काठमाडौंमा मुशायरा-जश्न-ए-गालिब सम्पन्न

मुख्य समाचार

११ पुस २०८०, काठमाडौं ।

भारतीय दूतावास,नेपाल प्रज्ञा प्रतिष्ठान र उर्दू अकादमी नेपालले संयुक्त रुपमा मुशायरा – जश्न – ए – गालिब को आयोजना भयो । सो अवसरमा स्रष्टाहरूले ‘मिर्जा असदूल्लाह खान गालिब’को सम्झनामा गजल वाचन गरे ।

भारतीय दूतावासका प्रतिनिधि गीताको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कविहरू मोविन खान, इम्तियाज वफा, साकिव हारुनी, अलताफ, अन्जर शवा, सगीना खान, तबस्सुम, फुरकान फैजी, करिम अन्जुम, बाबु त्रिपाठी, डा. सनत कुमार वस्ती लगायतले गजल वाचन गरेका थिए । कवि गालिबको परिचय प्रा. डा. सनतकुमार वस्तीले प्रस्तुत गरेका थिए ।

सो अवसरमा उर्दू अकादमीका अध्यक्ष गजलकार इम्तियाज वफाको उर्दू गजलसंग्रह ‘रम्ज–ए–वफा’ सार्वजनिक गरियो । विमोचनपछि कृतिको समीक्षा कवि मोविन खानले गरेका थिए ।

सो कार्यक्रमको उद्घाटन तथा कृतिको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायत अतिथिका रुपमा रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कुलपति राईले गालिबको नामसँग जोडिएको कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको बताउँदै प्रतिष्ठानले भाषा साहित्यका क्षेत्रमा गर्दै आएको कामको उल्लेख गरे । डा. मोविन खानले सन् १८५७ देखि सायरी परम्परा सुरु भएको बताउँदै मिर्जा गालिबको सायरी (गजल)को चर्चा गरेका थिए ।

कार्यक्रमको संचालन भारतीय दूतावासका प्रतिनिधि सत्येन्द्र दहियाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *