१८ जेठ २०८२, काठमाडौं
प्रसिद्ध नेपाली साहित्यकार, गायक एवम् सङ्गीतकार गणेश रसिकको १८ जेठ २०८२ का दिन निधन भयो । लामो समयदेखि प्रोष्टेट क्यान्सरसँग जुधिरहेका उनको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो ।
नेपाली वाङ्मयमा कथाकार, उपन्यासकार तथा पछिल्लो समयमा समर्थ संस्मरण लेखकका रुपमा प्रतिष्ठित उनको अर्को सग्लो पाटो सङ्गीत र गायन थियो । साहित्य लेखन, सङ्गीत र गायनका यस्ता विलक्षण प्रतिभा गणेश रसिकको जन्म भोजपुर छिनामखुमा विसं २००४ असोज ४ गते भएको थियो ।
उनका एउटा सारङ्गीभित्र, विलाउँदै गएको गीत (कथा सङ्ग्रहहरु), रसिकका गीतहरू, स्वाधिनताको पीडा(गीत सङ्ग्रहहरू), आकाशगङ्गाको ओतमुनि(उपन्यास), जव सिस्नुहरु टेक्दै हिंडें, दस गजामा उभिएर(संस्मरणहरु) प्रकाशित छन् ।
विसं २०२४ सालमा राष्ट्रिय युवा महोत्सवमा कथामा प्रथम पुरस्कार, २०२८ सालमा प्रज्ञाप्रिष्ठानको कविता महोत्सवमा प्रथम पुरस्कार पाएका रसिकले छिन्नलता गीत पुरस्कार, वासुशशी स्मृति पुरस्कार लगायत थुप्रै पुरस्कार र सम्मान पाएका थिए ।
उनका विविध विधाका रचनाहरुको समग्र ग्रन्थ “पेरूङ्गो” समेत प्रकाशित थियो ।
उनले रत्न रेकर्डिङ संस्थान तथा राष्ट्रिय नाचघरको महाप्रबन्धक, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक तथा सङ्गीत नाट्य एकेडेमीको उपकुलपतिको समेत जिम्मेवारी पूरा गरेका थिए । उनी पछिल्लो समयमा वाशुशशी स्मृति प्रतिष्ठानको अध्यक्षका रुपमा रहेका थिए ।
उनको निधनपछि उनले कुनै तामझाम नगरी अन्त्येष्टि गर्न र आफ्नो अस्तु जन्म थलोमा लैजाने अन्तिम ईच्छा जाहेर गरेका थिए ।
