प्रकाश (लघुकथा )

लघुकथा

युवराज मैनाली, काठमाडौं

शिशिरको निष्पट्ट निशालाई तुषारोको प्रेमपूर्वक आलिङ्गन गरिरहेको थियो । त्यो निशामाथि विजय प्राप्त गर्न प्रत्येक शयन कक्षबाट एक निलवर्णको अद्भुत प्रकाश प्रकाशित भइरहेको थियो । दीपकबाट उत्पन्न ज्योति जस्तो देखिने त्यो प्रकाशमा न ऊष्मा थियो, न जीवन नै । तर प्रत्येक तह र तप्काका हृदयहरु र त्यो निलो प्रकाशको सम्बन्ध शक्तिशाली चुम्बक र लौहको जस्तै अदृश्य र मजबुत थियो ।
धरामा उषाले निशाउपर विजय प्राप्त गरिसक्दा प्राकृतको निशाको गणना भने प्रारम्भ हुन्थ्यो । मध्यान्नको क्षणमा प्रभातका साथमा उदाउने कृत्रिम प्रकाशको मोहमा डुब्ने प्राकृतले आफ्नो प्रख्यातिको अनुभूति साझा चौतारीमा जनाइएका प्रतिक्रियाहरूको गणितबाट गर्दथ्यो । आमाले भोजनका लागि गरेको आव्हान श्रुति पटलसम्म त पुग्दथ्यो तर उसको चेतना चाहिँ उक्त चौतारीमा भएको आफ्नो प्रख्याति अन्यसँग तुलना गर्नमा व्यस्त हुन्थ्यो । एकदिन देहले बिछ्यौनाको त्याग नगर्दै प्राकृतको आत्मीय मित्रको परलोकगमनको सूचना चौतारीमा कसैले टाँसिदियो । शोकाकुल प्राकृतले त्यसै सूचनाको पुछारमा औपचारिकतायुक्त “हार्दिक समवेदना” लेखिदियो । तत्कालै “यौन सुखका लागि यार्सागुम्बा” भन्ने विज्ञापनले उसको भाव विह्वल हृदयको अपहरण गर्यो ।
समयको नियति भोग गरिसकेपश्चात् आत्मा भित्रैबाट निष्पन्न एक चेतनाले त्यो दीपकरूपी प्रकाशमाथि आक्रोश व्यक्त गर्यो, “दीपक ! तिमी आत्मज्योति प्रकाशक होइन रहेछौ । तिमी त हाम्रो मन मस्तिष्क दहन गर्ने भ्रमको ज्वाला पो रहेछौ ।”

०००

कथाकार परिचयः कथाकार युवराज मैनाली हाल धुम्बाराही काठमाडौंमा वसोवास गर्छन् । उनका मुर्दा बोल्यो ( कथासङ्ग्रह ), केही प्रतिभा केही प्रवृत्ति ( समालोचना सङ्ग्रह ), भष्टाचारको भाङ्ग ( हास्यव्यङ्य निबन्ध ), समको पौराणिक नाट्य कौशल ( समालोचना सङ्ग्रह ), कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण( समालोचना )तथा पृथक बाटो ( लघुकथा सङ्ग्रह ) प्रकाशित छन् ।