असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती; मेरो अनुभव

गद्य विविध

 नवीन पौड्याल, कालिम्पोङ

यसपालि असम नेपाली साहित्य सभाको स्वर्ण जयन्तीको अवसरमा नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङको प्रतिनिधि टोलीमा सामेल भएर गएको थिएँ । असमको गोलाघाट जिल्लाको सरूपथार भन्ने ठाउँमा छ डिसेम्बरदेखि नौ डिसेम्बरसम्मको यो चारदिनव्यापी कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो। त्यहाँ पुग्न हामीलाई भने अवध असम रेलले दश घण्टा ढिलो गरी बिहान नौबजेतिर पुग्नु पर्ने ठाउँमा बेलुकी साँड़े पाँचबजे पुर्‌याइदियो । रेलवे स्टेशनकै छेउमा ठुला ठुला पाण्डाल हालेर कार्यक्रम स्थल बनाएको रहेछ । त्यसो हुँदा कार्यक्रममा पुग्न  कसैलाई असुविधा भएन।

त्यस कार्यक्रमबाट उब्जेका केही कुराहरू यही व्यक्त गर्न उचित लागेको छ। आफुले देखेका र सुझेका कुरालाई केही बुँदाहरूमा व्यक्त गरेर त्यस अधिवेशनमा उपस्थित भएको सार्थकता दिने कर्तव्य ठानेको छु। यसमा कार्यक्रमबार धेरै सकारात्मक र केही नकारात्मक कुराहरू आफुलाई अनुभूत भयो। आफु अनेसासको एक शुभचिन्तक भएकाले साहित्य सभाको आगामी दिनमा केही काम लाग्ला कि भन्ने मेरो सकारात्मक आशय हो। यहाँ व्यक्त गरिएको मेरो व्यक्तिगत विचार हो ।

  • कार्यक्रममा मुख्य पाँचवटा कुरा सम्पन्न भए- आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय समिति अझ सभापति कार्यकारी सभापति र महासचिवको पदको निर्वाचन सम्पन्न भयो । सयवटा पुस्तक लोकार्पण भए । पुरस्कार वितरण समारोह कवि गोष्ठी र मुख्य मन्त्रीको आगमन र आशिर्वाद प्रदान भए ।
  • यी पाँचवटा बाहेक कलाविद् विनोद खनालको नेतृत्त्वमा सुसज्जित संस्कृति झाँकी र प्रदर्शनले कार्यक्रमलाई धेरै सफल बनायो। यो विषय केन्द्रविन्दु भएको थियो।
  • यस कार्यक्रममा नेपाली साहित्य अध्ययन समिति, कालेबुङ, नेपाली साहित्य परिषद् मणिपुरबाहेक अन्य कुनै स्थानका नेपाली साहित्यिक संस्थाहरूको उपस्थिति पाइएन। शताब्दी मनाउँदै गरेको नेपाली साहित्य सम्मेलन दार्जिलिङ, शताब्दी नाघिसकेको खरसाङको गोर्खा जनपुस्तकालय, सिलगडीको देवकोटा सङ्घ, नेपाली साहित्य विकास समिति, डुवर्स, नेपाली साहित्य परिषद्, सिक्किम, पश्चिम सिक्किम साहित्य प्रकाशन, गेजिङ, अगमसिंह गिरी संस्थान- सलुवा आदि जस्ता भारतका धेरै संस्थाहरू कुनै पुगेनन्। ती संस्थाहरूलाई निम्तो गरिएन कि, न आओस् भन्ने पाराले सामान्य तरिकाले फोनमार्फत् वा वाट्सएप मार्फत् बोलाइयो कि थाहा भएन। नत्र सल्लाह गरेजस्तो नै अरू संस्थाको अनुपस्थिति विचारणीय छ।
  • भारतका नेपाली साहित्यिक संस्थाका स्थानमा नेपालका साहित्यिक संस्थाहरूको निकै उपस्थिति देखियो। नेपालका दमक, विराटनगर आदि स्थानबाट तीस चालिस जनाको टोली पुगेको थियो। कुरा बुझ्दा सभाका दुईचारजनाले आफ्नो व्यक्तिगत तहबाट बोलाउँदा कतिजना त लहैलहैमा लागेर पुगेका पनि रहेछन्। कोही घुम्ने उद्देश्यले मात्र पनि गएका थिए। भारतबाट नेपाली साहित्य अध्ययन समिति कालेबुङबाहेक सिक्किम गजल मञ्चकी अध्यक्षा र नेपाली साहित्य प्रचार समिति, सिलगडीका केही प्रतिनिधि टोली अघिल्लो दुई दिन थिए भन्ने कुरा जान्न पाइयो। मणिपुरको नेपाली साहित्य परिषदका तीनजना सदस्यहरू र भुटानका छत्रपति फुयेँलको पनि उपस्थिति थियो। यीबाहेक अन्य कुरै संस्थाको उपस्थिति नभएर नेपालका संस्थाहरूको ज्यादा उपस्थितिले के सन्देश देला? विचारणीय छ। अब असमले नेपालमोह त्याग्नु पर्छ। बिर्तामोडको महिला नौमतीबाजा टोली पनि असमको कार्यक्रमतिर लाने औचित्य थिएन बरू आसमाकै नौमतीबाडा बाजा बजाउने टोलीलाई लिन सकिन्थ्यो।
  • डा. देवी नेपालले निरू शर्मा पराजुली अन्तराष्ट्रिय पुरस्कार पाउनु गर्वको विषय हो। उनी जस्ता धुरन्धर र उम्दा सर्जकले पाउनु भनेको उनको योगदान र प्रतिभाको सही कदर गर्नु हो। निर्णायक जे निर्णय गरे त्यो उनीहरूको विवेक र मूल्याङ्कनको कुरा हो, मलाई लाग्छ, सही निर्णय गरेका हुन्। धेरै काव्य र समालोचना, लेखनशिल्प सिद्धान्त लेख्ने, असममा पनि गीत गजलको प्रशिक्षण दिने, जोशिला भरिला डा. देवी नेपाललाई पुरस्कृत गर्नु उचित कार्य भएको छ।
  • अधिवेशनमा डा गोविन्दराज भट्टराई, डा कुमारप्रसाद कोइराला जस्ता हस्तीहरूको उपस्थिति थियो तर उहाँहरूलाई खासै कुनै दायित्व दिइएको लागेन। डा. गोविन्दराज भट्टराई जस्ता दिग्गजलाई निम्त्याएर पनि उहाँको कार्यपत्रले चारदिनभरिमा स्थान पाएन।
  • साहित्य सभाको अधिवेशनमा साहित्यिक परिवेश कम र रमझमको परिवेश भने बढी थियो। कवि गोष्ठीमा कविता वाचन, पुस्तक लोकार्पण आदिमा मात्र केही साहित्यिक परिवेश सृजना भएको थियो। कार्यसूचीमा रहेको युवा कविगोष्ठीसमेत सम्पन्न हुन् सकेन। त्यस अधिवेशनमा एउटा कवि गोष्ठी, एउटा विचार गोष्ठी, एउटा भाषा गोष्ठी आदि हुनसक्ने थिए। कमसेकम भारतीय नेपाली साहित्य, वा नेपाली साहित्य कता जाँदैछ वा जानुपर्ने? नेपाली साहित्यलाई विश्वव्यापी कसरी बनाउऩे? भारतका अन्य साहित्यको समकक्षमा कसरी पुर्‌याउने? ज्ञानपीठ पुरस्कार, सरस्वती सम्मान कसरी हासिल गर्ने? अनुवादयोग्य हाम्रा कृति कसरी चयन गर्ने? नेपाली भाषाको कसरी प्रचार गर्ने, कसरी भाषिक एकरूपता बनाउने? आदिबारे एउटा विचार गोष्ठी र छलफलको कार्यक्रम राखेको भए पनि त्यहाँ उपस्थित नेपालका विद्वान डा गोविन्दराज भट्टराई, डा कुमारप्रसाद कोइराला, शरदचन्द्र वस्ती, डा. देवी नेपाललगायतका विद्वानहरूको सदुपयोग हुनेथियो, उहाँहरूको सहभागिताको एउटासम्म कार्यक्रम भएको भए पनि कार्यक्रमको सार्थकता हुनेथियो। साहित्यिक चर्चा कम र अन्य रङ्गीचङ्गीपन, रातरातभरीको गीत नृत्यको रमझम, कार्यक्रम कता के के हुँदैछ भन्ने वास्ता नभएर बाहिरी सतही कुराहरूमा अल्झेको देखियो।
  • कार्यक्रमकका निम्ति स्थल उचित भए पनि एकठाउँमा मूल कार्यक्रम, अर्को ठाउँमा खाना खाने ठाउँ, अर्को ठाउँमा कवि गोष्ठी, अर्को अलिक परको अतिथि गृहमा जिल्ला समितिको प्रतिनिधिहरूको चुनावी सभा आदिले कार्यक्रम छताछुल्ल र छरपस्ट भयो। अन्य आमान्त्रित अतिथि र सहभागी दर्शकको आधा दिन कार्यक्रमविहीन भएर खेरो गयो। यसले गर्दा एकत्रित त्यत्रो भीड़को एकीकृत र ध्यानाकर्षित किसिमको भएन।
  • कार्यक्रमको उद्घोषना र कार्यक्रमको पनि सही तालमेल थिएन। राम्रोसँग गृहकार्य नगरी नभई जे परिस्थ्ति आउँछ त्यही अनुसार गरे जस्तो भयो। कार्यक्रममा कालिम्पोङ, दार्जिलिङ सिक्किम, सिलगडीतिरबाट पनि साहित्यिक संस्थाहरूका प्रतिनिधि आउनुभएको छ भनेर दुईपल्ट जति उद्घोषणा भयो तर नेपाली साहित्य अध्ययन समिति कालेबुङबाहेक अरू कुनै संस्थाका प्रतिनिधि थिएनन्। उपस्थित भएको वा नभएको पहिले नै राम्रोसँग रिपोर्ट लिनु पर्थ्यो। यसरी जानेहरूको पंजिकरण कार्यसमेत भएन। असमबाहिरका अतिथि र असमका सबै प्रतिनिधिहरू अधिवेशन स्थलमा पुग्नेबित्तिकै पंजीकरण गरेको भए कुन कुन संस्थाबाट कतिजना आए भन्ने सही जानकारी हुनेथियो, तर त्यसो भएन। एकपटक त हाम्रो कालेबुङको नेपाली साहित्य अध्ययन समितिलाई पश्चिम नेपालबाट आउनुभएको भनेर घोषणा भयो। अर्को पल्ट नवीन पौड्याल सिक्किम भनेर घोषणा भयो। यसो गर्नुमा आयोजक समितिको भन्दा उद्घोषकको गलती थियो, उनले राम्रोसँग अध्ययन गरेर तयार भएर कार्यक्रमको उद्घोषणा गर्नुपर्थ्यो।
  • भारतभरिबाट एउटा प्रमुख साहित्यिक संस्थाको रूपमा पुगेको नेपाली साहित्य अध्ययन समिति कालेबुङले सही स्थान पायो । यसका अध्यक्ष श्री जोग चामलिङले मुख्य अतिथिको आसन पाए । अन्य हामी छजनाले नै मञ्चमा बस्न पायौं, म आफुले पनि युवा प्रतिभा पुरस्कार वितरण गर्ने अवसर पाएकामा समिति धन्यवाद र खुशी प्रकट गर्दछौं। नेपाली साहित्य अध्ययन समिति कालेबुङबाट अध्यक्ष जोग चामालिङ, महासचिव श्री बलभद्र शर्मा तथा कार्यकारी सदस्यहरू क्रमैले सर्वश्री ललित छेत्री, डि के छेत्री, सिताराम काफ्ले, रूद्र कार्की र मेरो सहभागिता थियो।
  • आठ तारिकका दिनको दुइवटा मुख्य र अति महत्वपूर्ण र ऐतिहासिक कार्यक्रम सम्पन्न भए- असमका उन्नाइसजना सर्जकलाई विभिन्न पुरस्कार वितरण र एकसयवटा पुस्तकको लोकार्पण। यो पछिल्लो कार्यक्रम एउटा रेकर्ड हो। यसमा धेरै कविता सङ्ग्रह, कथासङ्कलन, समीक्षा नाटक निबन्ध आदिका सङ्ग्रह लोकार्पित भए। यसमा धेरै किताब महत्त्वपूर्ण छन्। असमेली नेपाली कथा सञ्चयन, सभा दर्पण, असमेली नेपाली एकाङ्की सङ्ग्रह आदि महत्त्वपूर्ण ग्रन्थ लोकार्पित भए। यसलाई ठोस उपलब्धि मान्न सकिन्छ। यद्यपि यति धेरै पुस्तकहरू लोकार्पण हुँदा त्यहाँ बस्ने दर्शकहरूलाई न लेखकको नाम स्मरण हुन्छ न ती किताब पढ्छन् न किन्छन्। पाठकभन्दा लेखक बसी भए जस्तो भयो।
  • त्यो कार्यक्रममा विभिन्न जिल्लाबाट धेरै व्यक्तिहरूको उपस्थिति थियो। केन्द्रीय समिति, जिल्ला समिति, स्थानीय समितिहरूबाट धेरै सदस्यहरूको सहभागिता थियो। घाँटीमा जिल्ला समितिको सदस्यता झुण्ड्याएका धेरै नर-नारी देखिए। यसबाट नेपाली साहित्य अब निकै जुर्मुपराएको जस्तो लाग्यो। कसमेकम यी भेला भएका सदस्यहरू साहित्यिक हुनुपर्छ, कि त साहित्यमा गहिरो रूचि राख्ने हुनपर्छ। यत्रा मानिस भेला भएको देख्दा अब त नेपाली साहित्यका पाठकको सङ्ख्या बढ्ला कि, यी सदस्यहरूले कमसेकम महिनामा वा वर्षमा वा यस्ता समारोहरूमा भए पनि केही नेपाली साहित्यिक किताब पत्रिका किन्छन् कि भन्ने आशा गर्न सकिन्छ। साहित्य सभाका यत्रो सदस्यहरू त साहित्यमा रूचि भएर नै सदस्यता लिएका हुन्। किताब पत्रिका किनिदिएर त्यो सदस्य भएको प्रमाण दिउन्, लेखकहरूको जोस जाँगर बढाइदिउन् भन्ने कुराको हेक्का राख्न सकिन्छ कि?
  • आठ तारिकको साहित्यिक कार्यक्रम र नौ तारिकको राजनैतिक कार्यक्रमसरह भयो। आठ तारिकको नेपाली साहित्यिक कार्यक्रममा असमेली भाषाको प्रभाव र नेपाली वक्ताहरूले असमीय मिसाउँदै नेपाली कार्यक्रम गर्नुपर्ने के बाध्यता थियो। त्यो त हाम्रो आफ्नो कार्यक्रम थियो। मञ्चका दुईचार अनेपालीभाषी वक्ताले असमीय भाषामा बोल्नु स्वभाविक कुरा भए पनि नेपाली साहित्यकारले किन असमीय मिसाएर बोल्नु परेको कुरा बुझिएन। असममा असमीय नै बोल्नैपर्छ, त्यहाँका अन्यलाई हाम्रो कुरा बुझाउने त्यहाँको भाषा बोलिदिनु पर्छ? कुनै बाध्यता पो थियो कि? बुझिएन।
  • खानाको राम्रो व्यस्था थियो। तर एकदिन त कार्यक्रमको पाहुनाहरूले समेत नपाउने, बाहिरका फाल्टु मान्छेहरूको जो पाए त्यही गएर खाइरहेको पाइयो। बाहिरका प्रतिनिधि वा आतिथिहरूको पंजीकरण गरेर खानाको कुपन बाँड्ने प्रणाली लिएको भए अलिक नियन्त्रित हुन्थ्यो। यस्तोमा कुपन प्रणाली बनाएको भए हुन्थ्यो।
  • नौ तारिकको कार्यक्रम भने केही राजनैतिक कार्यक्रमसरह भयो। मुख्यमन्त्रीको आगमनले सभामा उपस्थित विशाल जनभेला हर्षित प्रफुल्लित भयो। उनी आउनुभन्दा अघि को-कसले के के बोले, त्यहाँको विधायक संसदहरूले असममा नेपाली भाषा र जातिको इतिहास आदि बखाने। सबैले राम्रो कुरा गरे। तर चाहिँदो कुरा भने बड़सोलाका विधायक गणेश लिम्बु र आग्सु सभापति सुनिल छेत्रीले गरे। गोर्खा विकास परिषदको प्रेम तामाङको भाषा भने सबैभन्दा शुद्ध नेपालीमा थियो। उनले पनि मिठो कुरा राखे। विधायक गणेश लिम्बुले भने असममा विद्यालय स्तरमा नेपाली भाषी विद्यार्थीका निम्ति नेपाली विषय शिक्षकको नियुक्ति, कलेज र विश्वविद्यालयहरूमा नेपाली विषयको पठन पाठन, साहित्य सभाले गर्नुपर्ने कार्यहरू आदिबारे अत्यन्त सारगर्भित कुरा राखे। सुनिल छेत्रीले पनि साहित्य सभामार्फत् जातीय उत्थानका कुरा गर्न असमका दुई गोर्खा विधायकहरूसमक्ष माग राखे। यतिखेर केन्द्र र राज्य सरकारमा गोर्खाका हितैषी सरकार भएको बेला धेरै लाभ लिनुपर्ने कुरामा जोड़ दिए। मार्घेरिटाका विधायक श्री भाष्कर शर्माले भने सस्तो खालको सतही कुरा गरे। वक्ता लक्ष्मी सेँढाइँले भने केही गहकिलो वक्तव्य दिएका थिए।
  • अधिवेशनमा चुनाव प्रक्रियाले दुई दिनभरी स्थान ओगट्यो। अध्यक्ष, कार्यकारी उपाध्यक्ष र महासचिवको पदमा दुई तीनजनाले उम्मेद्वारी दिएपछि त्यसलाई चयन गर्न व्यालोट बक्स र गणना प्रकियाले दुईदिनको समय खायो। एकापट्टि कार्यक्रम स्थल अर्कापट्टि चयन प्रक्रियाको रडाको र चर्काचर्की भएको सुनियो। यो त प्रजातान्त्रिक प्रणाली हो यद्यपि यसले दुई दिनको कार्यक्रम बिथोलिदियो। केन्द्र र जिल्ला समितिका अधिकांश सदस्यहरू दुई दिनभरी कार्यक्रममा उपस्थित भएनन्। यसो हुँदा आयोजक समिति र मूल समितिका बीच सही तालमेल हुन सकेन, कार्यक्रम भँगालियो। साहित्यिक छलफल चर्चा कार्यक्रम भएऩ। यसो हुँदा चारदिनको अधिवेशन सिमेन्टको बोरा जस्तो नभएर मुरैको डल्लो जस्तो भयो। आकाशमा कालो बादल बेस्सरी धुम्मिएर गड्याङगुडुङ भएर पनि पानी अलिलि छिट्याएको जस्तो भयो, पुराणमा कथा सुन्नुमा भन्दा भजनको नाचगान र भोजनको चक्करमा रहेको जस्तो भयो।
  • मुख्यमन्त्रीका सामु नवनियुक्त अध्यक्ष डा चिन्तामणि शर्माले एघारवटा कलेजका अठारजना नेपाली प्राध्यापकलाई यतिञ्जेलको योगदानको कदरस्वरूप राज्यस्वीकृत अतिथि लेक्चरर जस्तो केही दिलाइदिन, नेपाली पठन पाठनको सही व्यवस्था गरिदिन, साहित्य सभाको आफ्नो जमीन र भवन दिलाइदिन, स्नातकोत्तर तहमा नेपाली पठन पाठनको व्यवस्था मिलाइदिन लगायत महत्त्वपूर्ण माग राखे। यी मागहरूलाई मुख्यमन्त्रीले पूरा गरिदिने आश्वासन दिए तर ठोस घोषणा गरेनन्,। यद्यपि वर्तमानका मुख्यमन्त्री गोर्खाका हितैषी रहेछन् र यी सामान्य माग अवश्य नै पूरा गरिदिनेछन् भनेर हामी असम बाहिरकाले पनि आशा र विश्वास गरेका छौं।
  • माइकमा गीत घन्केको थियो, मुख्यमन्त्रीको अघि खुकुरी नृत्य भयो, नौमती बाजाको रमझम थियो। सांस्कृतिक प्रदर्शनीको व्यापकता थियो। मुख्यमन्त्री र अन्य अतिथिको मुखारविन्दबाट जय गोर्खाको नाराको दुन्दुभी थियो। सबैका शीरमा गोर्खा टोपी सुसज्जित थिए। हाम्रा तामाङ, मगर, गुरूङ, किरात, खस आदिका जातीय भेष-भुषाले हाम्रा युवक युवती सुन्दर देखिएका थिए। यी जातगोष्ठीका नृत्य थिए, पुस्तक बिक्रीको व्यवस्था मिलाइको थियो। इन्द्रेनी प्रकाशन र अन्य पसलमा पुस्तकहरूको अघि मानिसहरूको भीड़ लागेको थियो तर किन्ने थोरै थिए। पुस्तकका स्टलहरू परपर तर अन्य मेलाका सामानहरू वरवर थिए। गोर्खालीका परम्परागत गर-गहना, खाना-पीनाको बजार लागेको थियो। मूल पाण्डालभित्रको साहित्यको कार्यक्रममा भन्दा बाहिरको बजारको रमझममा हाम्राहरू झुमेका थिए। साहित्य सभाको साहित्य थिएन, सभा थियो।

समग्रमा भने चारदिवसीय अधिवेशन सफल भयो। कार्यक्रम गर्दा केही न केही यस्ता भूलचुक हुन्छन् नै। यसमा आयोजकहरूको उद्देश्य र नियत राम्रो थियो, काम गर्ने हौसला थियो। दुई दिने चुनावको चापले गर्दा मूलसमितिकाहरूले अधिवेशनका अन्य कार्यक्रममा भाग लिन र बेसी समय दिन पाएनन्। साहित्यको नाममा एउटा बजारको स्थापना गरिएको थियो। साहित्यिक संस्थाको पचास वर्षको स्वर्ण जयन्ती मनाउन हजारौंको जनभेलाको अवसर बनाइएको थियो। मुख्यमन्त्री आएर केही समाधान गरिदिने आश्वासन दिए, अन्य मन्त्रीले पनि राम्रो भने, जातीय चेतनाको स्तर उकासिएको थियो। सयवटा नेपाली किताबको विधिवत लोकार्पण भयो, एक्काइसजनाले पुरस्कारले सम्मानित भए। नयाँ समिति गठन भयो। अब डा चिन्तामणि शर्मा, ‘डाङ्गरिया’ जस्ता कुशल र विद्वान र कुशल प्रशासक, डा इन्दुप्रभादेवी ‘डाङ्गरियानी’ जस्ती विदुषी र तिलक शर्मा ‘डाङ्गरिया’ जस्ता सक्रिय व्यक्तित्वहरूको नेतृत्वमा गठित नयाँ केन्द्रीय समितिले उक्त सभालाई धेरै गरिमामय, उपलब्धिपूर्ण सार्थक बनाउनेछ, साहित्यमय परिवेश सिर्जना गर्नेछ, ठुला ठुला कार्य गर्नेछ, असमभरिका नेपालीभाषी जनसमुदायको छोराछोरीले एउटा भाषाका रूपमा भए पनि नेपाली पढ्न पाउने सुयोगको सृष्टि गर्नेछ, आशा गरौं । यो जिम्मावारीको ‘टोप्लो’ त्यस नयाँ समितिको काँधमा आइपरेको छ। सहयोग चाहिएमा नेपाली साहित्य अध्ययन समिति, कालेबुङ पनि सदा तत्पर रहनेछ ।

०००

लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), भारतीय नेपाली समालोचक कोष (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी भारतको कालिम्पोङमा बसोवास गर्छन् ।

3 thoughts on “असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती; मेरो अनुभव

  1. रेणु पाण्डे ढु़ंगेल,पं-कार्विआंलं, असम says:

    सर्वप्रथम हजुरलाई नमस्कार सुस्वास्थ्यको कामना गर्दछु।धेरै धेरै शुभकामना।म अतिनै खुशी छु सम्पूर्ण विवरण पढ़्न पाउंदा,हजुरले दूधको साक्षी बिरालो भनेझैं सत्य कुराहरु सबै स्पष्ट गरी खुलस्त रुपमा जनसमुहमा पुर्याउनु भयो। कोटि कोटि नमन हजुरलाई। धन्यवाद।

  2. *साहित्य सभाको अधिवेशन त्योपनि स्वर्ण जयंती समारोह तर व्यवस्थापनमा कमी कमजोरी किन हुन गयो!?*

    उपरोक्त गजबको लेख लाजवाब अनुभव र साहित्य सभा नामक बौद्धिक संस्थाले भाषा साहित्य सम्बन्धित कुराहरू मात्रमा केन्द्रीत रहेर समिति चयन भोटीङ बिनाको निर्वाचन प्रक्रियाले भाषा साहित्यबोध र संस्थालाई नेतृत्व दिनसक्ने व्यक्तिको सोझै चयन हुनुपर्छ भने यसलाई राजनीतिक मंच बनाउनु दूर्भाग्य हो साहित्य सभाको!!

    आफ्नो गोर्खा भाषा साहित्यलाई प्रधान्य नदिनु र हामीले नै अरू भाषामा कुरालाई प्रकाशित गर्नु र बैनर पोस्टर हाम्रो भाषाका भन्दा अरू भाषाका टास्नु हाम्रो साहित्य संस्थाको विडम्बना हो र आएका अतिथिहरूको पंजीकृत नहुनु स्वर्ण जयंतीको स्वर्णिम क्षणबाट झनै बिमुख हुनुहो तथा नेपालका धेरैमात्रमा अतिथि निमंत्रण गर्नु भनेको पनि दूर्भाग्य हो जहाॅ असमकै दिग्गज साहित्यिक हरूलाई निमंत्रण नगर्नु साहित्य सभाको विडम्बना हो!!

    हामेरले देख्दापनि धेरैखाले खामख्याली देख्यौ र विविध मंचहरू विविध स्थानमा हुनाले अतिथि, प्रतिनिधि वा जनतालाई ओरदोरको समस्या थियो तथा अनुष्ठान गजबनै थियो बृहत रूपमा अनुष्ठित भएको हो र साहित्यको स्वर्ण जयंती अर्थात साहित्य समारोह व्यापक रूपमा भएको थियो गलती हुनु स्वाभाविक हो तर आगामी दिनमा पुनः ती कुराहरूको ख्याल गरियोस र बाहिरी कुराहरू भन्दा केवल साहित्यको महत्वलाई ध्यानमा राखियोस भनि आग्रह रह्यो!!

    _खस गोर्खे केटो- -TGB_

  3. आदरणीय नवीन पौडेल सरले असम नेपाली साहित्य सभा को स्वर्ण जयंती समारोह तथा महाधिवेशन को अनुभव बारे एकदमै सुन्दर सारगर्भित र यथार्थपूर्ण अनुभवलाई विस्तृत रूपमा चर्चा गर्नुभाको छ। मेरो विचारमा पनि प्रतिनिधि सभा मैं धेरै व्यस्त रहनुपरेकोले अन्य महत्वपूर्ण कार्यक्रम हरू छुटे मलाई पनि एकदम खल्लो लाग्यो विशेष रूपमा संगोष्ठी हुन एकदमै आवश्यक थियो। डॉ गोविंदराज भट्टराई जस्ता दिग्गज व्यक्तिले कार्यपत्र पाठ गर्न नपाउनु हाम्रो लागि दुर्भाग्य हो।मेरो विचार मा अलिकति गृहकार्य हुनु पर्थो, कुनै योजना नभये जस्तो भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *