मासिक कथा वाचनको तेह्रौं शृङ्खला सम्पन्न

मुख्य समाचार

३० कात्तिक २०८१, काठमाडौं

गत वर्ष साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको तेह्रौं शृङ्खला सम्पन्न भएको छ ।
कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर आरम्भ गरिने परम्परा अनुसार दिवङ्गत स्रष्टा विष्णु चरण श्रेष्ठ (कवि सिद्धिचरण श्रेष्ठका पिता) को कथा ‘कुबेरको ढुकुटीको साँचो’ कथाकार तथा नियात्राकार चन्द्रप्रसाद भट्टराईले ऐतिहासिक साहित्यिक पत्रिका शारदाको वर्ष १ अङ्क ४ बाट वाचन गर्नुभएपछि शुरु भएको कथा वाचनमा छ जना कथाकारहरूले २०३०, २०४०, २०५०, २०६० र २०७० को दशकमा प्रकाशित आफ्ना कथा वाचन गरेका थिए ।
यस क्रममा कथाकार योगेन्द्र तिमिल्सिनाले ‘बैंशको निर्बाशित शहर’ सोही शीर्षकको आफ्नो कथासङ्ग्रहबाट, सोही दशकको अर्को कथा ’बुढो आँपको बोट’ स्रष्टा पद्मावती सिंहले ‘पद्मावती सिंहका प्रतिनिधि कथा’ शीर्षकको सङ्ग्रहबाट, कथाकार मधुवन पौडेलले आफ्नो २०४० को दशकको कथा ’अकलबहादुर’,स्रष्टा हरिश कल्पितले ‘प्रमोशन’ शीर्षकको कथा ’आस्था’ कथासङ्ग्रहबाट, तथा स्रष्टा मधुसूदनप्रसाद घिमिरेले २०६० जेठको मधुपर्कमा प्रकाशित आफ्नो कथा ‘बिछ्यौना’ तथा कथाकार पबित्रा अधिकारीले सुलेख मासिक पत्रिकाको २०७६ साउनको अङ्कमा प्रकाशित आफ्नो कथा ‘नचिनेको पुरुष’ वाचन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा यस अभियानका परिकल्पनाकार पुष्कर लोहनीले कथा साहित्यको विकास क्रमबारे संक्षिप्त प्रकाश पार्दै विगतमा यहाँ वाचन गरिएका कथाका दिवङ्गत सर्जकहरू रूपनारायण सिंह र रूद्रराज पाण्डे तथा विष्णुचरण श्रेष्ठले कथा विधामा साहित्य सिर्जना शुरू गरेर नेपाली उपन्यास विधामा ख्याति कमाउनुभएको तथ्य जानकारी गराए ।
यस अभियानका अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले कार्यक्रमलाई अहिलेसम्म प्राप्त सफलतामा खुशी व्यक्त गरेका थिए । उनले विभिन्न कालखण्डका कथाकारहरूलाई एकै स्थानमा राखेर फरक फरक दशकमा लेखिएका कथा स्रष्टाकै मुखबाट वाचन गराउने गरिएकोले कुन कालखण्डमा के कस्ता विषयमा, के कस्ता भाषा शैलीमा कथाहरू लेखिए ती बारे कथामा रुचि हुने सबैले थाहा पाउने र पुस्ता पुस्ता बीचमा परिचय र सुसम्बन्धको विकास हुने आयोजकहरूको विश्वास रहेको कुरा प्रकाश पारेका थिए । आयोजक समितिका सदस्य समिना खनाल पृथाले कार्यक्रम संचालन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *