रञ्जुश्री पराजुली
बाजे जिजुबाजेको पालामा तीर्थ जाँदा यति समय सम्म हामी फर्किएनौं भने हाम्रो काज किरिया गर्नु भनेर जान्थे रे ।यस्तो कुरा मैले धेरै तिरबाट सुनेको छु । केही समय अगाडि सम्म पनि काशी ,अयोध्या आदि तीर्थस्थल लजान नेपालबाट गाडीमा गोरखपुर त्यताबाट भारतीय रेल चढेर विभिन्न नाका हुँदै जान पर्थ्यो। जसले गर्दा समय लाग्थ्यो पनि ।तर अहिले हवाई यात्राको सुविधा ,बाटोघाटो पनि बनेको हुनाले संसारको एउटा कुनोबाट अर्को कुनो पुग्न त्यति गाहारो छैन। तर खर्च भने मनग्य बेहोर्न पर्छ ।
सीता माताको जन्म स्थल नेपालको जनकपुर भए जस्तै रामको जन्म स्थल अयोध्या हो । यो अयोध्या सनातन धर्मावलम्बीहरूको लागि स्वर्ग समान तीर्थ स्थल हो। सयौ वर्षदेखि हिन्दू र मुसलमानको राम मन्दिर र मस्जिदको लागि खिचातानी रहेको अयोध्यामा एउटै ठाउँमा कहिले मन्दिर ,मन्दिरलाई मुसलमानले भत्काएर मस्जिद बन्ने क्रम वर्षौं अगाडिदेखि चल्दै आएको थियो । संसार कै धेरै हिन्दू जनसङ्ख्या भएको भारत देशमा भारतीय जनता पार्टी सत्तामा आए पछि प्रधानमन्त्री लाल कृष्ण आडवानीले रथयात्रा गरेर राम मन्दिरको निर्माणको पहल सुरु गरे र अहिले प्रधान मन्त्री मोदीको पालामा आइ पुग्दा सोही स्थलमा राम मन्दिर बनाएर भव्य रूपले मन्दिरको उद्घाटन भयो । टिभीमा उद्घाटन भएको कार्यक्रम हेर्दा ,श्रीरामको अवर्णनीय सुन्दर मूर्ति देख्दा त्यस्तो ठाउँमा पुग्न पाए हुन्थ्यो भन्ने इच्छा ममा पल्हायो । तर त्यहाँ पुग्न त्यति सजिलो थिएन । एक्लै जाने कुरा भएन । म आफू धेरै अमेरिका बस्ने हुनाले मेरो समय पनि मिल्न पर्यो।
भदाको बिहे मान्न म अमेरिकाबाट एक्लै आएको थिएँ । यही मौका पारेर घुम्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । हाम्री छोरी अर्थात् भतिजी सबुको बयान मैले योभन्दा अगाडिको नियात्रामा गरि सकेको छु ।उनी सकृय नभैकन हाम्रो घुम्ने कार्यक्रम बन्दैन । यो पटक फेरि तीज , दसै तिहार पनि परेको र सबु लगायत धेरै जसो हामीलाई विदेश तिर जानू पर्ने पनि थियो । सबु छोरीको ट्राभल एन्ड टुर नै व्यवसाय भएकोले हाम्रो धार्मिक तथा पर्यटकीय यात्रा कार्तिक नौ २०८१ मा सुरु भयो । हामी दसजना परिवारका सदस्य जसमा साहिँला देवर बाबु न्यायाधीश पुरुषोत्तम पराजुली र देवरानी शर्मिष्ठा ,भतिज बाबु सञ्जय पराजुली र बुहारी निलम खनाल, भतिजी प्रभा शर्मा र ज्वाइँ टीका शर्मा, भान्जा बाबु फणीन्द्र अधिकारी र बुहारी करुणा, छोरी सबला भण्डारीको ज्वाईंलाइ जान मिलेन, अनि म गरेर दस जना श्री एयरलाइन्सको विमानबाट भैरहवा गौतम बुद्ध एयर एयर पोर्ट पुग्ने हाम्रो तोकिएको यात्रा सुरु गर्ने पक्का भयो ।
जाने दिन हवाईजहाज साढे नौ बजे उड्ने थियो जसको लागि हामीलाई साँढे सात बजे त्यहाँ पुग्नु पर्ने थियो । तर उडान एक घण्टा ढिला हुने भए छ । म बाँसवारि मा बस्ने ,भाञ्जा बाबू फणीन्द्र बाबु वसुन्धरामा बस्ने भएकोले हामी सङ्गै कतै जानू छ भने बुहारी करुणा माइजू यति बेला तयार भएर बस्नु है ।हामी लिन आउँछौ ” भन्छिन् । उडान ढिलाइ भएको उनले मलाई जानकारी दिइन् । हामी त्यसैले ढिला नै पुग्यौं । तर भतिजी प्रभा र ज्वाइँ विचारा हतार गरेर सात बजे नै पुगेर कुरेर बसे छन् ।भित्र पसे पछि फेरि उडान ढिला भएको सूचना सुन्यौं । भैरहवा एयरपोर्ट भव्य रहे छ । सबै व्यवस्थित भएको रहेछ । अन्तरराष्ट्रिय स्तरको नै रहे छ । हर्ष लाग्यो । बुढा बुढी ,साना बच्चा बोकेका आमाहरूलाई उडान ढिला भएकोले अप्ठ्यारो भइरहेको थियो । ११.३० बजे जहाज चढ्न जान भनेर सटल बसमा बसालियो । तर त्यो पनि केही बेर जहाँको तहीँ रोकियो । घाम चर्को थियो । यात्रुहरू सबै ठट्यौलो भएकोले घाममा सेकिएको पनि पत्तो भएन । बल्ल गाडीले हामीलाई हवाई जहाज सम्म पुर्यायो ।भित्र पस्यौं आआफो सिट नं खोजेर बस्यौ । यात्रा जम्मा आधा घण्टाको थियो ।बीचमा परिचारिकाले पानी र गुलियो क्यान्डी घुमाइन् ।खानेले खाए ।आधा घण्टामा नै हामी जहाजबाट अवतरित भयौं । त्यही नै हाम्रो लागि उत्तर प्रदेश भारतको दुइटा गाडी पर्खि राखे रहेको रहेछ । भात खाने समय नाघि सकेकोले सबैलाई भोग लागिरहेको थियो । गौतम बुद्ध एयर पोर्ट बाहिर नै -“गोर्खा किचन” भन्ने खाने ठाउँ रहेछ । सबै भित्र पस्यौं रोजाइको खाना मगाएर खायौं ।खाना मोमो ,चाउमिन ,भुटुवा ,सेकुवा थाली भात सबै मीठो र स्वादिलो भएकोले आनन्द सङ्ग खायौं। त्यसपछि एउटा गाडीमा पाँचजनाको दरले बसेर रामललाको जन्मभूमि २४० किलो मिटर दूरीमा रहेको अयोध्या तीर्थ धाम तर्फ गुड्यौं । सिमाना पारी सुनौलीमा दुई तर्फ नै पसलहरू थिए ।सुनेको मात्र थिएँ, देखेँ पनि । पानी ,नरिवल पानी ,मौसमको जूस अनि सानो माटोको मट्कालाई आगो जस्तो पोलेर त्यसमा चिया पाईंदो रहेछ । चिया हाल्दा पनि झ्वाइँ हुने । त्यसलाई फेरि कागजको कपमा अडाएर खान सजिलो हुने गरी दिँदा रहेछन् । त्यो पनि चाख्दै अगाडि बढ्यौं । राती आठ बजे अयोध्या पुग्यौं ।
अयोध्यामा पुगेर श्रीरामको दर्शन गर्नु भन्दा पहिले हनुमान गडी पुगेर हनुमानजीको दर्शन गर्नु पर्ने रहेछ ।हामी त्यतै हानियौं अयोध्या पुगे पछि जताततै भित्तामा रामायणका चित्र देखिन्थे । सबै तिर झिलिमिली बत्तीले पूरा उज्यालो बनेको थियो । जताततै मोदी र योगीका तस्विरहरू देखिन्थे । भित्र पस्ने ठूलो द्वार सङ्गै लता मङ्गेसकर चोक थियो ।त्यहाँ ठूलो सितार बनाएर राखिएको थियो ।तस्विर खिच्नेको भिड थियो हामीले पनि खिच्यौं। भित्र मोटर लान नपाउने रहेछ ।कतै चाहिँ अटो लान पाउने तर कतै त त्यो पनि नपाउने रहेछ । सरयू नदीको आरती पनि सकिए रहेछ । रात परिसकेको थियो ।सडकमा दुई तिर नै घरबार विहीनहरू सुतेका देखिन्थे ।माग्नेहरू जताततै देखिन्थे । दौडादौड गरेर गाइडले छोटो बाटो पु-याउँदा पनि हनुमानजीको दरबार बन्द भैसकेछ ।तर पनि चारै ढोका बाहिरबाटै दर्शन ग-यौं र बुकिङ्ग गरेको होटेल तिर लाग्यौं ।
राम मन्दिरको उद्घाटन भएपछि अयोध्याले विकासको बाटो लिन थालेको रहेछ । हाम्रै समूहका कोही पाँच वर्ष अगाडि जाँदा अयोध्या केही थिएन रे । अव भिन्दै हुन थाले छ भने ।गाडीमा गन्तव्य राख्न नमिलेर हो कि ,होटेल पुग्न धेरै घुम्नु पर्यो । होटेल बन्दै गरेको भए तापनि सबै सुविधा थियो ।तर हामी कसैलाई पनि त्यो मन परेन होटेलको नाम ” कनक कुटीर” रहेछ । एक रातको लागि भएकोले बस्यौं। भोलिपल्ट आठ बजे नै हनुमान गढी पुग्यौं । भिड थियो । गाइडको सहयोगमा चारै ढोकाबाट दर्शन भयो ,फुल माला सहित प्रसाद पाइयो । भारतमा मन्दिरहरूमा धेरै पैसा दिएर चाँडै दर्शन गर्न पाउने चलन भएको मैले पाएँ । कहिले श्रीरामको दर्शन पाइएला भन्ने लागिरहेको थियो ।लोग्ने मान्छे र स्वास्नी मान्छेको लाइन फरक थियो ।जुत्ता फुकालेर, ब्यागहरू ,मोबाइल सबै लकरमा राख्न पर्ने रहेछ । तस्विर बन्दै खिच्न नपाइने रहेछ ।दर्शन राम्ररी भयो ।हुल त थियो तर व्यवस्थित थियो ।त्यसपछि सानो तिनो प्रसाद बाँड्ने किनमेल हिँड्दा हिँड्दै भयो अनि बाटो मै पर्ने आफूहरूलाई सुहाउने होटेलमा खाना खाएर बनारस अर्थात् काशीको लागि गुडियो ।
अयोध्याबाट बनारस पुग्न बाटोमा कतै अलमल पनि भएकोले पाँच घण्टा जति नै लाग्यो होला । ड्राइभरको भनाई अनुसार अयोध्याबाट बनारस दुई सय चालीस किलो मिटर पर्छ तर बाटोमा धेरै ठाउँ मा अड्ने ,ट्राफिक जाम भयो भने त्यो भन्दा पनि बढी लाग्छ भने। डिहाइड्रेसन होला भनेर बाटोमा नरिवल पानी ,सादा पानी खाँदै गर्यौं । बाटोमा पछाडिबाट आएको गाडीले हाम्रो दुई मध्य पछाडिको गाडीलाई हान्यो । गाडी कुच्चियो । ड्राइभर ओर्लिएर संवाद गर्दा उसलाई ठूलो स्वरले “बनारस वाले सङ्ग जोरी नखोज” भन्दै हुईंक्यायो ।
हाम्रो उद्देश्य काशी पुगे पछि श्राद्ध गर्ने पनि थियो ।त्यसैले देवर बाबु ,देवरानी र म त्यो दिन र भोलि पल्ट शाकाहारी भएका थियौँ । तरकारीमा लसुन प्याज गोल भेडा केही नहालीकन बनाउ भने पछि त्यस्तै पार्दो रहेछ। बाटोको ढावामा हामीले त्यस्तै चोखो खाना खायौं। । दशैं पछिको सिजनमा त्यहाँ हरियो अम्बा पाइँदो रहेछ ।कुनै अम्बा त एक किलो तौलकै थियो । रसिलो पनि । बनारस पुगे पछि बुक गरेको होटेल भित्र पसेर हेरेर जाँचेर ठीक लागे पछि मात्र सबै भित्र पस्यौं ।होटेल सुविधायुक्त्त थियो ।हाम्रो लागि सबै कोठाहरू एउटै तल्लामा थियो । खाने रेस्टुरेन्ट पनि हाइफाइ नै थियो । होटेलको नाम ” भामिट” थियो । सायद परिवारको नामबाट राखेको होला ।हामी दुई रात त्यो होटेलमा आनन्द सङ्ग बस्यौं । एघार गते साँझ गंगा माताको विश्व विख्यात आरती हे-यौं ।साना ठूला एक तल्ले दुई तल्ले धेरै डुङ्गा र जहाज थिए ।सबै आरती दर्शन गर्नेहरुले भरिएका थिए । गंगा मातालाई जल सेचन गर्न पनि हाइजेनिक रूपले ठीक थिएन । तर पनि जललाई श्रद्धा पूर्वक छोएँ ।तर मुखमा हाल्न सकिन ।दुर्गा माता सङ्ग माफी मागेँ ।गङ्गाको बीचमा पुगेर आनन्द सङ्ग आरती हे-यौं ।माताको आशीर्वाद लियौं ।भोलि पल्ट बिहान सबै भन्दा पहिले हामी सबै जना राज घाट पुग्यौं । बनारसकी गंगा माताको जस्तै नै राज घाटको पानी पनि धमिलो नै थियो । सिनेमामा देखे जस्तो सफा र सुन्दर राज घाट पनि थिएन । यस पाली आएको बाढीले माथि सम्म चिम्टे माटो थुपारेको रहेछ। पानीको बुलेट स्प्रेले माटो पन्छाउँदै थिए । हामीले सबै श्राद्धको सार्दाम नेपालबाट नै लगेका थियौं ।सिधाको सार्दाम ,कुश, जौको पीठो ,दुना ,बोता टपरी सबै । सञ्जय छोराले श्राद्ध गराउने गुरु मिलाई सकेका थिए। हामी पुगेको केही बेर पछि सबै सार्दाम लिएर आए ।उनीहरुले सबै आफुले ल्याएको सामान प्रयोग गरे ।हामीले लगेको त्यहाँ राखे मात्र ।श्राद्ध सकिए पछि सबैको पैसा लिए । हामीले त्यो ठाउँ आ आफै सफा गरि दिन खोज्दा उनीहरूको मान्छेले नै गर्छ भने । त्यसको पनि पैसा बेग्लै लिए ।त्यस्तो घाट वरिपरि पनि चिया चमेना बेच्न डुलाउँदा रहेछन् । किनेर खानेले खाँदै पनि थिए ।
हाम्रो देशमा भएका मन्दिरहरूको बनावट र त्यहाँकोमा धेरै भिन्नता रहेछ ।हाम्रा मन्दिरहरूको बनावटको शैली फरक पाएँ । त्यहाँ भने ठूला मन्दिरहरूलाई मात्र टाढाबाट देख्न सकिंदो रहेछ जस्तो मलाई लाग्यो।
श्राद्ध सकिए पछि हामी विश्वनाथ मन्दिरको दर्शन गर्न तिर लाग्यौं । त्यहाँ विशेष टिकट काटेर चाँडो दर्शन गर्ने लाइनमा बस्यौं । राम्रो सङ्ग प्रत्यक्ष दर्शन गर्न पायौं । मन्दिर र त्यसको वरपर अरु भगवानहरू जस्तै सरस्वती, अन्नपूर्ण , भैरव आदी आदि अरू अनगिन्ती भगवानका साना, आकर्षक, सफा र सुन्दर मन्दिरहरू पनि थियो । सबै तिर दर्शन गरियो । अन्नपूर्ण माताको मन्दिरमा मैले अली थोरै भेटी चढाएँ । मलाई एक चिम्टी चामल मात्र प्रसाद दिए । म सङ्गैकी अर्कीले सय रुपैयाँ चढाइन् उनलाई चामल ,रुद्राक्ष, अमला गरेर राम्रो प्रसाद पुजारीले दिए ।बाहिर आए पछि मैले हाम्रो गाइड जो त्यहीकै पहेँलो गम्छ र धोती लगाएर हामी सङ्गै हिँडेका थिए ।उनलाई ” प्रसादमा पनि यस्तो भेदभाव किन हुन्छ?” भनेर सोधेँ । जबाफमा उनले ” चढावा हेरेर प्रसाद पाइन्छ ।अर्थात् जति ठूलो चढावा उति ठूलो प्रसाद पाइन्छ” भने ।उनको जबाफ सुनेर म अचम्म परेँ। हिँड्दा हिँड्दै मेरो नजिकै ” दिज्जु दर्शन ” भनेको सुनें ।मेरो माइती तर्फ कि एकजना बुहारी पनि विश्वनाथ दर्शन गर्न समूहमा आएकी रहिछन् । परदेशमा आफन्त देख्न पाइनुको आनन्द नै अर्कै हुने रहेछ ।सङ्गैका भतिजीहरूले ” हाम्री माइली आमा जता गए पनि आफन्त भेट्छिन् ” भनेर रमाइलो गरे।
त्यसपछि त्यो दिन हामीलाई मिस्टर गुप्ताको आतिथ्यमा विश्वनाथ सङ्गैको खाजा पसलमा पुरी तरकारी र जेरीको मीठो खाजा खाने मौका मिल्यो । आफ्नै आँखा अगाडि लच्छा गरेर पकाएको ज्वानो आदि हालेर बनाएको पुरीको स्वाद गजव स्वादिलो थियो । बनारस सङ्ग एउटा शब्द जोरीएको छ ।त्यो हो सारी अर्थात् “बनारसी सारी” । रेसमको सारी बनाएको हेर्दै किन्न पनि पाइने एउटा प्रसिद्ध ठाउँमा पुग्यौं ।त्यहाँ सायद इन्डियन सङ्ग बिहे गरेका होलान् केही कुइरेहरु पनि सारी किनिरहेका थिए ।हाम्रो समूहका पुरुष जति घुम्न गए । हामी महिलाहरू सारी छान्न तल्लीन भयौं । करुणा भाञ्जीले बुहारीले अस्ट्रेलिया बस्ने छोराको बिहेको सारीहरूका साथै निलम बुहारी, सबु , प्रभा भतिजीहरूले चाहिँदो सारी किने ।मेरा छोरी बुहारीले सारी चाहिंदैन भनेकाले किनिन । १२ मध्यान्नमा सिल्क स्टोर् पुगेको चार बजे किन्न सकियो । त्यहाँ साढे दुई लाख पर्ने सारी पनि थियो । हामीले “हेर्न पाइन्छ ” भनेर सोध्दा ” पाइन्छ तर एउटाले हेरेको बीस रुपैँयां लाद्छ” भन्यो ।तर त्यो उस्ले ठट्टा गरेको रहेछ ।नछोईकन हेर्न देखायो ।त्यो एउटा सारी बनाउँन नौ महिना लाग्छ ।त्यमा सुन र चाँदीको धागोको काम हुन्छ भनेर देखायो ।” यस्तो महङ्गो सारी बिक्छ त ” भनेर सोध्दा” अम्बानी जस्ता धनीहरूले किन्छन् ” भन्यो । चार घण्टा त्यहाँ बस्दा बनारसी पान ,चिया, चिसो ,पेय , पानी समोसा आदि खाजा पनि खायौं ।
त्यसपछि हामी बनारस तीर्थलाई नमस्कार गरेर लखनउ शहर पर्यटकको रूपमा लाग्यौं । बनारसबाट लखनउ करिब तीन सय किलोमिटर पर्दो रहेछ । बाटो राम्रो थियो। हाईवेमा गाडि रफ्तारमा चल्यो । बीच बीचमा ढावाहरु देखिन्थे । भित्री सड्क तिर प्रशस्त खाने ठाउँहरू देखिन्थे । नरिवल पानी यत्र तत्र पाइन्थ्यो । अम्बा भने विचित्रका पाइन्थे । एउटै अम्बाले दुई जनाको पेट भरिने साइजका ठुला । हाम्रो गाडी रफ्तारले गुडी रह्यो ।पेट्रोल हाल्ने ठाउँ तिर सुलभ शौचालय पाइन्थ्यो ।ती पानी भएका सफा नै हुन्थे। साँझ सात बजे लखनउ पुग्यौ ।साँझको बेला यो सहर बत्ती र रङ्गिन विज्ञापनहरूको साइनबोर्डले झिलिमिली देखिएको थियो । साँच्चै भन्न पर्दा अमेरिकाको कुनै डाउनटाउन जस्तो मैले अनुभुती गेरें । हाम्रो दुई रात बस्ने अखडा मेरियट होटेल थियो ।यो होटेलको संसार भरि नै चेन होटेलहरू छन् ।सबै तिरका यो होटेलको भित्री बनावट एउटै जस्तो हुने भएकोले र आफू प्रायः यस्ता होटेलमा बसिसकेको ले खुशी लाग्यो । आ आफ्नो कोठामा पुगेर ताजा भए पछि सबै जना हलमा जम्मा भएर शहर घुम्ने ,खाने भनेर बाहिर निक्लियौं ।वातावरण रमाइलो थियो ।लखनउ शहर उत्तर प्रदेशको क्यापिटल सिटी रहेछ । एक रेस्टुरेन्टमा हामीले भव्य डिनर खायौं । नवावको सहरमा पुगेपछी त्यहाँका डेलिकेशी खाना त पर्यो भनेर चाख्यौं । होटेल फर्किँदा बलिउडका नयाँ हिरो शुशान्त शिंह राजपुत जो आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए उनी लखनउका रहेछन् । उनको नाम यहाँ को सहरलाई दिएको रहेछ ।हरियो पार्क पनि रहेछ। उनको नाम भएको लठ्ठामा ” शुशान्त सिंह सिटी लेखेको थियो । उनको मृत्यु माथी धेरै प्रकारका टिपपणीहरु प्रचारमा आएका थिए । रात परि सकेकोले त्यो दिनको घुमाइलाई थाती राखेर विश्राम गरियो ।भोलि पल्ट बिहान होटेलमा नै प्रशस्त बिहानको खाजा खाएर ११ बजे तिर लखनउका नवावहरूको पाँच ,छ सय पुराना चित्र भएको ऐतिहासिक म्युजियम हेर्न गयौं । त्यता तिर गाडी लान नपाइने रहेछ । जताततै तीन पाङ्रे अटो पाइने रहेछ ।त्यसैमा चढेर घुम्यौं, हेर्यौं । भित्र पस्न र गाइडको लागि तोकिएको रकम तिर्न पर्दो रहेछ ।पर्यटकहरू प्रशस्त थिए । हुल नगरीकन भित्र पसाउँदै थिए। पेन्टिङ्ग म्युजियमको वरिपरि ठूला ठूला फ्रेममा नवावहररूको पाँच सय ,छ सय वर्ष अगाडि तयार भएका पेन्टिङ्गहरु झुन्ड्याइएका थिए । ती सबै पेन्टिङ्घरु कतै पनि केही दखल नपरेका सफा र सुन्दर थिए ।प्रत्येक पेन्टिङ्गको तल नवावको नाम र मिति लेखिएको थियो । पेन्टिङ्ग हेर्दा एउटा सार्है अचम्मको अनुभूति हुँदो रहेछ । गाइडले हामीलाई सबै कोणबाट तस्विर हेर के फरक पाउँछौ खोज भन्यो । अचम्म ” हामीले जतातिर बाट हेर्यो नवावको अनुहार अनि उनले लगाएको चुच्चे जुत्ता त्यतै फर्किने ” सयौं बर्ष अगाडिको आर्ट आएण्ड पेन्टिङको कमाल अनि त्यस वेलाका चित्रकारहरूको दक्षतालाई आधुनिक चित्र कारिताले भेट्न सक्दैन” भनेर आफ्ना पूर्वज चित्रकारहरूको गौरव र गरिमाको बयान ग-यो गाइडले । त्यस पाछी हामीले पुराना नवाव कालिन दर्बारहरू बाहिरबाट नै हेर्यौं । त्यहाँ एउटा बाटुले ,चित्रकारीताले सिङारिएको चार तल्ले बाटुलो घर थियो । त्यस बेलाको एउटा नवावले आफ्नी वेगम र छोरीको लागि बाहिरको रमिता हेर्न बनाएको रे ।सात तल्ला बनाउँदा बनाउँदै चार तल्ला बने पछि छोरी मरेकीले त्यसलाई”मनहुस अर्थात् अलक्षिनी महल ” भनेर त्यत्तिकै छोडी दिएको रे ।त्यस पछि लखनउ मा घुम्नै पर्ने अर्को ” भूलभूलैया” रहेछ ।हामी पुग्यौं ।गाइड नलिइकन जाने त कल्पना पनि गर्न नसकिने रहेछ । नामै भूलभूलैया । ठूलो नवाव कालिन ढोकाबाट टिकट काटेर गाइडका साथ भित्र पसे पछि दायाँ बायाँ दुवै तिर मग मगाउँदो फुल सहितको सुन्दर बगैँचा पार गरेर खुड्किलो चड्दै जुत्ता फुकालेर माथी उक्लनुपर्छ । टाउकोमा चर्को घाम खुट्टोले तातो सिमेन्टको ब्लक टेक्दै माथि उक्लिए पछि पहिले ठूलो हलमा पुगिन्छ । त्यहाँ धेरै ढोकाहरू छन् ।कताबाट पसे कता पुगिन्छ जस्तो । भूलभूलैयामा भुले पछि हराइँदो रहेछ । तर गाइडलाई भने यो ठाउँ मा यति खुड्किला छ भन्ने कण्ठ हुने रहेछ अनि “यति खुड्किलो छ । गनेर उक्ल ” भन्थ्यो ।बीच बीचमा सानो ठाउँमा चार ,पाँच , छ घुम्ती हुने अनि हामीलाई कसरी थाहा हुने ? कताबाट गए कता पुगिन्छ भनेर । माथि पुगे पछि कौसी जस्तोबाट मूल पस्ने ठूलो ढोकामा को आयो , के भइरहेछ सबै देखिंदो रहेछ जसलाई गाइडले त्यति बेलाको सिसि टिभी हो भनेर गौरव साथ देखायो । फर्किने द्वार पट्टि त्यो बेला वेगमले नुहाउने कुवा रहेछ ।त्यो पनि त्यस्तै सुरक्षित तरिकाले बनाएको रहेछ ।
लखनउ पुगे पछि अर्को जानै पर्ने ठाउँ” भूत नाथ ” रहेछ। नाम सुन्दा त मैले कुनै भगवानको मन्दिर होला भन्ठानेको थिएँ । तर त्यो त सपिङ्ग बजार रहेछ । दिवालीको बेला भएकोले धेरै भीड थियो । मोटर ,अटो , मोटर साइकल जसले सक्छ पेल्ने रहेछन् । हर्न बजाएर ध्वनि प्रदूषण उच्च बिन्दुमा थियो । जताततै सामान बेच्न राखेको थियो ।खानाको सामान, लुगा फाटा ,नक्कली गहना ,दियो पाला आदि आदी सबै पाइन्थ्यो त्यहाँ । हेर्यौ ,घुयौ, रमायौ छ्ल्लिएलाकी भनेर कतै त हात समातेर पनि हिड्यौं ।
त्यो रात होटेलमा विताए पछि भोलिपल्ट बिहान पनि होटेलमा हेभी ब्रेक फास्ट खाएर लखनउलाई वाईवाई गरेर नेपालगञ्ज तिर लाग्यौं।यो गुडाई पनि लामो नै थियो ।त्यहाँ पुगेपछी भारत ,नेपालको सिमानाको बजार घुमेर नेपालगञ्ज एयरपोर्ट भित्र छिर्यौं । त्यहाँ पनि उडान करिव दुई घन्टा ढिला भयो ।अनि बुद्द्ध्री इयरको जहाजबाट काठ्मान्डौ अवतरण गर्यौ ।जय श्रीराम!!!
000
कवि परिचयः साहित्यका विविध विधामा कलम चलाउने रञ्जुश्री पराजुली नेपाली नियात्रा साहित्यको क्षेत्रमा प्रथम नियात्रा कृति, “विदेशमा बिताएका केही बर्ष” (बिसं २०४१) प्रकाशन गर्ने लेखिका हुन् । उनका कथा, समालोचना तथा वाल साहित्यका पुस्तकहरु प्रकाशित छन् । विभिन्न साहित्यिक संस्थामा समेत संलग्न उनलाई साहित्य सेवाका लागि पुरस्कार तथा सम्मान प्राप्त भएको छ । लामो समय त्रिविमा प्राध्यापन गरेर अवकाशप्राप्त उनी नेपाल अमेरिका दुबैतिर समय बाँड्छिन् र हाल अमेरिकाको टेक्सासमा बस्छिन् ।