मासिक कथा वाचनको चौधौं शृङ्खला सम्पन्न

मुख्य समाचार

२८ मंसिर २०८१, काठमाडौं

२०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको चौधौं शृङ्खला सम्पन्न भएको छ ।
यस शृङ्खलामा हरेक महिना कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर कार्यक्रम शुरु गर्ने परम्परा अनुसार दिवंगत स्रष्टा भवानी भिक्षुको कथा ‘त्यो फेरि फर्केला?’ वाचन गरेर कार्यक्रम आरम्भ गरिएको थियो । उक्त कथा ऐतिहासिक साहित्यिक पत्रिका शारदाको विसं १९९७ को अंकबाट कथाकार पबित्रा अधिकारीले वाचन गरेकी थिइन् ।
कार्यक्रममा छ जना प्रतिष्ठित कथाकारहरूले २०२०, २०३०, २०४०, २०५०, २०६० र २०७० को दशकमा प्रकाशित आफ्ना कथा वाचन गरेका थिए ।
कार्यक्रममा डा.देवीप्रसाद सुवेदीले २०२५ को उषा पत्रिकामा प्रकाशित कथा ’राक्षसको छायामुनि डुब्दै गएको उज्यालो’ शीर्षकको आफ्नो कथासङ्ग्रह ’सिपाही र जुलुस’बाट, अमरकुमार प्रधानले सर्वप्रथम २०३५ जेठको हलचल पत्रिकामा प्रकाशित कथा ’सुनौलो सगरमाथा’ आफ्नो ’अमरका कथाहरु’ शीर्षकको सङ्ग्रहबाट, बाबा न्यौपानेले २०४८ को मधुपर्कमा प्रकाशित कथा ’कुरुक्षेत्रका युधिष्ठिर र हस्तिनापुरकी राज्यलक्ष्मी’, अमोद भट्टराईले २०५४ वैशाखमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको समकालीन साहित्यमा प्रकाशित ’मैले कुखुरा बासेको सुनेँ’ शीर्षकको कथा आफ्नै कथासङ्ग्रहबाट, ‘परिस्थितिसँग अलमलिँदै’ शीर्षकको कथा रञ्जुश्री पराजुलीले सोही शीर्षकको आफ्नो कथा सङ्ग्रह (२०६२)बाट तथा कथाकार दीपक लोहनीले २०७६ मङ्सिरको शाल्मलिमा प्रकाशित ‘पिसाब’ शीर्षकको आफ्नो कथा वाचन गरेका थिए ।
सो कार्यक्रममा ‘बूकाहोलिक्स‘ की सगुना शाहले आफ्नो संक्षिप्त मन्तव्यमा यो मासिक कार्यक्रममा पहिलो पटक श्रोताका रुपमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै यसले पठन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान गरेको बताइन् ।
कार्यक्रमका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरुको स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरुबारे प्रकाश पार्दै विभिन्न पुस्ताका कथाकारहरू बीच व्यक्तिगत परिचय र फरक फरक कालखण्डका कथाका विषयवस्तु, शैली, प्रयोगबारे एक अर्कालाई जानकारी गराउन यो कार्यक्रम शुरु गरिएको बताए ।
अर्का परिकल्पनाकार पुष्कर लोहनीले आफूहरूले शुरु गरेको यो कार्यक्रममा कथा साहित्यमा रुचि हुने लेखक र पाठकहरूको सहभागिता बढ्दै गएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रम व्यवस्थापन संयोजक मन्दिरा मधुश्रीले धन्यवाद ज्ञापन गरेकी थिइन् भने आयोजक समितिका सदस्य समिना खनाल पृथाले कार्यक्रम संचालन गरेकी थिइन् ।
स्मरणीय छ, यो मासिक कार्यक्रम साहित्यकार पुष्कर लोहनीको निवास स्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *