श्रवण मुकारुङ

साभार रचना

नकुल सिलवाल

(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “श्रवण मुकारुङ” को परिचय।) 

श्रवण मुकारुङसँगको पहिलो भेट उहाँले कविता लेखेर चर्चा हुन थालेपछि मात्र भएको हुनुपर्छ ।

पूर्वबाट काठमाडौँ पस्नुभएका कवि सूर्यजस्तै फैलैर कवितासँग गीतमा पनि आफ्नै गुण लिएर देखा पर्नु भयो । थोरै समयमा उहाँले छ्यापछ्याप्ती कविता र गीतको बिस्कुन हाल्नुभयो । निकै राम्रा- राम्रा कविताहरू, लोभलाग्दा गीतहरू उहाँले रच्नुभएको हो । तर त्यसलाई अलि लामो समय धान्न सक्नुभएन कि जस्तो लाग्छ मलाई ।

त्यसो भनेर कवि श्रवणले लेख्नु नै हुन्न आजकाल भनेको होइन, उहाँका रचना फाट्टफुट्ट पढ्न पाइएकै छ । तर उहाँ जसरी देखा पर्नुभयो त्यसरी नै एकदम अगाडि बढ्न भने नसक्नुभएकै हो । यसमा मलाई भने दुःख लागेको छ । निकै भरिला, पोटिला, खाइलाग्दा कविता लेखेर पनि बगरका उत्कृष्ट रचनाहरूको शृङ्खलामा नपर्दा उहाँलाई पनि दुःख लागेको हुनुपर्छ, नत्र त उहाँले मेरा आत्मीय मित्रहरूलाई ‘यस्तो विशेषाङ्क निस्कनुभन्दा ननिस्कनु नै राम्रो’ किन भन्नुहुन्थ्यो होला र !

तर कवि श्रवणले आफ्ना अत्यन्तै रहरलाग्दा कविता बगरले ‘उत्कृष्ट रचनाहरू’ निकाल्न थाल्नुभन्दा पूर्व नै लेख्नुभएको हो । बहुदलीय प्रजातन्त्र आएपछि कवि श्रवण मुकारुङले कतै वरपर अल्झेर मूल प्रवाहलाई छोड्नुभएको पो हो कि झै लाग्छ मलाई । होइन भने उहाँ त मभन्दा पनि आधा दशकपछि जन्मेर पछिल्लो पुस्ताको नेतृत्व गर्ने होनहार कवि हुनुहुन्छ- अझै लाग्छ मलाई ।

श्रवणपछि जोडिएको ठूलो सङ्ख्या छ नेपाली कवितामा । को सफल हुने, को विफल हुने ? कम्तीमा पनि बीस वर्षको यात्रा हेर्नु छ ।

श्रवणले कमै कविता छाप्दा फेरि एउटा उस्तै बिछट्टै मार्मिक कविता छाप्नुभयो । पुरस्कृत पनि हुनुभयो यो कवितामा उहाँ । गरिमाले छापेको कवितालाई ‘उत्कृष्ट’ भनेर बगरले रोज्यो २०५२ मा । त्यसलाई सर्वश्रेष्ठ कविता भनेर यहाँ फेरि प्रकाशनमा ल्याइएको छ ।

Leave a Reply