३ भदौ २०८१, काठमाडौं
वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको ८४ औँ वर्ष प्रवेशका अवसरमा नेपाल स्रष्टा समाज केन्द्रिय समितिको आयोजना तथा भैरव पुरस्कार गुठीको सह-आयोजनामा वृहत् अभिनन्दन गरिएको छ । कार्यक्रममा अभिनन्दित प्रतिभा घिमिरेको कद बराबरको कलात्मक काठको फ्रेमभित्र पित्तलमा कुँदिएका अक्षरहरूको अभिनन्दनपत्र प्रमुख अतिथि प्रा.डा.अभि सुवेदीले मङ्गल धूनका बीच समर्पण गरेका थिए ।
कार्यक्रममा ९६ वटा विभिन्न साहित्यिक संस्थाहरू तथा साहित्यिक पत्रिकाहरूबाट सामूहिक रूपमा अग्रज साहित्यकार रोचक घिमिरेलाई अभिनन्दन पनि गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा.अभि सुवेदीले रोचक घिमिरेको व्यक्तित्व तथा साहित्यिक पत्रकारितामा उनले पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमलाई नगेन्द्रराज शर्मा, प्रा.डा. गोविन्दराज भट्टराई, रमा शर्मा र मोहन दुवालले शुभकामना मन्तव्य राखेका थिए।
अभिनन्दनपत्र कवि विधान आचार्यले पढेर सुनाएका थिए।
सो अवसरमा अभिनन्दित प्रतिभा रोचक घिमिरेका बारेमा विभिन्न विद्वानहरूद्वारा अभिव्यक्त गरिएका लेखहरूको सङ्कलन ‘रोचक रचना अभिनन्दन ग्रन्थ’को विमोचन गरिएको थियो । सो ग्रन्थमाथि डा.शान्ति माया गिरीले संक्षिप्त समीक्षात्मक टिप्पणी पेश गरेकी थिइन भने ग्रन्थका सम्पादक शेषराज सिवाकोटीले गन्थ्रका बारेमा संक्षेपमा प्रकाश पारेका थिए ।
अभिनन्दित व्यक्तित्व रोचक घिमिरेले रहरै रहरमा भैरव अर्याल र रमेश विकलको सल्लाहमा आफू साहित्यिक पत्रकारितामा लागेको कुरा बताउँदै विसं २०१८ सालदेखि रचना साहित्यिक पत्रिका शुरू भएको बताए । यसरी अभिनन्दन गरेकोमा आभार प्रकट गर्दै आफूसँग बोल्ने शब्द नै नभएको बताए ।
कार्यक्रमका सभापति नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले अग्रज साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरेलाई अभिनन्दन गर्नु भनेको नेपाली भाषा साहित्यकै अभिनन्दन भएको कुरा बताए ।
सो कार्यक्रमको शुरुमा भैरव पुरस्कार गुठीका उपाध्यक्ष विजय चालिसेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन नेपाल स्रष्टा समाजका महासचिव देविका तिमिल्सिनाले गरेका थिए।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)
https://www.facebook.com/share/p/xn2rJyTFPXrQbKzF/?mibextid=oFDknk कार्यक्रम भव्यताका साथ सम्पन्न भएको खबर सुनेर साह्रै खुसी लाग्यो।