नकुल सिलवाल
(नेपाली साहित्यलाई व्यापक बनाउन, लेखकका रचनाहरू फुटकर रूपमा प्रकाशन गरेर लेखकलाई मञ्च दिन, परिचित गराउन र सार्वजनिक बहसको वातावरण सिर्जनाको लागि साहित्यिक पत्रिकाको ठूलो महत्त्व छ । यसै क्रममा तीसको दशकमा प्रकाशन सुरु भएको “बगर” साहित्यिक पत्रिकाको आफ्नै पहिचान र योगदान रहेको छ । आफ्नो जीवनको महत्त्वपूर्ण समय र ऊर्जा बहुमुखी प्रतिभाका धनी नकुल सिलवालले बगरको सम्पादन र प्रकाशनमा लगाए । उनले आफूलाई पूर्ण कालीन साहित्यिक पत्रकारको रूपमै आफूलाई स्थापित गरे र परिचय बनाए । यही बगर पत्रिकामा उनले हरेक वर्ष “उत्कृष्ट रचना” हरूको प्रकाशनको सिलसिला आरम्भ गरे र यो सिलसिलाको दशौं वर्षमा सर्वश्रेष्ठ दसको सम्पादन प्रकाशन गरे । १० वर्षका चार विधामा १०।१० रचना गरी ४० रचनाको यो विशेष अङ्क आफैँमा महत्त्वपूर्ण सङ्कलन हो ।
यस अङ्कमा कवितामा भूपि शेरचन, पारिजात, वासुशशी, श्यामल, कुन्ता शर्मा, श्रवण मुकारुङ, प्रह्लाद पोखरेल, कालिप्रसाद रिजाल, नकुल सिलवाल र कृष्णभक्त श्रेष्ठका कविता रचना रहेका छन् ।
कथातर्फ मनु ब्राजाकी, महेशविक्रम शाह, डोरवहादुर विष्ट, गोविन्दवहादुर मल्ल गोठाले, देवीपरसाद सुवेदी, डा.राजेन्द्र विमल, दौलतविक्रम विष्ट, नरेन्द्रराज पौडेल, भाउपन्थी तथा शरद क्षेत्रीका कथा रचना रहेका छन् ।
निबन्धतर्फ मनुजवावु मिश्र, जनकलाल शर्मा, खगेन्द्र सङ्ग्रौला, अम्बर गुरुङ, डा. माधवप्रसाद पोखरेल, डा. तारानाथ शर्मा, ध.च. गोतामे, शङ्कर कोइराला, हिरण्य भोजपुरे तथा सुकन्या वाइवाका निवन्ध रचना समाविष्ट छन् ।
त्यस्तै समालोचनातर्फ शिव रेग्मी, मदनमणि दीक्षित, श्यामप्रसाद, गोविन्द गिरी प्रेरणा, डा.केशव प्रसाद उपाध्याय, जनकप्रसाद हुमागाईं, डा. वामदेव पहाडी, कृष्णचन्द्र सिंह प्रधान, पूर्णप्रकाश नेपाल ‘यात्री’ तथा डा. कुमारबहादुर जोशीका समालोचना रहेका छन् ।
यस अङ्कको सम्पादकीयमा उनले “बगर” पत्रिकाको प्रकाशन यात्रा र उत्कृष्ट रचना प्रकाशनको सिलसिला र “उत्कृष्ट दश” को विषयमा उनले लेखेको सम्पादकीय महत्त्वपूर्ण छ । त्यही सम्पादकीय नै यहाँ साभार प्रकाशन गरिएको हो ।
संयोग नै मान्नुपर्छ, यो “उत्कृष्ट दश” को प्रकाशनपछि वार्षिक उत्कृष्ट रचना प्रकाशनको सिलसिला नै बन्द भयो । यो “उत्कृष्ट दश” त्यो सिलसिलाको समापन अङ्क भई दियो । -सम्पादक)
पहिलो अङ्कमै पाएको हुँ राम्रा रचना । राम्रै लेखक-साहित्यकारसँग हिँडडुल गर्न थालेपछि राम्रा रचना पाउनै प-यो । त्यति खेरको नामी प्रेस रूपायन प्रेसमा छापेपछि पत्रिका पनि राम्रै हुने भयो । पृष्ठ थोरै भए पनि, साजसज्जा सामान्य नै भए पनि रचना मध्यम खालका किन नहोऊन्, नाम चलेका कवि, लेखक, साहित्यकारका भएपछि पाठकले पनि, प्रबुद्ध वर्गले पनि मन पराइ दिए । खुबै नाम चलेका साहित्यकारका घर दैलामै पुगेर लेख रचना बटुल्ने उत्साह भएपछि बगर स्तरीय पत्रिकामा गणना भयो । ‘आजको मान्छेको कविता’, ‘आजको मान्छेको कथा’, ‘एसियाली कविता’ (अङ्ग्रेजीमा) जस्ता शृङ्खलाहरू आएपछि बगर चर्चित हुँदै गयो । त्यसै ताक देशमा फेरि आयो प्रजातन्त्र । के-के पाउने भयौं, के-के न हुने भयो, निकै कुरा तलमाथि पर्ने भए जस्तै लाग्यो पनि । तर एकाध वर्ष बित्न नपाउँदै सोच्नेले सोचेको ठीक उल्टो भयो । त्यस्तो खास केही भएन, झन् बरु गोलमाल पो भयो ।
जे जस्तो भए पनि बगरले २०४७ सालमा शोच बनायो । २०४६ को जनआन्दोलनले नेपाली साहित्यमा के-कस्तो प्रभाव पारेको छ र जनआन्दोलनलाई लिएर स्रष्टाहरूले कस्ता खालका सृजना गरेका छन् । २०४७ सालभरि बजारमा आएका साहित्यिक पत्रपत्रिकाहरूको सङ्कलन र अध्ययन भइरहेको थियो । वर्ष समाप्त हुँदा-नहुँदै केही अध्येता र सम्बन्धितहरूको रोहबरमा रचनाहरू छनोट भए । जनआन्दोलनलाई नै बढी महत्त्व दिएर रचना छान्यौं, अन्य प्रमुख रचनाहरू पनि चयन ग-यौं र ‘२०४७ का सर्वश्रेष्ठ स्रष्टा र सृजना’ भनेर प्रकाशित ग-यौं पनि । आ-आफ्नै किसिमले संवादहरू, टीकाटिप्पणीहरू भए समग्रमा राम्रो थालनी, राम्रो काम भने शुभचिन्तकहरूले । २०४८ सालको पनि वर्षभरि साहित्यिक पत्रिकामा आएका रचनाहरूमध्ये बढीभन्दा बढी स्तरीय रचनाहरूलाई छानेर ‘सर्वोत्कृष्ट रचनाहरू २०४८’ पनि प्रकाशित ग-यौं । राम्रा रचना, राम्रा लेखक र राम्रा साहित्यसँग सरसङ्गत बढी भएपछि वर्षको एक पटक ‘उत्कृष्ट रचनाहरू’ को वार्षिक विशेषाङ्क प्रकाशित गर्ने परम्परा नै बसाल्यौं । नेपाली साहित्यमा आई नै रहे फुटकर रचना, साहित्यिक पत्रिकाले स्तरीय रचना पनि छापी नै रहे । प्रजातान्त्रिक व्यवस्थाको अप्रजातान्त्रिक गतिविधि दिन दुई गुना रात चौगुना बढी नै रह्यो । साहित्यकार जस्ता संवेदनशील र प्रबुद्ध वर्ग आफ्नो जिम्मेवारी र उत्तरदायित्व वहन गर्न पछि परेन, लेखि रहे, लेखी नै रहे साहित्य, यथार्थ साहित्य, देश-काल-परिस्थिति प्रस्ट्याउने साहित्य निरन्तर प्रवाहित भई नै रहे नेपाली वाङ्मयमा । यहीँनेर साहित्यलाई माध्यम बनाएर हुनेभन्दा नहुने चाहिँ, बढी लाभ हासिल गर्नेहरू मूल प्रवाहबाट किनारा लागेको पनि पाइन्छ । तर असली साहित्य झन् चम्किएर त्यसै त्यसै अगाडि बढिरह्यो । उदाहरणका लागि बगरले चयन गरेका ‘उत्कृष्ट रचनाहरू’ हाजिर छन्- एक दशकका शृङ्खलाहरू सबै विधाका ।
उपन्यास बाहेक थोरै प्रकाशनमा आउने त्यस्तै सुहाउँदा नाटकलाई पनि राखिएको छ प्रायः सबै ग्रन्थमा ।
लगातार दस वर्षसम्म बगर केन्द्रित भइरह्यो ‘उत्कृष्ट रचनाहरू’ मा । त्यसो त वर्षको एक पटक सिङ्गै पुस्तक पनि छाप्ने गरेका छौं सम्पूर्ण अङ्क । त्यो पनि ‘भारी’ नै हुन्छ बगरको, बगरलाई । यी दुईवटा अङ्क विशेष रूपमा छाप्न हम्मेहम्मे पर्छ बगरलाई । त्यसैले एकाध वर्ष खाली रहन पनि सक्छ । ‘सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार’ दिइएको पाण्डुलिपि छाप्न दुई वर्ष पनि लाग्न सक्छ । ‘उत्कृष्ट रचनाहरू’ पनि अब दुई वर्षमा गाभिएर आउन सक्छ । पहिलो पनि त पुस्तकका रूपमा गाभिएकै हो क्यारे । सक्ने काम सके जति, सकेसम्म गर्ने हो, बस । देश-काल-परिस्थिति प्रतिकूल भएपछि कति कुरा त्यसै अनुरूप हुँदा रहेछन् । टिक्न, टिकाइ राख्न हुनेसम्मको चाहिँ पछि हट्नु पनि पर्दो रहेछ, केही सम्झौता, समन्वय जस्तो पनि गर्नु पर्दो रहेछ ।
बीस वर्षको यात्रामा देखिएका, रेखिएका चित्रहरूको एउटा त्यस्तै विशेष अङ्क पछि सारेर दस वर्षका ‘उत्कृष्ट रचनाहरू’ बाट ‘सर्वश्रेष्ठ दस’ अघि सा-यौं । कविता, कथा, लेख, निबन्ध र समीक्षा/समालोचना चार विधाबाट जम्माजम्मी चारै वटा रचना छान्यौं । वर्षभरि प्रकाशित रचनाहरूबाट उत्कृष्ट रचनाहरू छानेका थियौं भने त्यसबाट पनि एक विधाबाट एक रचना छान्दा त्यो सर्वश्रेष्ठ हुने भयो र सर्व श्रेष्ठै घोषणा ग-यौं पनि । दस वर्षका दस-दस रचनाका दरले चार विधामा चालीस रचना विशेष लेखक- परिचयसहित भेला पा-यौं र यसरी प्रकाशनमा ल्याइएको छ ।
भइरहेको काम र गतिविधिभन्दा नभइरहेको त्यस्तो पक्षलाई पनि अघि सार्नुपर्छ भन्ने मान्यताले बगरलाई केही बेग्लै बनाएको छ । अलग्गै हुन चाहेका हौं, भुइँफुट्टा होइन । भुइँफट्टा हुनेहरू त त्यसरी नै पाखा लागे जसरी देखा परेका थिए । आफ्नो ठाम जमाएरै बस्न अरूले डेग चलाउन नसक्ने ओज पनि त हुनुपर्यो । केही न केही त्यस्तै ‘गहन’ चाहिँ हुनुपर्यो अवश्य भनेर पनि यो ‘सर्वश्रेष्ठ दस’ अघि सारेका हौं । नेपाली साहित्यमा यस्तो भएको छैन, विश्वमा के-कस्ता यस्ता घटना भए त्यति जानकारी छैन । यो त क्रमैले बनेको योजना र भएको विकास हो । मजबुत जग हालेर बनाइएको घर हो, त्यत्तिकै उठाइएको, देखाइएको कुनै आकार होइन आश्चर्यलाग्दो । उत्कृष्ट भएरै ‘उत्कृष्ट रचनाहरू’ मा परेका थिए भने त्यसबाट पनि सर्वोत्कृष्ट भएरै ‘सर्वश्रेष्ठ दस’ मा परेका हुन् । लगाउनुपर्ने कसी लगाएरै तौलिन काम हुन्छ । नाफा नोक्सान र पाउने-गुमाउने हिसाब नगर्ने हो भने जस्तालाई तस्तै भन्न सकिन्छ । हामीले चौतर्फी दृष्टिकोणबाटै सर्वश्रेष्ठ ठहऱ्याएका हौं । एकपक्षीय सोचाइ भएन, बहुपक्षीय कोणबाट विविध प्रवृत्तिका रचनाहरू नै छुट्टिए । कतिपय रचना लेखकलाई प्रतिनिधित्व गर्ने छन्, कति त वर्षकै प्रतिनिधि हुन् भने केही चाहिँ नेपाली साहित्यकै प्रतिनिधि रचना हुन् । भिन्न-भिन्न काँटी र किसिमका रचनाहरू दस वर्षको ‘नेपाल’ चिनाउन निकै नै सफल छन् । नेपालको एक दशक भनौं कि एक दशकको नेपाल भनौं, ‘सर्वश्रेष्ठ दस’ मा छापिएको छ, सहीछाप जस्तै टाँसिएको छ । वर्षभरि छापिएका रचनाहरू मध्येबाट ‘उत्कृष्ट’ र त्यसबाट ‘सर्वोत्कृष्ट’ छानिएकोले सबै रचना र लेखक नेपाली साहित्यका प्रतिनिधि हुन् भन्न चाहिँ नमिल्ला र पनि धेरैजसो रचना भने लेखक र नेपाली साहित्यको पनि प्रतिनिधित्व गर्न सक्षम छन् । दस वर्षको तर चखाउने, खुवाउने अनन्त इच्छा साँचिएको थियो, त्यो पूरा भयो, सफल भयौं । ‘यस्तै गर्छु’ भनेका कतिपय ‘सङ्कल्प’ त्यसै बिलाउँछन्, आँटेको ठानेको सबै कुरा पुग्दैन तर हामीले भने हार्नुपरेन । भोलिका दिनहरू कस्ता हुनेछन् अनुमान भित्र छैनन्, तर ‘सर्वश्रेष्ठ दस’ दस वर्षको विशिष्टलाई यसरी प्रस्तुत गर्न पाइकामा गौरवान्वित भएका छौं । यस्ता उच्च कोटिका रचना लेख्ने लेखक, आदरणीय स्रष्टा, छाप्ने पत्रिका, राम्रो भनेर गुणगान गाउने प्रबुद्ध पाठक, अध्येता र सम्बन्धित सबैको यो सम्पादक भने ऋणी छ सदैव । धन्यवाद !
०००