धीरेन्द्र प्रेमर्षि
साहित्यमा थोरै मात्र गहिरो अभिरुचि राख्ने मानिसले पनि विद्यापतिको नाम पढेको-सुनेको हुनुपर्दछ । यिनी मैथिली कविका रूपमा विख्यात छन् । अनेकौँ शास्त्रीय ग्रन्थका रचयितासमेत रहेका चौधौँ शताब्दीका यी स्रष्टाको कवि व्यक्तित्व सबैभन्दा मुखर र प्रखर रहेको छ । विद्यापतिको कवित्वशक्तिकै कारण यिनको नामअगाडि महाकवि, कविकोकिल, कविशेखर, कविकण्ठहार, अभिनव जयदेव आदि विशेषणहरू जोडिने गरेका छन् ।
तर महाकवि विद्यापति उच्चस्तरका कथाकार पनि हुन् भन्ने थाहा पाउँदा पाठकवर्गमा अचम्म लाग्ने तथा कौतुहल जाग्ने हुन सक्दछ । कथा-साहित्यमा ‘विद्यापतिुको नाम देख्दा पाठकहरूको मनमा संशय पनि उत्पन्न होला– यी विद्यापति हामीले सुन्दै, पढ्दै वा बुझ्दै आएका विद्यापति नै हुन् त ?……… यथार्थमा संशय मान्नुपर्ने कुनै कारण छैन । संस्कृत साहित्यको सुप्रसिध्द कथाकृति पुरुष-परीक्षाका लेखक तिनै महाकवि विद्यापति (ईस्वी सन् १३६०-१४४८) हुन्, जसबाट कविताको संस्कार शुरू भएको मानिन्छ, जसको प्रभावले सिङ्गो आर्यावर्तमा भक्ति-शृङ्गारको काव्यरस प्रवाहित भयो, जसलाई कविगुरु रवीन्द्रनाथ ठाकुर (टैगोर)ले आफ्नो काव्यिक चेतनाको प्रेरणास्रोत भनेका छन् ।
संस्कृत भाषामा मात्र काव्य सृजना गरिने भारतवर्षको तत्कालीन परिपाटीमा क्रमभङ्गता ल्याउँदै विद्यापतिले जनभाषामा साहित्य लेख्ने अभियानको सूत्रपात गरेका थिए । यो उनको ठूलो क्रान्तिकारी कदम थियो। उनीद्वारा ‘देसिल बयना सबजन मिट्ठुको उद्घोषका साथ अवलम्बित जनभाषी साहित्य-सृजन परम्पराको अनुसरण गरी परवर्ती साहित्यकारहरूले आ-आफ्नो क्षेत्रमा यथेष्ट ख्याति आर्जन गरे। विद्यापतिपछिको एक-दुई शताब्दीमा गोस्वामी तुलसी दासले अवधीमास सूरदास, मीराबाईहरूले व्रजभाषामास कबीर दासले पूर्वी भाषामा तथा चार शताब्दीपछि भानुभक्तले नेपाली भाषामा काव्यरचना गरी प्रसिद्धि प्राप्त गरेको उदाहरण पाइन्छ। यो ऐतिहासिक यथार्थ हिन्दीका सुप्रसिद्ध कवि डा. हरिवंश राय बच्चनको महाकवि विद्यापतिलाई सम्बोधन गर्दै लेखिएको काव्यमा यसरी अभिव्यक्त भएको छ–
थे न कबीर, न सुर, न तुलसी
और न थी जब बाबरि मीरा
तब तुमने ही मुखरित की थी
मानव के मानस की पीड़ा
उपर्युक्त कवितांशले आमजनको कथा-व्यथा-मनोदशालाई आफ्नै भाव र भाषामा आकार अनि विस्तार दिने भारतवर्षकै सर्वप्रथम कवि विद्यापति थिए भन्ने कुरा स्पष्ट पार्दछ।
महाकवि विद्यापति मैथिलीमा लिखित आफ्ना गीतिपद्यहरूको शृङ्खला ‘पदावली’ का माध्यमबाट सुविख्यात भए तापनि उनले संस्कृत भाषामा पनि अनेकौँ महत्त्वपूर्ण ग्रन्थहरू लेखेका छन् । राजनीतिक, प्रशासनिक वा सामाजिक गतिविधिलाई व्यवस्थित रूपबाट सञ्चालन गर्न सिकाउने कृति ‘लिखनावली’ होस्, ‘मणि-मञ्जरी’ र ‘गोरक्ष-विजय’ नाटक होऊन्, ‘भूपरिक्रमा’ तथा ‘गङ्गावाक्यावली’जस्ता भौगोलिक वैशिष्ट्यलाई समेत रेखाङ्कित गरिएका यात्रा-वृत्तान्त होऊन् वा अन्य विविध धार्मिक ग्रन्थ, सबैका आआफ्ना विशिष्ट महत्त्व छन्। उनले अवहट्ठ (अपभ्रंशमा लेखेका ‘कीर्तिलता’ र ‘कीर्तिपताका’ प्रबन्ध काव्य पनि उल्लेख्य छन् । विद्यापतिको साहित्यिक वैशिष्ट्यको एक फरक पाटोलाई संस्कृतमा लेखिएका कथाहरूको कृति ‘पुरुष-परीक्षा’ ले थप उचाइ प्रदान गरेको छ। छ सय वर्षअघि लेखिएका यी कथाहरू पाश्चात्य विद्वान्हरूका बीच समेत समादृत छन्।
जस्तो कि नामबाटै प्रष्ट छ– पुरुषको गुणस्तर रेखाङ्कित गर्ने वा पुरुषलाई चिनाउने कथाहरूको सँगालो हो– ‘पुरुष-परीक्षा’। यसमा पुरुषत्व र पुरुषार्थका विविध आयामहरूको अवलोकन तथा अन्वेषणका माध्यमबाट उत्तम पुरुषलाई उजिल्याउने उपक्रम गरिएको छ। नाम ‘पुरुष-परीक्षा’ भएकाले पुरुषको मात्र परीक्षण होलाजस्तो लागे तापनि यस कृतिमा रहेका सामग्रीहरूले विविध कोणबाट समग्र मानवतालाई नै पर्गेल्ने काम गरेको छ। यस्तो महत्त्वपूर्ण कार्यलाई रोचक कथाहरूको आवरणमा प्रस्तुत गरिएकाले यो अझ बढी महत्त्वपूर्ण हुन गएको छ।
‘पुरुष-परीक्षा’ मा विभिन्न भाव-भूमिका ४४ वटा नीतिकथाहरू समाविष्ट छन्। यी कथाहरूलाई वीरता, बुद्धिमत्ता, विद्वता र पुरुषार्थका कथा गरी चार खण्डमा वर्गीकरण गरिएका छन्। इतिहास, मानवशास्त्र, समाजशास्त्र र राजनीतिशास्त्रका साथै दर्शन र साहित्यका अध्येताहरूका निमित्त पनि यो निकै उपयोगी कृति मानिएको छ। मनोरञ्जनका साथै नीति, कला, उद्योग, दण्ड, शिक्षा, लोकव्यवहार आदि विविध विषय समेटिएका यी कथाहरूमा कतिपय बाह्रौँदेखि चौधौँ शताब्दीसम्मका सन्दर्भहरू छन् भने त्यसपूर्वका ऐतिहासिक पात्र र घटनाहरूका आधारमा पनि कथाहरू लेखिएका छन्। प्रस्तुतिको शैली रोचक हुनुका साथै इङ्गित गरिएका बिन्दु, उपचार र निष्कर्ष आजको समयमा समेत सान्दर्भिक देखिएकाले यी कथाहरूलाई निर्धक्क भई युगान्तकारी र कालजयी भन्न सकिने मेरो धराणा रहेको छ।
कथाकारले कथानकलाई गद्यमा अगाडि बढाएका छन्। तर खास-खास कथ्य भने विभिन्न सूक्ति तथा काव्यांशहरूको मद्दतबाट प्रष्ट पार्ने र प्रभावशाली बनाउने काम गरेका छन्। पद्यमय स्वरूपमा रहेका ती सूक्ति तथा काव्यांशहरूलाई यस अनुवादमा गद्य रूपमै प्रस्तुत गरिएको छ। कतिपय पद्य भने गद्यमै मिसिएर कथा-प्रवाहको हिस्सा बन्न पुगेका छन्।
यस सङ्ग्रहभित्र अधिकांश कथाहरू सहज मानवीय भाव र चरित्रका छन्। यिनमा देखिएजस्ता पात्र र प्रवृत्तिहरू अहिले पनि समाजमा पाउन सकिन्छन्। केही कथा भने तन्त्र-मन्त्र, भूत-प्रेत, मान्यता-विश्वासहरूमा आधारित अलौकिक प्रकृतिका पनि छन्। तर सबैले मानवीयताका लागि हुने पौरुष र पराक्रमका पक्षमा आफूलाई उभ्याएका छन्। कथाका पात्र तथा चरित्रहरू अहिले भइरहेका मानिसजस्तै हुनुपर्छ भन्ने धारणा राख्ने पाठकहरूलाई भने पहिलो कथाले नै निराश पार्न सक्छ। किनकि यसमा राजा बलाहले आफ्नो तपोबलबाट देवीलाई रिझाएर दैनिक रूपमा एउटा स्वर्णकुटी वा सुनको घर प्राप्त गर्ने गरेको उल्लेख छ। सामान्य मानिसका सन्दर्भबाट अझ टाढाको विषय हुन जान्छ– यस प्राप्तिका लागि राजाले दिनहुँ आफ्नो शरीर नै उम्लिरहेको तेलमा ओइरिनु। देवी उनको मासु खाएर तृप्त भएपछि उनलाई जीवनदान दिँदै उनको आँगनमा सधैँझैँ सुनको घर तयार रहने वरदान दिन्छिन्। राजा बलाहले त्यस स्वर्णकुटीबाट सुनका टुक्रा काटी-काटी याचक तथा प्रजाहरूमा बाँडिसिध्याउँछन् र भोलिपल्ट पुन: त्यस्तै कष्टपूर्ण वलिदान दिन देवीसामु उपस्थित हुन्छन्। यसबाट कथाले प्रजाका लागि राजाको समर्पण देखाएर ‘दानवीरको कथा’ शीर्षकलाई सार्थक तुल्याउँछ। तर दानवीरहरूमा पनि महादानवीर राजा विक्रमादित्य हुन् भन्ने कुरालाई जसरी कथामा दर्शाउने प्रयास गरिएको छ त्यसले कथालाई थप उँचाइ प्रदान गर्दछ। राजा बलाहको दानवीरता परीक्षण गर्न गएका विक्रमादित्यले उनको त्याग, वलिदान र दानबारे परीक्षण गरेर सत्य थाहा पाएपछि राजा बलाहले दिनहुँ आत्मवलिदान दिन नपरोस् भन्ने वर माग्छन्। यसरी एउटा उच्चकोटीका दानवीरको प्रजावत्सलतालाई सहजीकरण गर्ने दानी झन् उत्तम पुरुष भएको कुरा पनि कथाले प्रष्ट्याएको छ।
वीरताका कथाहरूमा दानवीर विक्रमादित्यका साथै युद्धवीर कर्णाट राजकुमार मल्लदेव, दयावीर रणथम्भौरका राजा हम्मीर देव तथा सत्यवीर चौहान वंशका राजा चाचिक देवको कथा प्रस्तुत गरिएका छन्। बुद्धिमत्ताका कथाअन्तर्गत विशाख, कोकपण्डित तथा मिथिलाका कर्णाटवंशीय राजा हरिसिंह देवका मन्त्री गणेश्वर ठाकुरका कथाहरू समाविष्ट छन्। विद्वताका कथाअन्तर्गत शस्त्रविद्यामा निपुण धनुर्धर सिङ्घल, शास्त्रविद्य वाराहमिहिर, आयुर्वेदाचार्य हरिश्चन्द्र एवं मिमांसक शबरस्वामीका प्रसङ्ग समाविष्ट छन्। धर्म, अर्थ, काम एवं मोक्षजस्ता पुरुषार्थसम्बन्धी कथाहरूको शृङ्खलामा श्रीकण्ठ नामक ब्राह्मण, बोधि नामक कायस्थ तथा राजकुमार रत्नाङ्गदका कथा धर्मकथा रूपमा समाविष्ट छन् भने अर्थकथाहरूमा न्यायद्वारा आर्जित धनको दान एवं उपभोगमा खर्च गर्ने धनी व्यक्तिका साथै धनको भोकले ग्रस्त एउटा मालीको कथा वर्णित छ। त्यसैगरी राजा शूद्रकको कथा, गौड नरेश लक्ष्मण सेनको कथा, महाराज विक्रमादित्यको कथा, शशि नामक धूर्तको कथा, महाराज जयचन्दको कथा आदि काम कथाअन्तर्गत समाविष्ट छन् भने मोक्ष कथाअन्तर्गत राजा भर्तृहरिको कथा, विवेक शर्माको कथा तथा कृष्ण चैतन्यको कथा प्रस्तुत गरिएका छन्। दुई-चारवटा कथामा ईश्वरीय शक्ति, वरदान, अलौकिक सामर्थ्यजस्ता कुरा समाविष्ट भए तापनि बाँकी कथाहरू यस्ता छन् जसलाई आजकै सन्दर्भमा हेर्दा पनि ती सहज र स्वाभाविक लाग्छन्। आदर्श, नैतिकता, मानवीयताको पक्षपोषण गर्दागर्दै पनि यथार्थवादी दृष्टिकोणका साथ प्रस्तुत अब्बल कथाहरूले लेखकको उच्चस्तरीय रचनाशीलताको सुन्दर दिग्दर्शन गराउँदछन्।
यस कथाग्रन्थको रचना मिथिलाका महाराजा शिवसिंहको निर्देशनमा गरिएको कुरा विद्यापतिले आफ्नो मन्तव्यमा लेखेका छन्। यस आधारमा ‘पुरुष-परीक्षा’को रचना ईस्वी सन् १४१२ देखि १४१६ को बीचमा भएको हुनुपर्दछ। किनकि शिवसिंह विद्यापतिको बालसखा भए तापनि उनको राज्यकाल भने उल्लिखित ४ वर्षकै थियो। आचार्य विष्णु शर्माको ‘पञ्चतन्त्र’ (ईस्वी सन् ६००) र नारायण पण्डितको ‘हितोपदेश’ (ईस्वी सन् १२००)पछि विद्यापतिकृत ‘पुरुष-परीक्षा’लाई संस्कृत कथा-साहित्यको तेस्रो अमूल्य निधिका रूपमा लिने गरिएको छ। यसै वैशिष्ट्यले गर्दा ‘पुरुष-परीक्षा’को थरीथरीका विद्वानबाट विभिन्न भाषामा अनेकौँ अनुवाद भएका छन्।
कथाग्रन्थ ‘पुरुष-परीक्षा’को अनुवाद सर्वप्रथम ईस्वी सन् १८१५मा हरप्रसाद रायले बाङ्ला भाषामा गरेको देखिन्छ। त्यसको १५ वर्षपछि १९३०मा राजा कालीकृष्ण बहादुरले यसलाई अङ्ग्रेजीमा अनुवाद गरे। मैथिली भाषामा भने मिथिला भाषा रामायणका रचयिता कवीश्वर चन्दा झाले ईस्वी सन् १८८५मा यसको अनुवाद गरे। प्रसिद्ध भाषाविद् जर्ज अब्राहम ग्रियर्सनले अङ्ग्रेजीमा अनुवाद गरी सारगर्भित भूमिकाका साथ ईस्वी सन् १९३५मा प्रकाशन गराए। त्यसअघि र पछिका कालखण्डमा यस ग्रन्थको विभिन्न भाषामा अनेकौँ अनुवाद भएको पाइन्छ। भारतमा अङ्ग्रेज शासनका बखत इण्डियन सिभिल सर्भिसेजको पाठ्यक्रममा ‘पुरुष-परीक्षा’लाई पाठ्यपुस्तकको रूपमा समावेश गरिएबाट पनि यसको महत्त्वबारे सहजै अनुमान लगाउन सकिन्छ।
‘पुरुष-परीक्षा’मा कथाको तानाबाना सुबुद्धि नामक ऋषि र पारावार नामक राजाको वार्तालापका आधारमा बुनिएको छ। राजाले आफ्नी छोरीका लागि उपयुक्त वरको खोजी गर्ने क्रममा ऋषिसँग सल्लाह मागेपछि उनले ‘पुरुष’सँग राजकुमारीको विवाह गरिदिन भन्छन्। यस्तो सुनेर आश्चर्यमा परेका राजालाई आफ्नो कुराको आशय बुझाउँदै ऋषिले वीरता, बुद्धिमत्ता, विद्वता र पुरुषार्थले युक्त व्यक्ति नै पुरुष भएको र यसबाहेकका व्यक्ति भनेका मानिसको रूपमा पुच्छरविनाका पशु हुन् भन्ने कुरा बताउँछन्। यस्ता सुपुरुषको पहिचान गराउनका निमित्त ऋषिले यस युगका विभिन्न पुरुषहरूबारे कथात्मक शैलीमा बेलीविस्तार लाउँछन्। त्यसकै समष्टि हो कथासङ्ग्रह ‘पुरुष-परीक्षा’। मूल ग्रन्थमा एउटै संवाद-मालामा सम्पूर्ण कथा उनिएका छन्। जस्तो कि हरेक कथाको अन्त्यमा इति …… कथा उल्लेख गरी ‘अब सुन्नुस् फलानो कथा’ भनेर लेखिएको छ। यसैगरी एकथरी सकारात्मक कथाहरूपछि ‘अब यसका विपरीत कथाहरू’ भनेर कक्रमलाई अगाडि बढाइएको छ।
मेरा लागि निकै यस्तो महनीय कृतिलाई नेपाली भाषामा अनुवाद तथा सम्पादन गरेर प्रस्तुत गर्न पाउनु गौरवको विषय भएको छ। अनुवाद स्वयममा जटिल एवम् दुरूह कार्य हो। यस कार्यअन्तर्गत कुनै एक भाषामा भनिसकिएको कुरालाई अर्को भाषामा त्यसको सहज र निकटतम समानार्थी शब्दहरूबाट अभिव्यक्ति दिनुपर्ने हुन्छ। मूल भाषामा रहेको विषयलाई अर्थ र भावका साथै शैलीगत रूपमा समेत सुस्वादु बनाएर पस्किन सक्नु अनुवादको चुनौती हो। विगतमा मैले यस्तो चुनौती लिएर केही कृतिहरू अनुवाद गर्ने सौभाग्य पाएको छु। मेरा अनुवाद-कर्महरू प्राय: नेपाली र मैथिली भाषाका बीचमा केन्द्रित छन्। केही अंशमा हिन्दी, भोजपुरी, अवधी भाषाका रचनाहरू पनि अनुवाद गरेको छु। यसअघि मैले गरेका अनुवादहरू मूल भाषाबाट सीधै लक्ष्य भाषामा आएकाले अपेक्षाकृत सहज थिए, तर ‘पुरुष-परीक्षा’ का रूपमा अहिले स्वीकारेको चुनौतीको निर्वहन गर्न भने मलाई निकै गाह्रो भयो। यो मूल रूपले संस्कृतमा लेखिएको कृति हो। कथाहरू पनि शताब्दियौँअघिका। संस्कृतमा मेरो ज्ञान अत्यल्प भएको हुँदा सोझै संस्कृतबाट नेपालीमा अनुवाद गर्नु मबाट सम्भव थिएन। यसका लागि मैले यसका मैथिली, हिन्दी र अङ्ग्रेजीमा अनूदित संस्करणहरूको सहारा लिनुपर्यो।
‘पुरुष-परीक्षा’को यस नेपाली संस्करणका लागि मैले कवीश्वर चन्दा झाको मैथिली अनुवाद, पं.चन्द्रकान्त पाठकको हिन्दी अनुवाद र जर्ज ग्रियर्सनको अङ्ग्रेजी अनुवादलाई मुख्य स्रोतका रूपमा उपयोग गरेको छु। अनुवादहरूमा कथाक्रम तल-माथि परेका, मुख्य सामग्रीमा एकरूपताको अभाव भएको तथा कुनै एउटा संस्करणमा भएको प्रसङ्ग अर्कोमा अनुपस्थित पाइएकोजस्ता अवस्थाले गर्दा यसमा ‘पुरुष-परीक्षा’को सम्यक र समन्वित स्वरूप खडा गर्न सम्पादकका हैसियतमा मैले झिँझोपना, जटिलता र कडा परिश्रमबाट गुज्रनुपर्यो। तर ती यावत् कुराहरूको योगबाट पुस्तकले आकार लिएकोमा भने मनमा आनन्दको अनुपम सञ्चार भएको अनुभूत गरेको छु। जे-जसो भए तापनि मैले आफ्नो सीमित ज्ञानको पूँजी लगाएर विस्तृत कार्य-व्यापार आयोजित गर्न सकेकोमा मलाई खुशी लागेको छ। आफ्नो इमान्दार प्रयास नै यसमा मेरो मुख्य सम्बल रहेको छ।
भनिन्छ– अनुवाद भनेको एउटा सिसीको अत्तर अर्कोमा खन्याउने उद्यम हो। प्रष्ट छ– यस उद्यमशीलतामा जति जतन गरे पनि केही न केही सुगन्ध त उडेर, चुहिएर जान्छ-जान्छ। ‘पुरुष-परीक्षा’को यो नेपाली संस्करण त झन् अनेकौँ सिसीहरूबाट गुज्रँदै यहाँसम्म आइपुगेको छ। यो अत्तरको भाषान्तर यात्रामा यसका कतिपय सुगन्धात्मक अवयवहरू पक्कै पनि चुहिएर गएका होलान्। यति हुँदाहुँदै पनि यदि यस कृतिले नेपाली साहित्य-अनुरागीहरूलाई केही आनन्द र तुष्टि प्रदान गर्न सक्यो भने त्यो महाकवि विद्यापतिको सृजन-सौष्ठवकै प्रसाद हुनेछ।
अध्ययन, अनुवाद र सम्पादनको क्रममा म ‘पुरुष-परीक्षा’को व्यापकता र विशिष्टताबाट घनीभूत रूपमा प्रभावित हुँदै गएँ। मलाई यसको विराट स्वरूपको दर्शन भयो। यस विराट कृतिको अनुवादमा म अकिञ्चन थुप्रै ठाउँमा चुके हुँला, चिप्ले हुँला। तर पनि ‘पुरुष-परीक्षा’जस्तो महत्त्वपूर्ण ग्रन्थ पहिलोपटक नेपाली भाषामा आउनु एउटा ऐतिहासिक कार्य हो भन्ने मेरो बुझाइ छ। यस कार्यको हिस्सा बन्न पाएकोमा म आह्लादित र गौरवान्वित छु। नेपाली कथा-पारखीहरूले यस ग्रन्थबाट पक्कै पनि विशेष आनन्द प्राप्त गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।
०००
लेखक परिचयः साहित्यकार धीरेन्द्र प्रेमर्षि साहित्यको क्षेत्रमा मूलतः कवि तथा अनुवादक हुन् । उनी सिरहा जिल्लाको गोविन्दपुर-वस्तीपुरमा जन्मेका हुन् । उनी पहिलो प्रकाशित रचना कथा थियो “शृङ्खला टुट्दा” जसको प्रकाशनसँगै उनको प्रकाशन यात्रा प्रारम्भ भयो । उनका मैथिली गित सङ्ग्रह “कोन सुर सजाबी(विसं २०६१) तथा नेपाली गजल सङग्रह समयलाई सलाम (विसं २०६६) तथा पाठ्यक्रममा निकै पुस्तकहरु सामेल छन् र उनले प्रसस्त अनुवाद समेत गरेका छन् । हालै उनको अनुवादमा महाकवि विद्यापतिको कथा सङ्ग्रह “पुरुष-परीक्षा” प्रकाशित भएको छ । उनी हाल काठमाडौं बस्छन् ।