किशोर श्रेष्ठको “म अनि मेरा भोगाइहरु”को परिचर्चा सम्पन्न

मुख्य समाचार

३१ साउन २०८२, काठमाडौं ।

साहित्यिक पत्रकार संघ र काठमाडौं संखुवासभा साहित्य समाजले आज संयुक्त रुपमा सर्जक किशोर श्रेष्ठ “आवाज”को “म अनि मेरा भोगाइहरु” कविता र नियात्राकृतिको “परिचर्चा” कार्यक्रमको आयोजना गर्‍यो ।
प्रमुख अतिथि जलेश्वरी श्रेष्ठले कृतिको चर्चा गर्दै बधाई ज्ञापन गरिन् ।
सर्जक श्रेष्ठको “म अनि मेरा भोगाइहरु” कविता र नियात्राकृतिबारे समालोचक डा. शान्तिमाया गिरीले समीक्षात्मक मन्तव्य राख्दै किशोरको आख्यानमा भौगोलिक परिवेश, सांस्कृतिकता, सामाजिकता र चालचलन लगायत अनगिन्ती विषयबस्तुलाई विवरणात्मक शैली भएको बताइन् । कवि दिलीप श्रेष्ठले सर्जक किशोरको योगदानको चर्चा गर्दै कृतिमा समावेश कवितामा सांस्कृतिक, सामाजिक र राजनीतिक चेतको उल्लेख गरे ।
कृतिकार किशोर श्रेष्ठले आफ्नो सिर्जना यात्राबारे उल्लेख गर्दै कार्यक्रम आयोजक संस्था र उपस्थित सबैलाई धन्यवाद गरे ।
कार्यक्रममा अध्यक्ष लेकालीले सर्जक श्रेष्ठको समग्र परिचय र योगदानको उल्लेख गर्दै चैनपुरको विशेष चर्चा गरे ।
कार्यक्रममा कविहरु सविता श्रेष्ठ “बेहोसी” र मन्जिला अनिलले “म अनि मेरा भोगाइहरु” बाट कविता वाचन गरेका थिए ।
सो कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि जलेश्वरी र साहित्यिक पत्रकार संघकी कोषाध्यक्ष पद्यमावती सिंहले सर्जक किशोर श्रेष्ठलाई दोसल्ला, माला र खदा लगाएर सम्मान गरेका थिए ।
कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालओको अध्यक्षतामा सम्पन्न भएको थियो ।
काठमाडौं संखुवासभा साहित्य समाजका सदस्य डा. बंशी शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको सहजीकरण साहित्यिक पत्रकार संघकी सचिव नीता श्रेष्ठले गरेकी थिइन् ।