ल चर्चामा हुनुहुन्थ्यो। शायद केही रकम पनि उहाँलाई प्राप्त भएको थियो जस्तो लाग्छ । उहाँहरू सबै हाँस्दै गफ गर्न लाग्नु भयो । म सबैको कुरा सुनिरहेको थिएँ । प्रधानमन्त्रीबाट ‘२५ वसन्त’ नामक नाटकको लागि बधाइ पाउने अभिलाषाले विजय दाईले पुलुक्क मरिचमान श्रेष्ठलाई हेरिरहनु भएको थियो ।
विजय दाईको अभिलाषालाई पानी खन्याउँदै प्र.म. मरिच मान सिंहले भन्नु भयो – “विजय दाई, तपाईं किन त्यस्तो काममा लागेको ? यस्तो सरकारी राजनीति गर्न त हामीलाई छोड्नुहोस् । हामी गर्छौं, तपाइँले त जीवन र जगतलाई प्रभावित पार्ने उत्कृष्ठ उत्कृष्ट कृतिहरू पो रचेर समाज र देशलाई सुम्पनु पर्छ ।”
मलाई छक्क लाग्यो। यस्तो विचारशील प्रधानमन्त्री अब पाइएला ?
धेरै के लेखौं, आज यतिमै बीट मार्छु ।

०००