पारिजात

साभार रचना

नकुल सिलवाल

(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “पारिजात” को परिचय।) 

बगरको पहिलो अङ्क झोलामा बोकेर त्यस बखतका हरिहर अधिकारी आजकालका श्यामल कविसँग दोस्रो अङ्कका लागि रचना लिन पारिजात बस्नुभएको उहाँकी बहिनी सुकन्याको घरमा म गएको थिएँ ।

त्यसपछि म्हेपी जाने क्रम चल्यो, चली नै रह्यो । दिज्यू पारिजातले बगरलाई रचना दिई नै रहनुभयो । लेख, कविता, कथा छानी छानी दिनुहुन्थ्यो । ती रचनाहरू निकै चर्चित हुन्थे । ‘पारिजात’ कै कारण बगरको अङ्क बढी बिक्यो बजारमा । केही पारिश्रमिक दिएजस्तो गर्थें, उहाँले दिनुभएका आफ्ना कतिपय प्रतिनिधि अमूल्य रचनाका निम्ति त्यो मेरो सम्मान मात्र थियो, श्रमको मूल्य थिएन । तर उहाँ बगरले पारिश्रमिक दिन्छ भनेर अरू कत्ति पनि पारिश्रमिक-पत्रम पुष्पम् नगर्नेहरूलाई भन्ने गर्नुहुन्थ्यो । म भने पारिजातजस्ती महान् स्रष्टाबाट खुरुखुरु रचना पाउँदा जेजस्तो सकिन्छ पत्रिका निकालिरहन्थें । केही बजारमा, केही लेखकका हातमा, केही विज्ञापन दिने महानुभावहरूका टेबुलमा त्यो पत्रिका छरिरहन्थें ।

पारिजात र उहाँजस्तै केही असल साहित्यकारहरूबाट प्रोत्साहित भएर म झन् झन् उत्साहित भइरहन्थें । आज पनि त्यो भावना मरेको छैन, तर पारिजातजस्ता अमर स्रष्टाहरू नेपाली साहित्याकाशबाट भौतिक रूपमा हराउँदै हुनुहुन्छ । कतिपय महान् प्रतिभाहरूको जिउँदो शरीर नहुँदा र कतिपय लेखकका स्थूल शरीर सम्मुख हुँदा किन पत्रिका निकाल्नु, अरू नै कुनै आय आर्जन हुने काम गरौं जस्तो पनि लाग्छ तर जब बगरका प्रकाशित पुराना अङ्कहरू पल्टाउँदै जान्छु, पारिजातजस्ता प्रेरणादायी साहित्यकारहरूका रचना भेट्छु र पढ्छु अनि लाग्छ मलाई – होइन, पत्रिका त निकालिरहनुपर्छ जेजस्तो होस् । निकाली नै रहौं जस्तो लाग्छ ।

दिज्यू पारिजातको कविता ‘लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र’ उहाँलाई नभेट्दै पढेको हुँ, बेला-बेलामा पढ्दा पनि अझ पढ्न बाँकी नै जस्तो लागेर धेरै पछि पनि फेरि-फेरि पढेको हुँ । पारिजातलाई सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार दिएको “बैंसालु वर्तमान” कवितासङ्ग्रहको प्रकाशकीयमा मैले महाकवि देवकोटापछि अर्की ठूली महान् साहित्यकार पारिजात नै हुन् भनिदिएँ, भनिरहन्छु ।

बगरमा नै छापिएको म सडक बोल्दै छु’ कविता सर्वोत्कृष्ट रचनाहरू २०४८’ मा सङ्कलित थियो । त्यसै ग्रन्थका कवितामध्ये सर्वोत्कृष्ट कविता मानेर यहाँ प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *