२३ जेठ २०८२, काठमाण्डौँ ।
विजय हितानको “लाहुरेको रेलिमाई” कृतिलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार विजय हितानलाई प्रदान गरे । प्रमुख अतिथि काइँलाले मास्टर मित्रसेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकोमा कृतिकार हितानलाई बधाई दिए । नेपाली सेनाका अवकाश प्राप्त रथी साहित्यकार बाबुकृष्ण कार्कीले सो कृति सेना, पुलिसका अतिरिक्त साहित्यका सबै पाठकलाई रोचक रहेको बताए।
दुई लाख नगद राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार बिदेशमा बस्ने नेपाली लेखकहरूको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिदै आएको छ ।
समारोहलाई सम्बोधन गर्दै आख्यानकार नयनराज पाण्डेले लेखनका अनेक विषयमा अहिले युद्ध साहित्य हाबी हुँदै आएको बताए । गैरआवासीय नेपाली संघका पुर्व कोषाध्यक्ष एंव अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यबस्थापन समितिका अध्यक्ष कवि हिक्मत थापाले संस्थाले प्रवासमा रहेका नेपाली प्रतिभाहरूलाई समेट्दै प्रोत्साहन गर्न यो पुरस्कार स्थापना गरी वितरण गर्दै आएको जानकारी दिए ।
कवि रमेश पौडेलले बेलायती सेनामा कार्यरत नेपाली सर्जकको सिरानीमा बन्दुक भए पनि हृदयको हार्दिक कलमले मल्हम लाउन सिपालु भएको मत जाहेर गरे ।
पुरस्कृत प्रतिभा विजय हितानले आदि गायक मास्टर मित्रसेन थापाको जीवनी माथि लामो खोज र अनुसन्धान पछि सो कृति प्रकाशन गरेको र यो पुरस्कारले युद्ध साहित्यको अनुसन्धानमा अगाडि बढ्न प्रेरणा मिलेको जानकारी दिए ।
