मासिक कथावाचन कार्यक्रमको बाह्रौं श्रृङ्खला सम्पन्न

मुख्य समाचार

२८ भदौ २०८१, काठमाडौं

वि.सं. २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार डिल्लीवजार घट्टे कुलोमा गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको बाह्रौं शृङ्खला सम्पन्न भएको छ । सधैँ झैँ कुनै दिवङ्गत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर आरम्भ गरिएको सो कार्यक्रममा अन्य छ जना प्रतिष्ठित कलाकारहरूले विभिन्न कालखण्डमा प्रकाशित आ आफ्ना कथाहरू वाचन गरेका थिए ।
दिवङ्गत स्रष्टा युद्ध प्रसाद मिश्रको ‘पुनर्मिलन’ शीर्षकको कथा शारदा मासिकको जेठ १९९८ को अङ्कबाट आयोजक समितिका सदस्य पवित्रा अधिकारीले वाचन गरेकी थिइन् ।
वि.सं.२०४० को दशकमा प्रकाशित दुई जना स्रष्टाका कथा वाचन गरिएका थिए । कथाकारहरू मधुवन पौडेलले २०४१ साल असार ३१ गतेको गोरखापत्रमा प्रकाशित ‘स्वदेश फर्कँदा’ र किशोर पहाडीले २०४८ वैशाखको गरिमामा प्रकाशित ‘अर्धाङ्गिनी र सिपाही’ नामक रचनाहरू वाचन गरेका थिए । त्यसै गरी २०६० को दशकमा प्रकाशित दुइटा कथा कलाकारहरू मधुसूदन प्रसाद घिमिरेले ‘पिउन साहेब’ २०६४ कात्तिकको मधुपर्कबाट र राशि (रामेश्वर सिंह पाण्डे)ले ‘निकाह’ शीर्षकको कथा २०६७ चैतको गरिमाबाट वाचन गरेका थिए । त्यस्तै, प्राप्त भएका २०७० को दशकका दुइटा कथा कथाकारहरू क्रमशः रमेशजङ्ग थापाले ’घरको ठेगाना’ २०७४ को मधुपर्कबाट र पवित्रा अधिकारीले ’सेवक’ नामक रचना आफ्नै कथासङ्ग्रह ‘देह उत्सव’ (२०७४) बाट वाचन गरेका थिए । आफूले वाचन गर्न चाहेका प्रकाशित कथाहरू स्रष्टाले अग्रिममा दर्ता गराउनुपर्ने नियम छ ।
कार्यक्रमका परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथा साहित्यको विकास क्रमबारे संक्षिप्त प्रकाश पार्दै यस कार्यक्रमले अहिलेसम्म पाएको सफलतामा खुशी व्यक्त गरेका थिए। अर्का परिकल्पनाकार चन्द्र प्रसाद भट्टराईले विभिन्न पुस्ताका कथाकारहरूलाई एकै स्थानमा राखेर फरक फरक दशकमा प्रकाशित कथा स्रष्टाकै स्वरमा वाचन गराउने गरिएकाले कुन कालखण्डमा के कस्ता विषयमा, के कस्ता भाषा शैलीमा कथाहरू लेखिए ती बारे कथामा रुचि हुने सबैले थाहा पाउने र पुस्ता पुस्ता बीचमा परिचय र सु सम्बन्धको विकास हुने आयोजकहरूको विश्वास रहेको कुरा प्रकाश पारेका थिए ।
कार्यक्रममा कथाकार बाबा न्यौपाने, साहित्यिक पत्रकार शेषराज शिवाकोटी, स्रष्टा एवं सञ्चारकर्मी राजेश खनाल, कथाप्रेमीहरु डा.बालचन्द्र मिश्र, हरि बोल आचार्य लगायतको रूपमा उपस्थिति थियो ।
आयोजक समितिका सदस्य समिना खनाल पृथाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply