नकुल सिलवाल
(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ कालीप्रसाद रिजाल” को परिचय।)
देख्न त मैले कालीप्रसाद रिजाललाई सूचना विभागको निर्देशकको कुर्सीमा नै देखेको हुँ । तर उहाँ समाज-कल्याणको सदस्यसचिव पदमा रहँदा शैलेन्द्र साकारज्यूले परिचय गराउनुभएको हो मलाई । त्यस बेला कुर्सीमा बस्दा निकै प्रभावशाली र गम्भीर व्यक्तित्व पाएको हुँ ।
त्यसअघि नै उहाँका गीत-कविता सुनेको पनि हुँ र प्रशस्तै पढेको पनि हुँ । ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नुपऱ्या छ’ साह्रै चर्चित गीत, सहर-सहरमा, गाउँ-गाउँमा बज्ने, खुबै बज्ने गीत । मलाई कालीप्रसाद र उहाँका कविता/गीत उस्तै ओजस्वी लाग्थे र आज पनि लाग्छन् । उहाँ सञ्चार मन्त्रालयको सचिव हुँदा मैले बगरको “Asian Poetry” विशेषाङ्क किनेर सहयोग गरिदिनुहुन अनुरोध गर्दा उहाँले १० प्रति किनिदिने भनेर तोक-आदेश गर्नुभएको थियो ।
म उहाँबाट कुनै पनि भेटमा निराश भइनँ । कुर्सीमा बस्दा जम्माजम्मी तीन पटक भेट्न गएँ । भेटेपछि घरमा पनि दुईचार पटक गएको छ- उस्तै गम्भीर, ठिक्क बोल्ने । हल्काफुल्का कुरै नगर्ने । अरूको धेरै नजिक पनि नजाने, अरूलाई धेरै नजिक पनि नल्याउने । यस्ता स्वभाव, स्वाभिमानी बानी-बेहोरा – म प्रभावित छु उहाँसँग ।
उहाँका रचना बगरमा त्यति छाप्न पाइनँ । जति छापें सबैजसो उत्कृष्ट कविता भनेर अन्यत्रै छापिएका कविताहरू । जति कविता त्यसरी छापिए, प्रायः चर्चित छन् । अवकाशपछि कालीप्रसाद दाजुले निर्धक्क लेख्नुभएको छ । त्यसरी निर्धक्क नलेखे के कविता लेख्नु जस्तो लाग्छ मलाई ।
कवि कालीप्रसादले बहुदलीय व्यवस्थाले ल्याएको विकृति र विडम्बनालाई नै बढी प्रस्तुत गर्नुभएको छ आफ्ना रचनामा । त्यस्तै खालका कविता नै उहाँले बढी लेख्नुभयो पछिल्लो दशकमा । त्यस्तै कविता बढी रुचाए पनि पाठकले । प्रजातन्त्र पुनर्बहाली भएपछि सबैजसो संसदीय नेताहरूले पजेरो चढ्ने होडबाजी नै गरे । त्यही रफ्तारमा महल र ब्याङ्क ब्यालेन्स पनि जोडे ।
देश विकासको बजेट त्यसरी नेता विकासमा खर्चिएको देखेपछि रिजालजस्ता कविले लेख्नुभयो ‘जब पजेरो अगाडिबाट जान्छ’, पढ्नुभयो गोष्ठीमा, छाप्नुभयो कवितामा, अत्यन्तै चर्चित भयो । बगरले ‘उत्कृष्ट रचनाहरू २०५४’ मा सङ्कलित गर्यो र त्यस संङ्कलनको सर्वोत्कृष्ट कविता मानेर फेरि यो सङ्कलनमा पनि राखिएको छ ।
