नकुल सिलवाल
(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “प्रह्लाद पोखरेल” को परिचय।)
काही छन्दमा मीठा-मीठा, सुनिरहूँ जस्ता लाग्ने कविता लेख्ने र पढ्ने प्रह्लाद पोखरेल गद्यमा पनि उस्तै साजसज्जाका आकर्षक कविता लेख्नुहुन्छ । लेखी नै रहनुभएको छ लामो समयदेखि, छापी नै रहनुभएको छ । उहाँका पुस्तकहरू पनि प्रकाशनमा आइरहेकै छन् ।
साना-ठूला केही पुरस्कारले पनि उहाँ झकिझकाउ नै हुनुहुन्छ । कतिपय कविता चर्चित छन् । गोष्ठीमा पनि ताली र स्याबासी पाउनुहुन्छ तर कविताको नेतृत्व भने अरू चतुरहरूले गरेको देखिन्छ, चर्चा, मूल्याङ्कन, पाठ्यसामग्री वा पुरस्कारमा पनि ।
तर कवि प्रह्लाद पोखरेल सरल र सरस हुनुहुन्छ – व्यवहारमा पनि, सृजनामा पनि । अरूले जस्तै जागिर उहाँले खानुभएको हो, मुस्किलले प्रमोसन पनि भएकै देखियो । चालीस नाघेपछि सरदर नेपालीजस्तै उहाँलाई पनि बुढ्यौली लागेको हुनुपर्छ । तर कवितामा थाक्नुभएको छैन उहाँ, उसै गरी लेखिरहनुभएको छ, निरन्तर छापिरहनु नै भएको छ ।
कवि प्रह्लाद पोखरेल कहिले जानुभयो हुम्ला कुन्नि तर उहाँले २०५३ सालको मधुपर्कमा ‘कुहिराको कम्बल’ छाप्नुभयो । कुहिरो ओढेर मस्तले चुपचाप निदाइरहेको हुम्लाको ठे गाउँमा पुगेर नै लेखेको अनुभूति हुन्छ पढ्नेलाई । हुम्ला वा ठे गाउँ चनाखो होस्-नहोस्, कवि भने एकदम सचेत हुनुहुन्छ ।
काव्यात्मक उचाइसहितको प्रभावशाली कविता ‘कुहिराको कम्बल’ लाई २०५३ का उत्कृष्ट रचनाहरूमध्येबाट सर्वश्रेष्ठ कविता मानेर यो सङ्कलनमा राखिएको हो ।
०००