२३ माघ २०८२, काठमाडौं
नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत हुने गरेको दशक-दशकका कथा वाचनको मासिक कार्यक्रमको सत्ताइसौं श्रृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रममा कथाकार राशि पाण्डेले २०४० को दशकको कथा’सिङथाजी’र मधुसूदनप्रसाद घिमिरेले’२०६० को दशकको कथा’गहिराइ’वाचन गरेर सुनाएका थिए।
दिवङ्गत भइसकेका कथाकारको कथा वाचन गरेर शुरू हुने कार्यक्रममा यस पटक कथाकार लक्ष्मीनन्दन शर्माको कथा ‘लतमाया’लाई कथाकार सुभाषचन्द्र पौडेल’भीमफेदीया’ले वाचन गरेर सुनाएका थिए।जुन कथा १९९७ वैशाख संख्या १ वर्ष ६ को ‘शारदा’मा छापिएको थियो ।
त्यसपछि राशि पाण्डेले’सिङथाजी’२, मधुसूदनप्रसाद घिमिरेले ‘गहिराइ’ वाचन गरे ।
कार्यक्रममा वाचन गरिएका कथाहरूमाथि समीक्षक प्रा.डा.भरतकुमार भट्टराईले कथा’सिङथाजी’को बारेमा संक्षेपमा बोल्दै उनले कथाको शीर्षक नै आकर्षक र भावपूर्ण रहेको बताए।रसुवाका तामाङ भाषामा सिङथाजी को अर्थ छोडपत्र वा सम्बन्ध विच्छेद हो।सिङथाजी कथा त्रिकोणात्मक प्रेमको कथा हो जुन पूर्व स्मृतिमा आधारित छ र कथाले तामाङ समुदायको संस्कृति बोलेको छ भनेर बताए ।
त्यसैगरी समीक्षक पवित्रा अधिकारीले’गहिराइ’कथाका बारे संक्षेपमा टिप्पणी पेश गरेकी थिइन्।गहिराइ कथा शुरुमा निबन्ध जस्तो लागेको भए पनि पढ्दै जाँदा कथा भएको बताइन्।यो कथा तीन पुस्ताको कथा भएको र संस्कारको पुस्तान्तरण भएको कथा भएको बताउँदै सामाजिक विकृति र विसंगति भएको कथा भए पनि आशावादी चिन्तन भएको बताइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै परिकल्पनाकार पुष्कर लोहनीले ९ कक्षामा पढ्दै गर्दा २०१० सालदेखि निरन्तर साहित्यमा लागेको बताए।
कार्यक्रममा अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले स्वागत मन्तव्य राख्दै कथा साहित्यमा पुनर्जागरण ल्याउनका लागि २०८० साउनदेखि यस अभियानको शुरुआत गरेको बताए। उनले नेपाली कथा साहित्यमा शुरुदेखि नै महिला सहभागिता कम रहेकोमा हाल आएर क्रमश: सहभागिता संख्या बढेकोमा खुसी व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन उपन्यासकार शुक देव उपाध्यायले गरेका थिए।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
