कुन्ता शर्मा

साभार रचना

नकुल सिलवाल

(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “कुन्ता शर्मा” को परिचय।) 

पहिले कहाँ कसरी भेट भयो कुन्ता शर्मासँग मलाई थाहा छैन तर ५० सालअगाडि नै भेटेको हुँ । परिचित हुँ पहिल्यै तर ५० सालमा हामीले गरेका थियौं राष्ट्रव्यापी साहित्यिक यात्रा । त्यो यात्राका क्रममा धरान पुग्दा हामीले भेट्यौं कुन्ता शर्मालाई उहाँकै निवासमा ।

काठको निवास – तल भुइँमा गाई, उहाँ माथि आमा र छोराहरूसँग बस्नुहुने । गाईलाई खान्की-पिठो काखी च्यापेर, हामीलाई पाउरोटी, अण्डा र अरू के-के हातमा झुन्ड्याएर उहाँ देखा पर्नुभयो । केही क्षणअगाडि हामी पुग्यौं उहाँको घरमा – बिहान घाम लागिसकेको छ झलमल्ल । त्यस्तो घर मैले अरू साहित्यकारको देखेको थिइनँ र देखेको छैन पनि ।

उहाँ सांसद् हुनुभयो प्रमुख विपक्षी पार्टीकी । कस्तो घरव्यवहार छ थाहा छैन तर के चाहिँ थाहा छ मलाई भने कवयित्री कुन्ता शर्मा अत्यन्तै सङ्घर्षशील महिला हुनुहुन्छ- शिक्षिका, समाजसेवी, सङ्गठन-पार्टी कार्यकर्ता । महिलामुक्ति आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो, हुनुहुन्छ पक्कै । तर उहाँ “सङ्कल्प” जस्तो एक नम्बरको प्रगतिशील पत्रिकाकी सम्पादक हुनुहुन्थ्यो, हुनुहुन्छ । आजकाल भने “सङ्कल्प एकाध अङ्क मात्र देखिएको छ ।

तर दिज्यू कुन्ता शर्माका कविता भने नियमितजस्तै पढ्न पाइएकै छ- कतै न कतै । लामो समयदेखि कविता लेखिरहनु नै भएको छ अत्यन्तै शक्तिशाली भएर । चर्चित भएका कविताहरू ‘पोथी बास्नु हुँदैन’, ‘धातु’ र यस्तै कविताहरू… ।

नारीहरू बढी शिष्ट, शान्त र नरम रचना रच्छन् तर कुन्ता शर्मा भने बढी दह्रा तर मर्यादित कविता लेख्नुहुन्छ । उहाँका कविताहरू अलग्गै छन्, आफ्नै खालका । नारीमा छुट्टै प्रवृत्तिका कविता लेख्नुहुन्छ कुन्ता शर्मा । काठमाडौंबाहिर बस्ने प्रमुख साहित्यकारमा उहाँ पनि पर्नुहुन्छ । म उभिएको ठाउँ कवितासङ्ग्रह निकै चर्चामा आयो र सबैजसो बिक्री भयो पनि ।

“कविता”मा उहाँको कविता छापियो २०५१ सालमा ‘मेरा धरती बाँचिरहोस्’ र बगरमा साभार भयो उत्कृष्ट भएर । उत्कृष्टबाट पनि सर्वश्रेष्ठ भएर यहाँ फेरि छापिएको छ ।

 

०००

Leave a Reply