सगुना शाह
साहित्य समाजको प्रतिबिम्ब हो र यसको शाश्वत पक्ष भनेको मानविय संवेदना, भावानुभुतिहरुलाई समाजको सामुन्ने राख्नु हो। तसर्थ भन्न सकिन्छ साहित्य समाजको ऐना हो। दर्पण हो। त्यसो हो भने त आफुले देखे भोगेको सुनेको कुरालाई शब्दमा उतार्न जो कोही पनि साक्षर मानिसले सक्दछ। भनेपछि साहित्यकार र साधारण मानिसमा फरक के त भन्दा प्रस्तुती कला, शिल्प र भाषाका साथै कल्पना भन्न पर्ला । कुनै पनि साहित्यकारको कृति बजारमा निस्कदा त्यसले सामाजिक चित्रण मात्र नगरि समाजप्रती केही दायित्व पनि बोकेको हुन्छ। प्रथम त लेखकले कसका लागि लेख्ने भन्दा आफ्नै लागि होला – यदि लेख्नु नितान्त निजी हुने हो भने त डायरी मात्रमा सीमित हुन पर्ने । लेखकले के लेख्ने, के नलेख्ने भन्ने चाहिँ आफ्नो च्वाइसको कुरा हो भन्ने लाग्छ। किताबबारे अनेक किसिमका प्रतिक्रिया तसर्थ स्वाभाविक नै हुन्छ।
किताबको रूपमा छापिएर आएपछि जति नै पूर्वाग्रह नराखी पढौं भन्दा भन्दै पनि डा. ज्ञानू पाण्डेलाई निजी रूपमा थोरै भेटेको, थोरै कुराकानी भएको तर विभिन्न समय र मञ्चमा वक्ताको रूपमा धेरै पटक सुनेको हुँदा अपेक्षा नराखी रहन भने सकिंन । एघारवटा आत्मपरक निबन्ध सङ्ग्रह “जीवनको अभिनन्दन” लेखकको सातौं कृति भएकोले पनि होला यसले उनलाई जीवन र दर्शनको गहिरो बोध भएको परिपक्व लेखकको रुपमा स्थापित गरेको छ । डा. गोविन्द राज भट्टराईले भूमिकामा लेख्नु भए झैं “यस कृतिभित्र सबै निबन्धहरु जीवन दर्शन, अस्तित्व दर्शन , सकारात्मक दर्शन, नियति – स्वीकृति दर्शनका विविध पाटा उघारिएका छन्।“
अनुक्रम पुन: एक पटक पल्टाएर हेर्दा मलाई यस सङ्ग्रहमा सबैभन्दा प्रिय लागेका निबन्धहरु – विरोधाभासको मिठो तनाव, पाठकको सत्ता, निर्वन्ध नायिकाको महाप्रस्थान, त्यहाँ म केवल छोरी मात्र बाँकी रहन्छु, भगवान? र जीवनको अभिनन्दन लागेका हुन्। अन्य निबन्ध सामान्य लाग्नु का पनि आफ्नै कारण छन् ।
आफै पनि शिक्षण पेशामा केही वर्ष बिताएको हुनाले होला, गुरुको रूपमा उभिएको व्यक्तिलाई प्रश्न गर्न सक्ने, आफ्नो तर्क राख्न र फरक मत राख्न सक्ने विद्यार्थी आफ्नो लागि सधैं प्रिय भए । तसर्थ, “बिरोधाभाषको मिठो तनाव” मा उठेका सवाल जवाफ र विद्यार्थीसँग जोडिने आत्मीय सम्बन्ध मलाई अत्यन्त मिठो लाग्यो। हुन पनि जीवन भनेको के हो भन्ने कुराको उत्तर कुनै पनि हालतमा एउटै हुन सक्दैन। दर्शनका कुरामा जुन आनन्द छ, त्यो वास्तविक भोगाइमा नहोला। “जीवनबारे थुप्रै रेडिमेड परिभाषाहरू पढ्न पाइन्छ।” ( पृष्ठ ४१) “म ठान्छु , बनिबनाउ सिद्धान्त र शास्त्रहरू सबै बौद्धिकताको मानक हुन्। “ ( पृष्ठ ४३) यी लेखक स्वयंका भनाईबाट नै बुझिन्छ कि जीवनको परिभाषा व्यक्तिगत रूपमा फरक हुन्छ। भर्खरै कालको मूखबाट उम्किएको , मृत्युलाई जितेर जीवन पाएको, प्रत्येक घडी घिटघिट भएर बरु मर्न पाए हुन्थ्यो भन्नेका लागि जीवन प्रतिको दृष्टिकोण फरक होलान् । हामी नितान्त स्वतन्त्र भइ कुनै पनि सामाजिक अभिभारा नभएको अवस्था रहन्थ्यो भने जीवन के हो भन्ने दृष्टिकोण पनि एकै किसिमको हुन्थ्यो होला । फरक भूगोल र परिवेश त भइ हाले एकै किसिमका समाजमा बाँचिरहेका हाम्रो अवस्था र भोगाई समेत फरक हुने भएकोले यसमाथि धेरै बहस गर्न सकिन्छ।
“पाठकको सत्ताले” मलाई बुकाहोलिक्सले गर्ने गरेको मासिक चकटी बहस कत्तिको महत्त्वपूर्ण हुने रहेछ भन्ने महसूस भयो। पाठकको प्रतिकृया, समालोचना, समीक्षा आदिले निकै नै महत्त्व राख्छ भन्दा भन्दै , निरन्तर लेखीरहने आफ्नो काम हो बाँकी कुरा त्यस्तै हुन् भन्ने खालका लेखकहरु हामी माझ प्रशस्त नभएका पनि होइन। यद्यपि यस निबन्धमा उठाइएको कुराहरू हामी जस्ता पाठक र लेख्न चाहनेहरुका लागि सोच्न बाध्य पार्ने किसिमका छन् । कुनै पनि कृति पढ्दा पाठकको आफ्नो अध्ययन, बुझाई र रुची कस्तो किसिमको छ भन्ने कुराले पनि फरक पार्दछ । “पाठकको संलग्नता बिना आफ्नो सृजन कर्म अपूरो र अधूरो रहने छ भन्ने तथ्य बोध गर्न नसक्ने , बोध गर्न नजान्ने व्यक्ति सही मानेमा सफल लेखक बनेर समाजमा उभिन सक्दैन ।” (पृष्ठ ७२ ) कुरा त सहि हो, तर अफसोस बिक्री वितरणको आधारमा अति रतीमा डुबेका लेखक माझ त्यसता कैयौँ लेखकका कृति छन् जो ओझेलमा परेका छन् अथवा भनौं तिनको चर्चा नै हुँदैन। यो निबन्ध पाठकले भन्दा पनि लेखकहरुले भने पढेर बोध गर्ने पर्ने लाग्यो ।
“निर्बन्ध नायिकाको महप्रस्थानमा” नेपाली साहित्यका मानक बानिरा गिरीलाई अझै राम्रोसँग चिन्न पाइन्छ भने “त्यहाँ म केवल छोरी मात्र बाँकी रहन्छु” मा लेखक माथि आफ्नो पिताको प्रभाव पढ्दा आनन्द लाग्छ । पितासँग बिताएको छोटो समय तर आज पनि उनको योगदान कति अमूल्य छन् मेरा लागि भन्ने अनुभूति म जस्तै अन्यलाई पनि हुन सक्छ।
भगवान? के हो, कस्तो हुन्छ, कहाँ हुन्छ, हुन्छ कि हुँदैन भन्ने सबै बालकको मन् मा उठ्ने प्रश्न होला । टाढाका मन्दिरहरू पिकनिक स्पोट भएका र नियमित रूपमा मन्दिरमा भगवान दर्शन गर्न नलगिएको म जस्तो बालक, मान्छे नै भगवान् हो भन्ने ठानेर हुर्कें । भगवान मानिएको गुरुसँग पनि निर्धक्क प्रश्न उत्तर गर्ने आँट चार वर्षको हुँदा नै थियो। ठूली भएपछि आफै थाहा पाउने छौ भन्ने लेखकलाई आएको उत्तर मलाई भने कसैले दिएन । आफूले पनि त्यस किसिमको प्रश्न गरेको याद भएन । भगवानका मूर्ति देखेर फरक हुने र तिनका पनि फरक काम हुने लाग्यो । विभिन्न स्कूलमा मान्ने भगवान पनि फरक थिए । हुर्कंदै जाँदा आफू नास्तिक जस्तो लाग्थ्यो, अहिले आएर आस्तिक नै त हैन एग्नोस्टिक हूँ कि भन्ने भान हुन्छ । Being good is being god भन्ने विश्वास छ । तर यदा कदा मन्दिर दर्शन गर्न जाँदा भगवानको चरण भन्दा अन्त छुन आँट आउँदैन, घुस दिएर आफ्नो लागि केही माग्न आउँदैन। यी भए आफ्ना अनुभूति । त्यो अदृश्य शक्ति, प्राकृतिक प्रलय जसले मानिसलाई के के न हूँ भन्ने बुझाइबाट थचारेर तिनको औकात देखाईदिने जिनिस होला भगवान ।
अन्तिम निबन्ध ” जीवनको अभिनन्दन” समग्रमा भन्न पर्दा सकारात्मक सोचलाई सधैं आत्मसात गर्दै जीवनलाई सरल बनाउँदै जाने प्रेरणादायी निबन्ध सङग्रह हो। जीवनमा आउने बाधा अवरोधहरुसँग लड्दै बाँच्नलाई प्रेरणा दिने सङग्रह हो। सधैं आफूमाथि सकारात्मक सोच मात्र हावी हुन दिन कसरी सकिन्छ होला र भन्ने प्रश्न नउठ्ने हैन मनमा । तर हामीलाई आफ्नै मनमा आउने नकारात्मक सोचहरुलाई पनि फिल्टर गर्ने दरकार छ । लेखक भन्नु हुन्छ वहाँलाई ‘उफ् आफ’ गर्ने मानिसहरूको संगत गर्न मन पर्दैन। तर यसो हेर्ने हो भने हामी धेरै ‘उफ् आफ’ नै गरीरहेका हुन्छौं । बाहिरबाट हेर्दा यो विचलित अवस्थाको कारण सजिलै अनुमान गर्न सकिन्न। यस निबन्धमा आफू सँगै काम गर्ने शिक्षकको आत्महत्या पछि कलेज बिदा भएको प्रसङ्ग छ । सबैले मृत्यु पछि गुणगान गर्दछन्, केहीले त्यसो गर्न नहुने थियो भन्ने कुरा गर्छन्। यो पढ्दै गर्दा मैले धेरैले मानेका, टुँडिखेलमा नेपालको झण्डा बनाउने Art of Living का प्रशिक्षक , आफै पनि साधक गुरु भावेश खनाललाई सम्झें । पोखरामा चार दिनको शिविर चलाएर आएपछि आफ्नो श्रीमतीको जन्मदिन मनाएर ठमेलको एउटा होटलमा मृत भेटिए भन्ने सुनेर ज्यादै नराम्रो लाग्यो । किन गरे आफैं साधना गर्ने मान्छेले यसो ? हामी कति सजिलोसंग यस्ता व्यक्तिलाई कायरको संज्ञा दिन्छौं । आखिर जति सुकै ज्ञान गुणले भरिपूर्ण भए पनि अन्ततः हामी मान्छे नै हौं सबै किसिमका गुण र द्वेषले भरिएका । मानिसले आफूलाई नपरे सम्म केही पनि कुराको उपदेश दिन सक्छ तर त्यसलाई महसूस सही अर्थमा गर्न सक्दैन। यस निबन्ध पढ्दै गर्दा मैले अमेरिकी कवियत्री डोरोथी पार्कर को एउटा कविता सम्झें,
‘ Resume’
Razors are pain;
Rivers are damp;
Acids stain you;
And drugs cause cramp.
Guns aren’t lawful;
Nooses give;
Gas smells awful;
You might as well live.
“जीवनको अभिनन्दन” का अन्य निबन्ध कोरोना कहर, भुइचालो र यात्रा सम्बन्धित छन् । एक्लो बस्ने बानी परेकोले हुन सक्छ मलाई पाठकको रूपमा त्यति प्रभावकारी नलागेको हुन् सक्छ । कोरोना संक्रमणले आफ्नो मान्छे गुमाउन परेको भए या कुनै विपत्ति आइ लागेको भए मेरो अनुभव फरक हुन्थ्यो होला भनेर स्विकार्न चाहन्छु यहाँ । तर मानसिक रूपले अरूलाई परेको दुख महसुस नगरेको या विचलित नभएको भने हैन । अन्तिम निबन्ध “जीवनको अभिनन्दन” ले सम्पूर्ण सार भन्नु नै यसलाई उत्साह पूर्वक बाँच्न पर्ने भान हुन्छ । शायद हामी मध्ये विरलै कोही होला यसरी बाँच्न नचाहने । नकारात्मक सोचका कारण मानसिक रोग लाग्ने सम्भावना चाहिँ यस सङ्ग्रहमा मात्र होइन जताततै यसरी प्रस्तुत गरिन्छ त्यसलाई स्विकार्न जोकोहीलाई सजिलो छैन। हुन त शारीरिक रोग देखिन्छ, यसको उपचारका लागि जान हामीमा त्यति डर हुँदैन जत्तिको मानसिक रोग छ भन्ने स्विकार्न । समग्रमा यस निबन्ध संग्रहबाट निश्चय पनि आफुलाई सकारात्मक राख्ने प्रेरणा मिलेको छ। यसो गर्न सकेमा शायद मैले पनि लेखकको जस्तो “उ मेरो आफ्नो अमूक प्रेमी” भेट्टाउने छु।
000
लेखिका परिचयः सगुना शाह बाग दरवार, काठमाडौंमा जन्मेकी हुन् र अहिले पनि काठमाडौंकी बासिन्दा हुन् । उनी “मेम्वायर्स अफ सानो महारानी एण्ड द पेन विदिन” अङ्ग्रेजी भाषाको निबन्ध प्रकाशनबाट लेखनमा प्रवेश गरेकी हुन् । यो अर्चना थापा सम्पादित ‘टेलिङ अ टेल‘ (सन्२०१०) मा प्रकाशित भएको थियो । चर्चित बुकाहोलिक्स सामाजिक सञ्जाल मञ्चकी परिकल्पनाकार तथा संस्थापक शाहले अनुवाद गरेको उपन्यास “कान्छा महारानी“(सन्२०२२) प्रकाशित छ ।