स्मृतिमा बाँचिरहेका विजय दाइ
तेजप्रकाश श्रेष्ठ, काठमाडौं
-
‘कुन गीत हो तिमीले गायौ अविरल
खोँच खोँचबाट झरी प्रतिफल
भनन भन है पुलकित सुन्दरीजल ।’
(वि.सं २०००)
म जन्मनुभन्दा दुई वर्षअघि नै विजय दाइद्वारा रचिएका सुन्दरीजल कविताले मलाई कुत्कुत्याएकै हो । पाठ्यपुस्तकमा पढेका कविशिरोमणि लेखनाथ पौड्यालको ‘पिंजडाको सुगा’ र महाकवि देवकोटाको ‘यात्री’ कविता आदिले मलाई आकर्षित गरेकै हो सात आठ कक्षामा पढ्दाखेरि नै । पछि उहाँहरूका अन्य कविताहरूले पनि मलाई प्रेरित गरिरहन्थे ।
लाग्थ्यो, यस्तै सुन्दर कविता मैले कहिले लेख्न सकूँला !
समय निरन्तर बगिरह्यो । समयका छालहरू आए गए । विजय दाइको सङ्गत पनि जु-यो । उहाँद्वारा लिखित कविता, कथा, नाटक, उपन्यासहरू पढ्ने अवसर पनि पाएँ । कविताभन्दा पनि कथा कथ्न अझ मलाई रहर चल्न थाल्यो । अनुकरण नै त हो अग्रजहरूको ।
“तेज ! लेख्ने गर । तिम्रो लेखन राम्रो छ ।”
अहिले पनि बेला बेलामा सम्झिने गर्छु विजय दाइको त्यो न्यानो घच्घच्याई, त्यो मायालु उत्प्रेरणाका खुराक !
म उहाँमा आफ्नै जेठो दाइ कृष्णप्रकाशको सादृश्य भेट्ने गर्थेँ, जो त्यतिबेला हामीभन्दा सुदूर पश्चिमी मुलुक सोभियत संघ रुसमा साहित्य साधनामा लिप्त हुनुहुन्थ्यो । उहाँ पनि त मलाई पढ्ने र लेख्ने उत्प्रेरणा दिइरहनु हुन्थ्यो टाढै रहेर पनि । मित्रतामा गाँसिएका दुई दाजुहरूसमेतको प्रेरणा र प्रोत्साहनबाटै मेरो लेखनीले फुल्ने जमर्को गर्दोछ । तर अहिले उहाँहरू दुवै दाइहरूको अभावले चिमोटिरहन्छ मलाई ।
“ए शत्रु, पहिले मार धर्तीलाई, अनि मलाई मार्न सक्छौं ।” (मेरो हँस) भनी हाँक दिने विजय दाइ २०५६ सालमा अनन्तत्रायामा विलिन भइसक्नु भएको छ भने कृष्ण दाइ २०७७ सालमा अस्ताउनुभयो ।
स्मृतिमा सल्बलाइरहने यी अग्रजहरूमध्ये यतिखेर विजय दाइलाई ताजा स्मृतिमा समेट्न म लालायित बनिरहेछु ।, किनभने साहित्य जगतमा उहाँको जन्मशताब्दी यही वर्ष (२०८२) मा मुस्कुराउँदै छ ।
विजय दाइ अर्थात् विशिष्ट साहित्यकार विजय मल्ल उर्फ विजयबहादुर मल्ल वि.सं १९८२ मा यस धर्तीमा पदार्पण गरी ७४ वर्षसम्म रजधज गर्दागर्दै (२०५६साउन ८) निष्ठुर कालले उडाएर लग्दा रन्थनिएको छु म !
अकस्मात बिछोडिएका विजय दाइ एक मूर्धन्य साहित्यकार एवं अग्रज भएर मात्रै मेरा श्रद्धेय हुनुहुन्न, मेरा आत्मीय दाइ पनि हुनुहुन्छ । उहाँ मेरा जेठा दाइ कृष्णप्रकाशका अभिन्न मित्र हुनुहुन्थ्यो । त्यसमा पनि मेरो साहित्यक प्रेरणा श्रोतमध्येका एक हुनुहुन्थ्यो ।
विजय दाइका प्रत्येक कथा र कविताले मलाई चिमोटेको छ, प्रत्येक नाटक र एकाङ्कीले सचेत तुल्याएको छ । ‘अनुराधा’ र ‘कुमारी शोभा’जस्ता उपन्यासले मलाई उपन्यासतर्फ आकृष्ट गराएको छ । र त, म पनि साहित्य लेखनमा अग्रसर बनिरहेको छु ।
म केटाकेटी छँदा नै विजय दाइ कृष्ण दाइको मित्र हुनुहुन्थ्यो र त्यति बेलैदेखि उहाँसँग मेरो निकटता रहेको हो, रमरम सम्झना आउँछ । तर, खासमा मास्कोबाट प्राप्त कृष्ण दाइको चिठी पु-याउन जाँदा उहाँसँग पहिलोपटक २०२३।२४ सालतिर उहाँकै घरमा साक्षात्कार भएको सम्झना छ ।
त्यतिबेला नेपालमा टेलिफोन त्यति चल्तीमा थिएन । अपर्झट पर्दा आकाशवाणी (वायरलेस) बाट सम्पर्क गर्नुपर्थ्यो । मोबाइल, इन्टरनेट भनेको त कता हो कता । सञ्चार प्रणालीको विकाश भइसकेको थिएन । सजिलो सम्पर्क सूत्र चिठ्ठीपत्र हुन्थ्यो । त्यो पनि यहाँबाट मास्को र मास्कोबाट यहाँ चिठ्ठी आउजाउ गर्न पनि महिनौँ लाग्थ्यो । बेला बेलामा चिठ्ठीपत्र हराउने पनि गर्थ्यो । त्यसैले त्यता जानेआउने मानिसको हातमा चिठी पठाउँदा हराउने डर पनि हुन्नथ्यो ।
कृष्ण दाइ मास्को जानुभएपछि उहाँले एउटै खाममा खामेर साथीहरूको चिठ्ठी पनि हामीलाई नै पठाउनु हुन्थ्यो र पुराइ दिन अह्राउनु पनि हुन्थ्यो । दाइका साथीहरूकहाँ चिठी पु-याउन जान मलाई पनि रमाइलै लाग्थ्यो । प्रायः उहाँका साथीहरू साहित्यकार नै हुनुहुन्थ्यो । त्यसैले पनि म अझ उत्साहित हुन्थेँ । सायद उहाँ साहित्यकारहरूसँग मेरो सम्पर्क होस् भन्ने चाहनुहुन्थ्यो ।
कृष्ण दाइको सदीक्षाकै कारण मैले कविकेशरी चित्तधर हृदय, युग कवि सिद्धिचरण श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ, कविवर बैकुण्ठप्रसाद लाकौल, बालसाहित्यकार शान्तदास मानन्धर, हरिबहादुर मानन्धर, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, इन्द्र माली आदि आदि थुप्रै मूर्धन्य साहित्यकारसँग उठबस गर्ने मौका पाएँ । यसैक्रममा विजय दाइसँगको उठबस पनि सार्थक नै रह्यो ।
त्यतिबेला विजय दाइ पाकोकै घरमा बस्नुहुन्थ्यो । गणबहालको घर बनिसकेको थिएन । त्यही घरमा विजय दाइको न्यानो माया समेट्न पाएको हुँ ।
एकपटक दाइको चिठ्ठी पु-याउन जाँदा विजय दाइले अँगालो मार्दै भन्नुभयो, “हिँड बाहिर घुम्न जाऔं । म तिमीलाई एक ठाउँमा लैजान्छु ।” म उहाँको पछि लागेँ । बाटोमा मलाई अँगालो मार्दै गफ गर्दै अगाडि बढ्नु भयो । उहाँ प्रायः सहयात्रीको पाखुरा समाएर वा अँगालो मारेर हिँडेको देखेको छु । सायद उहाँको रुचि वा स्वभाव थियो त्यो ।
उहाँ गल्ली गल्छेडा छिचोल्दै एउटा पुरानो घरको दैलोसामु उभिन पुग्नुभयो । गल्लीभित्रको सानो चोकको त्यस घरको ढोका अलि होचो होचो थियो पुरानो नेवार शैलीका । मुन्टो उठाएर हेरेँ, एकपछि अर्कोमा जोडिएको घर इँटाको गाह्रो, ससाना झ्याल, त्यो झ्याल भएको कम्तिमा तीनचार तले थियो ।
“लौ आऊ !” भन्दै उहाँ निहुँरिँदै ढोकाबाट छिर्नुभयो । म पनि छिर्न खोजेँ, भित्र अँध्यारो थियो । उहाँ ढोकाकै छेउमा रहेको काठको ठाडो भरेङ ‘विन्हा बि’ (छोड है छोड) भन्दै उक्लिन थाल्नुभयो । (सायद घरबेटीलाई आफू आएको सूचना दिनु थियो वा भरेङ चढ्दा ननाघोस् भन्ने अभिप्राय थियो । लाग्छ, यस्ता नेवार संस्कारले बचाएको छ नेवार संस्कृति)।
म पनि भरेङ उक्लिनँ थाले छामछाम छुमछुम गर्दै । छिँडीबाट मटान पुग्यौँ, मटानबाट चोटा, चोटाबाट दुई भरेङ उक्लिएर बुइँगल पुग्यौँ । बुइँगलमा धुर्मैलो उज्यालोमा धुवाँ मडारिरहेकोले झ्वाट्ट केही ठम्याउन सकिनँ ।
“झासँ झासँ काजी ! यक्व दत निः !” (आउनुनोस् आउनोस् काजी ! धेरै भयो नि !) भन्ने आवाज सुनेँ ।
“म्हः फुला तताजु ?”(सन्चै हुनुहुन्छ भाउजु ?) विजय दाइले भन्नुभयो । यस्तै अन्य प्रश्न उत्तर भए । नमस्ते ! नमस्ते ! भनेको पनि सुनेँ ।
भरेङको छेवैमा जुत्ता फुकालेर त्यहाँ ओछ्याएको भ्वय्सुकु (परालको लामो सुकुल) माथि ओछ्याइएको कपडाको चकटीमा गएर विजय दाइ बस्नुभयो र मलाई पनि बस्न भन्नुभयो ।
बस्दाबस्दै बुइँगल कोठा उज्यालिन थाल्यो । आफ्नै सामुन्ने अर्कोपट्टि अरु तीन चार जना भलादमीहरू पलेटी कसेर केही खाइरहेका र पिइरहेका देखेँ । अलि कुनातिर चुल्होमा हाकुपटासी लगाएकी एक महिला के के पकाउँदै गरेको देखेँ ।
“भाउजु ! के खान दिनुहुन्छ आज ?” नेवारभाषामै विजय दाइले सोध्नुभयो र आफू सामु भएका भलादमीहरूसँग गफिनु भयो । म उहाँहरूको कुराकानी बुझे पनि नबुझे पनि सुनिरहेँ । त्यतिबेला मलाई नेवारबोली त्यति आउँदैनथ्यो, सिक्दै थिएँ ।
एकै छिनपछि हाम्रो अगाडि अर्की महिलाले खेँबारा (अण्डासहितको मासको बारा), लाःचटामह्री (मासुको किमासहितको चटामह्री), छ्वेला (साँधेको मासु) आदि परिकार पस्किन् र खोला (सानो कचौरा) पनि राखिन् । त्यस खोलामा कलात्मक अन्तिबाट ऐला झार्न थालिन् । म हेरिरहेँ ।
मेरो सामुको खोलामा पनि ऐला राख्न खोज्दा मैले नाइँ भने । त्यतिबेलासम्म मैले ऐला खाने गरेको थिइनँ । विजय दाइले पनि कर गर्नु भएन । अनि बल्ल बुझेँ, त्यो त येँदेय् (काठमाडौँ शहर)को परम्परित भट्टीपसल रहेछ । यस सहरमा गल्ली गल्लीमा यस्ता भट्टीहरू हुँदारहेछन् । गोप्य भट्टी भने पनि हुने ! जो कोहीले पत्ता लगाउनै सक्दा रहेनछन् । विजयदाइसँग म पछि पनि एक दुईपल्ट त्यस्ता भट्टीमा पुगेको छु, तर दाइले ऐला खान मलाई कहिल्यै भन्नुभएन ।
मलाई लाग्यो यस्तै स्थानहरूमा त पाउँदा हुन् साहित्यकारहरूले कथा कविताका विषयवस्तुहरू । थरी थरीका मानिससँग सङ्गत पनि हुँदोरहेछ । भिन्न भिन्न मनस्थिति पनि अनुभूत गर्न पाइँदोरहेछ । विजय दाइका कथा, कविता, नाटकहरूमा यस्ता सामाजिक परिवेश छचल्किएका पनि पाइन्छ्न् ।
‘पत्थरको कथा’, ‘दोभान’, ‘भित्तेघडी’, ‘स्मृतिको पर्खालभित्र’, ‘भूलैभूलको यथार्थ’, ‘बौलाहाकाजीको सपना’, ‘कोही किन बर्बाद होस्’जस्ता नाटक, एकाङ्की; ‘अनुराधा’, ‘कुमारी शोभा’, ‘एक बाटो अनेक मोड’, ‘परिवा र कैदी’जस्ता उपन्यास र कथा सङ्ग्रहहरू कहाँ त्यसै लेखिएका होलान् र ! सामाजिक परिवेश, मनोवैज्ञानिक उथलपुथल, राजनैतिक विडम्बनाको अनुभूतिबाट त उब्जेका हुन् ।
विजय दाइको परिवारिक परिवेश नै साहित्यिक रहेको थियो । उहाँका बुबा सुब्बा ऋद्धिबहादुर मल्ल स्वयं साहित्यकार एवं पत्रकार हुनुहुन्थ्यो । ‘शारदा’ पत्रिकाका संस्थापक प्रधान सम्पादक रहनुभएका ऋद्धिबहादुर मल्लका छोराहरूमध्ये गोविन्दबहादुर मल्ल ‘गोठाले’ र विजय मल्ल बाबुकै बिँडो थाम्न पुगेका मात्र हुनुहुन्न गतिशील पनि हुनुहुन्छ ।
एकपटक विजय दाइले मलाई ओमबहालको नजिकै रहेको जोरगणेश टोलमा सञ्चालित जोरगणेश छापाखानामा पनि डोराउँदै लानुभएको थियो, जहाँ शारदा पत्रिका जस्ता महत्तम पत्रिकाहरू र कालजयी पुस्तकहरूको छपाइ हुनेगर्थ्यो । मैले छापाखाना प्रत्यक्ष देखेको त्यही हो ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य, सदस्य सचिव र उपकुलपतिसमेतको पदीय दायित्व वहन गरिसक्नुभएका विजय दाइ मूलतः मुर्धन्य नाटककार भएपनि कथामा पनि उहाँ सशक्त हुनुहुन्थ्यो । उहाँ कविता र उपन्यासमा पनि त्यत्तिकै सिद्धहस्त हुनुहुन्छ । उहाँका रचनामा समय चेतना मुखरित हुनुका साथै पदावलीको कमनीयता, शिल्पको विलक्षणता र सङ्गीतको प्रचुरताभन्दा सामाजिक मानवीय भावको प्रखरता देखापर्छ ।
‘कोही किन बर्बाद होस्’ भन्ने नाटकले मनोवैज्ञानिक विश्लेषणका साथ बालबालिकाका मनोग्रन्थीलाई माया र स्नेहले सुम्सुम्याउन सकेमा बालकको भविष्य उज्वल बन्नसक्छ भन्ने सन्देश दिन संक्षम छ । बालबालिकाका लागि केही लेख्न र दिन खोज्ने मेरो सर्जक मनलाई विजय दाइको बालबालिकाप्रतिको सचेतता ज्यादै मिठो लाग्छ, ज्यादै मायालु लाग्छ ।
विश्ववन्धुत्वको परिकल्पनामा रमाउन चाहने विजय दाइ राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय साहित्यमा समेत अग्रसर देखिनुहुन्छ । ‘छोरीलाई मानचित्र पढाउँदा’ पद्यात्मक कवितामा युद्धबिहीन र स्नेहशील मानवताको कल्पनामा विश्व परिवारको सपना देख्नु चानचुने कुरा हैन । साथै ‘कुमारी शोभा’ उपन्यासमा अन्धविश्वासलाई तोड्न प्रयास गरेको छ । यस्तै उनका अधिकांश कथा, नाटक, एकाङ्की, उपन्यासहरूले समाजलाई जागरुक र सचेत गराउन प्रयासशील पाइरहेछु म । अनि त, विजय दाइका अधिकांश रचनामा रमाउन पुग्छु, हराउनपुग्छु र समयसापेक्ष भावनामा रुझ्न पुग्छु ।
अहिले सम्झिरहेछु उहाँको मृत्यु समाचारले मलाई रन्थन्याएको क्षण ! समाचार सुनिरहँदा मलाई छट्पटी बढिरहन्छ । हिजो मात्र त हो उहाँलाई वेदनिधि पुरस्कार दिने घोषणा भएको ! कति खुसी लागेको थियो । आफैले पुरस्कार पाएँजस्तो लागेको । साहित्यक योगदानका लागि अवश्य यस्ता पुरस्कारहरू पाउनु नै पर्थ्यो । तर नमिठो समाचारले मन बिथोलिन्छ । मधुमेहको रोगले उहाँलाई हामीबाट चुँडेर लगेछ । आँसु र हाँसो किन मिसिनुपरेको होला । उदेक लाग्छ ।
अहिले उहाँले हामीलाई छोडेर गएको पनि पच्चीस वर्ष बितिसकेछ । समय बित्नु कतिबेर लाग्दोरहेछ र ! बाँचिरहनु भएको भए एक शताब्दीको शुभ जन्मोत्सव मनाइन्थ्यो, तर दुर्भाग्य शतवार्षिकी मनाउने तर्खरमा छौँ ।
श्रद्धा सुमन ! विजय दाइ !
०००
