१९ अगस्त २०२४, विण्डसर, क्यानाडा
साहित्य परिषद् भुटानको परिषदको तीसौँ वार्षिकोत्सवको अवसरमा ” विण्डसोर सम्मेलन-२०२४” क्यानाडाको विण्डसोर, ओण्टारियोमा १७ अगस्तका दिन सम्पन्न भएको छ ।
“ओ क्यानाडा” नामक राष्ट्रिय गानबाट शुरुवात गरिएको सो कार्यक्रममा प्रत्येक तीन वर्षमा भुटानी समुदायका लेखकलाई दिइने ‘हिमटीका आख्यान पुरस्कार’ “प्रहेलिका” उपन्यासका लागी जे.एन. दाहाललाई एक हजार एक सय डलर नगद तथा प्रमाण-पत्रसहित प्रदान गरिएको थियो ।
समारोहमा स्व. देविभक्त लामिटारेकृत ‘दन्किँदो भूटान’, बी.पी शर्माकृत‘म सिङ्गै हराउन लागिरहेको छु एउटा शहर भित्र’, तुम्बेहाङ लिम्बु कृत ‘आगोको बिउ’ र हेम गुरागाईँद्वारा अनुदित पुस्तक ‘दि प्लिग- विटनेस्’ को विमोचन भएको थियो ।
सो अवसरमा भक्त घिमिरेको ‘देश सम्झने प्रस्तावना’, डा. लक्ष्मी नारायण ढकालको ‘भाषाको समस्या र समाधानको दिशा’ र भोला सुवेदीको ‘हाम्रो भाषा संस्कृति र पहिचानको ‘लक्ष्य चिन्तन’ विषयमा तीन कार्यपत्र प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा डा. गोविन्द सिं रावतले नेपाल बाहिरका नेपाली लेखकहरूको विषयमा आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रममा साङ्गीतिक योगदानका लागी अर्जुन रसाइली र पत्रकारिता योगदानका लागी अर्जुन प्रधानलाई, साहित्यक योगदानका लागी केशव घिमिरे, आर.बि खण्डका,डी.पी ओस्ती ,धर्मेन्द्र तिम्सिना ‘ क्षितिज’ तथा परिषद्लको नेपाली कक्षा सञ्चालनमा योगदान गर्ने गोमा अधिकारी, कृष्ण दङगाल,जानुका सुवेदी खनाललाई सम्मान गरिएको थियो । साथै संस्थामा योगदान गर्ने पुराना सदस्यहरू भोला सापकोटा, डा.लक्ष्मी नारायण ढकाल, भवानी अधिकारी, मनोज राइ, खेम साण्डिल्यलाई सम्मान गरिएको थियो ।
सो अवसरमा मदन दुलाल, विश्वास लामा, तुलसा अधिकारी, सिद्धान्त ढुङ्गाना,हर्षित सिग्देल, रिया र रिदम रिजाल लगायतका नयाँ तथा पुराना श्रष्टाहरूले कविता वाचन र गीत गायन प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्वोधन गर्दै परिषदका अध्यक्ष गंगा लामिटारेले एक्लै यो भाषा साहित्यको लडाँइ अघि जान सक्दैन भन्दै यसलाई बचाउन र अघि लान नयाँ पुस्ताका साथीहरू अग्रसर हुन आग्रह गरे । स्थापना काल देखिकै सक्रिय लामिटारेले परिषद् अघि लान २५ हजार डलरको अक्षयकोषका लागी रकम दिने वचनबध्दता प्रकट गरे ।
अष्ट्रेलियन राजनितिमा काम गरि सक्नु भएका ओम ढुङ्गेल, ओहायो सिटिकाउन्सीलर भुवन प्याकुरेलको लगायत अमेरिका र क्यानाडाबाट तिन दर्जन भन्दा बढी लेखकहरूको उपस्थितिमा थियो।
परिषदको क्यानाडा शाखाका खगेन्द्र गौतमको अध्यक्षता तथा गीता खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा साहित्यकार गोवर्धन पूजाले सम्बोधन गरेका थिए ।
कार्यकरमको शुरुमा बस दुर्घटनाबाट तिन महिना अघि वितेका त्रिभुवन विश्वविदयालयका प्रोफेसर तथा कृषी वैज्ञानीक डा.गोविन्द रिजाललाई श्रदान्जली चढाउँदै अघि बढेको कार्यक्रममा क्षितिज गौतमले ‘भुट्निज लिट्रेचर’ साइटका विषयमा चर्चा गरेका थिए । चार हजार माथी सृजना संकलन गरि सकेको साइट साहित्य परिषद्को संचालनमा पन्ध्र वर्षदेखि निरन्तर चल्दै आएको छ।
(समाचार जेएन दाहालको सहयोगमा तथा फोटो सौजन्य अर्जुन प्रधान)