मञ्जुलका दुई कविता

कविता

मञ्जुल

१, दिनभरि कुदि रहने बाटो पनि

 

दिनभरि
कुदि रहने बाटो पनि
बेलुका
आराम गर्दो रहेछ

सँगै आएर
बियर खान खोज्दो रहेछ
गफ गर्न खोज्दो रहेछ

दिनभरि
कुदि रहने बाटो पनि
बेलुका आएर
सुत्न खोज्दो रहेछ, सपना देख्न खोज्दो रहेछ

आराम गर्न खोज्दो रहेछ

भोलि फेरि
दगुर्नु पर्छ उसले मानिसले जस्तै
यात्रालाई नै
जीवन ठान्ने यात्रीले जस्तै

दिनभरि
कुदि रहने बाटो पनि
बेलुका
आराम गर्दो रहेछ

२, रूखहरू

 

रूखका हाँगाहरू तन्किएर
पर–पर पुगेका छन्
एउटाले अर्कोलाई अँगालो हालेका छन्

रुखहरू
देखिंदा अलग–अलग उभिएझैँ देखिन्छन्
तर स्नेहले
एक अर्कोसँग नजिक छन्, एकदम नजिक

एउटै झरीले भिज्छन् भिज्दा
एउटै हुरी वतासले हल्लिन्छन् हल्लिँदा

गीत गाउँदा पनि
एउटै बतास ओंठमा राखेर गाउँछन्
हाँस्दा पनि
एउटै प्रकाश ओठमा राखेर गाउँछन्

देखिंदा अलग–अलग देखिने दुई रूखहरू

०००

कवि परिचयः भोजपुर जिल्लाको गोगनेमा जन्मेका मेघराज शर्मा नेपाल नेपाली कविता साहित्यका विशिष्ट कवि मञ्जुल हुन् । वि.सं. २०१७सालतिर कविता प्रकाशनसँगै साहित्यमा उदाएका उनको पहिलो काव्य कृति “साइली मोरीलाई“(सन् १९६७) गीत सङ्ग्रह थियो । त्यस यता उनका “गायक यात्री“, “मञ्जुलका नयाँ कविताहरू“(सन् १९८८), “चोकटी कविता“(सन् १९८८), “मृत्यु“(सन् १९९८), “गाउँका दृश्यहरूमा बाँधिएर“(१९९९) , “सिध्दिचरणहरू” लगायत कविता कृतिहरु, उपन्यास, नियात्रा कृतिहरु प्रकाशित छन् । हाल उनी सात दोवाटो ललितपुरमा बसोवास गर्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *