३० कार्तिक २०२४, काठमाडौं
भारतको नयाँ दिल्लीस्थित फाउन्डेशन अफ सार्क राइटर्स एन्ड लिटरेचर (फोसवाल) महोत्सवमा भाग लिएर नेपाली साहित्यकारहरूको सात सदस्यीय टोली आज नेपाल फर्केको छ । टोलीमा नेपाल स्रष्टा समाजका पूर्वअध्यक्ष विधान आचार्य, सहप्राध्यापक डा. नेत्र एटम, लेखक कविहरू ऋतुराज सुवेदी, अभय श्रेष्ठ, सविता गौतम दाहाल, कवि चन्द्र गुरूङ तथा डा नाज सिंह संलग्न थिए ।
सो महोत्सवका विभिन्न सत्रमध्ये एकमा श्री आचार्यले साहित्य र पर्यावरणबारे एक पत्र प्रस्तुत गरे भने नेपाल र अन्य देशका कविहरूले भाग लिएका कविताका अन्य दुई सत्रहरूमा उनले अध्यक्षता गरे । यसै गरी ऋतुराज सुवेदीले आख्यानको एक सत्रमा अभिसुवेदी लिखित बीपीकोइरालाको मोदिआइनमा आधारित एक पुस्तकमाथि समालोचकीय परिचर्चा र अभय श्रेष्ठले समकालीन आख्यान लेखनमा चर्चा गरे, कविता सुनाए ।
उदघाटन तथा समापनबाहेक कुल २६ सत्रहरूमा विभाजित सो चार दिने महोत्सवमा प्रख्यात चित्रकार अर्पणा कौरका चित्रहरूको प्रदर्शनी, सांस्कृतिक नृत्यहरू तथा डा कृष्णकान्त का एकल अभिनयहरूको प्रस्तुति पनि रहेको थियो । सहभागीलाई एक दिन दिल्लीको पुरानो किल्लाको भ्रमणसमेत गराइएको थियो ।
कार्तिक २५ देखि २८ सम्म आयोजित सो महोत्सवमा भारत तथा श्रीलङ्काका साहित्यकार र पर्यावरण अभियन्ताहरूका साथमा नेपालका कवि विधान आचार्यलाई सार्क लिटरेचर अवार्डबाट सम्मानित गरिएको थियो ।
स्मरणीय छ, सो अवार्डबाट यसअघि प्रा. अभि सुवेदी, भीष्म उप्रेती, मञ्जुल, गोविन्द गिरी प्रेरणा लगायतका साहित्यकारहरु यसअघि सम्मानित भैसकेका छन् ।
फोसवाल सन् १९८७ मा स्थापना भएको थियो र सार्क लेखकहरुको पहिलो सम्मेलन सन् २००० को अप्रिलमा सम्पन्न भएको थियो ।
