भूपि शेरचन

साभार रचना

नकुल सिलवाल

(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “भूपि शेरचन” को परिचय।)  

भूपि शेरचन ओर्लिंदै हुनुहुन्थ्यो भऱ्याङ, म उक्लिँदै थिएँ । दिउँसो हो कुनै दिन, यो दिन भन्ने थाहा छैन । उनन्चालीस-चालीसतिर, दुई दशक- अगाडि । बगरको पहिलो अङ्क निस्किसकेको हुनुपर्छ, दोस्रो वा तेस्रो अङ्कको ‘विचारविमर्श’ स्तम्भका लागि उत्तर पाइन्छ कि भनेर एकेडेमी गएको हुँ भूपि दाइलाई भेट्न । कुर्सीमा पनि भेटेको हुँ, भऱ्याङमा पनि तर पहिले कहाँ भेटें थाहा भएन । ती आदरणीय कविलाई जसले धेरै धेरै घुम्ने मेच घुमाइदिएका थिए बस्नेहरू कुर्सीमा रन्थनिने नै गरी । उहाँ राष्ट्रिय पोसाक लगाएर कुर्सीमा बस्दा निकै आकर्षक देखिनुभएको हो- उहाँका कविताजस्तै चिटिक्क, कलात्मक, प्रभावशाली, ओजस्वी र सुकुमार । आफ्नो युगलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय सन्दर्भमा त्यसरी काँधमा बोक्न सक्ने कवि भूपि शेरचन सम्भवतः उहाँका समकालीनमा एक्लो बृहस्पति ।

घुम्ने मेचमाथि अन्धो मान्छे मैले सिक्ने जान्ने समयतिरै पढेको हुँ- दोहोऱ्याई- तेहेऱ्याई । जति पढ्यो उति पढौं लाग्ने, पढेपछि जोकोही पनि सजिलै प्रभावित हुने । त्यसै कारणले नै उहाँले त्यसपछिको युगकै नेतृत्व गरिरहनुभएको छ । भूपिले अरूलाई फड्‌को मारौं, अरूले भूपिलाई उछिन्न हम्मेहम्मे पर्छ नै, परिरहन्छ । आजको पुस्ता भूपिजस्तो कवितामा रमाइरहन, कवितामै खेलिरहन, हाँसिरहन, रोइरहन सक्दैन । व्यावहारिक झमेलामा फसेको पुस्ताले भूपिबाट कति कुरा अनुकरण गर्ला तर त्यसरी पूर्णतः ‘कवि’ भइरहन सक्दैन । भूपिले सबै झन्झटलाई पन्छाएर कवि भए, भइरहे । लामो समय कविता नलेखेर बसे पनि थोरै समयमा लेखेका थोरै कविताले नै अमर भए । त्यस्ता महान् कविको ‘सायद’ कविता घुम्ने मेचमाथि अन्धो मान्छेमा सङ्गृहीत थिएन । २०४७ सालमा गरिमा ९७ ले श्रीकृष्णप्रकाश श्रेष्ठ (अक्टोबर १९७४, मस्को, सोभियत सङ्घ) सौजन्य भनेर छापेको थियो । त्यसैलाई आधार मानेर २०४७ को सर्वश्रेष्ठ स्रष्टा र सृजनामा सङ्कलित भयो र त्यसैबाट कवितामध्ये सर्वश्रेष्ठ ठहऱ्याएर यहाँ फेरि प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *