२४ जेठ २०८२, काठमाडौं ।
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’को नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचकद्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री तथा लेखकले संयुक्तरूपमा लोकार्पण गरे ।कृतिको लोकार्पण कार्यक्रममा बोल्दै प्रा.डा.दयाराम श्रेष्ठले नेपाली साहित्यमा वियोगीको नयाँ कथा कृति ‘सत्यम्’को जन्म भएकोले कृतिको सङ्ख्या थपिएको मात्रै नभई एक उत्कृष्ठ कथाहरूको सङ्ग्रह आएको बताए ।
प्रा.डा.गोविन्दराज भट्टराईले नेपाली साहित्यमा एक प्रखर र उत्कृष्ट कथासङ्ग्रहको रूपमा सत्यम् आएको बताए ।
समाचोलक डा.अशोक थापाले पत्रकारिता पेशामा रहेका वियोगीले समाचार तथा फिचरमा लेख्न नमिलेका र लेख्न नसकेका विषयसमेत उनको कथाकृतिमा झल्किने गरी उतारेको बताए ।
अर्की समालोचक अनुपमा रेग्मीले वियोगीको कथाकृति ‘सत्यम्’मा विगतको माओवादी द्वन्द्व, स्थानीय भाषिकाको प्रयोग, पश्चिमेली लोकगीत तथा संस्कृति, प्रेम, पर्यावरणजस्ता विषयको मिहिन भावसहितको चित्रण पाइने बताइन् ।
यसैगरी, समालोचक तथा साहित्य अकादमी पुरस्कारबाट पुरस्कृत क्षेत्रीले वियोगी ‘हिमाललाई ढाक्यो कान्छा हिउँको पछ्यौरीले…’ बोलको गीतबाट यसअघि नै सफल गीतकारको रूपमा स्थापित भइसकेको प्रसङ्ग सुनाएका थिए ।
पहिलो कथाकृतिको जन्म दिँदै गर्दा आफ्ना आमा–बुबालाई सम्झेर भावुक बनेका कथाकार वियोगीले स्वर्ग (हामीले भन्ने गरेको) बाट यो क्षणमा आफूलाई जन्मदिने आमा–बुबाको आशीर्वाद प्राप्त भइरहने अपेक्षा गरेका थिए । उनले वताए, ‘म कथाकार वा लेखक बनुँला/नबनुँला सबैभन्दा ठूलो कुरा धेरैले मलाई सहयोग गर्नुभयो र त्यही दिशानिर्देशले नै आज यो ठाउँमा छु, म सबैप्रति आभारी छु । मैले सत्यम्लाई होइन, सत्यम्ले मलाई चिनाइदिए पुग्छ ।’
साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका उनको यो पहिलो कथा–कृति हो ।
‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उनको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । यो कथा पनि यस सङ्ग्रहमा समावेश रहेको छ ।
(मिलन समीर काठमाडौंको सहयोगमा)
