कोर्न त हर कोही कोर्छन् (कविता)

कविता

महत्ता घिमिरे चापागाईं

कोर्न त हर कोही कोर्छन् यहाँ
कोही भावनालाई सलाई कोर्छन्
दनदनी आगो लगाउँछन्, ताप्छन्
अनि खरानी बनाइ दर्दनाक कथा कोर्छन्।

कोही जलिरहेको भावनालाई शब्द समेटि कोर्छन्
छटपटिएको गरुङ्गो मनलाई शीतलता दिन कोर्छन्
कसैको पिडामा मलम बनी
गीत ,गजल, कविता मिश्रित मानव तस्विर कोर्छन्।
कोर्न त हर कोही कोर्छन् यहाँ….

कोही निर्दयी अरूको सपनामा सलाई कोर्छन्
चीत्कार दर्द, पिडा, सहनशीलता कोर्छन्
कोही मानवताको इतिहास कोर्छन्
कोही दानवताको चक्र कोर्छन्

कोही सफलताको पाइला कोर्छन्
त कोही हारको गित कोर्छन्।
त कोही जितको कथा कोर्छन्।
कोही मुटुको प्रेम मुटुमा कोर्छन्
कोही घृणाको होली रगतले कोर्छन्।
कोर्न त हर कोहि कोर्छन् यहॅा ।
कोहि जीवनको गीत कोर्छन्
त कोही मृत्युको कथा कोर्छन्।

कवि परिचयः नेपालको झापा जिल्लामा जन्मिएकी कवि महत्ता घिमिरे चापागाई कविता रचनामा उनको लगाव छ । साहित्यकार भवानी घिमिरेकी छोरी हु भन्दा गर्व महसुस गर्दछु भन्ने उनको आत्मस्वीकृति छ । उनको हाल अष्ट्रेलियाको राजधानि क्यानबेरामा बसोबास गर्दै आइरहेकी छिन् ।

 

Leave a Reply