यसरी गाउँ शहर आईबस्छ !

कविता

विवश बलिभद्र कोइराला

 

कहिले
गाउँ
गाउँ बोकेर,
अफ्ठ्यारो मान्दै
शहर आईपुग्छ।

कहिले सजिलै शहर
शहर बोकेर
सजिलो मान्दै
गाउँ आईपुग्छ।

यो आवत जावतको श्रृङ्खला चलेको पनि
परीको कथा जस्तै प्यारो
भुत र चुडेलको कहानी जस्तै भयानक
ढुङ्गे युगका मानिसहरुका किम्बदन्ती जस्तै पुरानो
तर मात्रै पूरानो हुन नपाएको
सिलसिलेवार घुमिरहेको
पुरानो कथाको
ताजा पुनरावृत्ति मात्र हो।

निक्कै अप्ठ्यारो छ गाउँलाई शहर आईपुग्न
निक्कै सुन्दर कुराहरूको लत छोडेर निस्कनु पर्छ
मैला, मलिन र सुकोमल अँध्यारा जस्ता देखिने
उज्याला मानिसहरुका
अँगालै मारेर टाँसियौं लाग्ने मुटुहरु
चक्कीला भरोसाका धाप र आँखाहरू
ताजा र कञ्चन
भन्ज्याङ र चौतारीहरूका
चिनारु हावा, पानी र सुगन्धहरू
छोडेर निस्कनु पर्छ
सजिलो कहाँ छ र ?
गाउँलाई सहर पुग्न।

तिमी सजिलै
उ….. बेलादेखि
सहर बोकेर, गाउँ आएर फर्कन्छौं
हाम्रा अप्ठ्यारा भीर र अक्करहरुमा
खोचका अँध्यारा झाडीहरूमा
कहीं कहिल्यै
अभर पर्दैनौ, हराउँदैनौ
निसासिंदैनौ
तिर्खाउँदैनौ, भोकाउँदैनौ
उही उज्यालो र स्फूर्ति लिएर
सजिलै
शहर बोकेर
शहर फर्कन्छौ।

केही त अचम्म छ तिमीसँग
कहिल्यै यो दुर्गम गाउँबाट
तिमी रित्तै फर्केको
मलाई सम्झनै छैन
म भने
जहिल्यै तिम्रो यो उज्यालो सहरमा
हराई रहन्छु, अताल्लीई रहन्छु
निसास्सिइ रहन्छु।

हरेक पटक
आशाका सुन्दर अभिलाषा लिएर
गाँउ सहर आएको थाहा छ
हराएको, निसासिएको
अलमलिएको थाहा छ
सधैं जसो एक्लै रित्तो फर्किएको थाहा छ
केही त छ तिमीसंग
जो पुस्तौं पुस्ता
हराईरहँदा पनि
अठ्यारो गरी
तिमीलाई भेट्न
बारम्बार हराउँदा पनि
भेटिने आशामा
गाउँ?
गाउँ ? गाउँ बोकेर सहर आई रहन्छ।

कवि परिचयः चुलाचुली ईलाममा जन्मेर हाल दमक झापामा बसोवास गरिरहेका कवि विवश बलिभद्र कोइरालाले पचासको दशकको पूर्वार्धदेखि लेखन आरम्भ गरेका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *