कात्यायन
– “ओई ! कता ?” कसैले चिच्यायो ।
आवाज सुन्दासुन्दै, प्रश्न सोध्ने देखिएन ।
झापाको दापगाछीको भ्युटावरको समिपमा रहेको बुलेट ट्रेन चढिसकेको थिएँ ।
क्षणभरमा नै अधिराज्यभरको भ्युटावर अवलोकन गर्दै, म टेकुको दोभानमा रहेको स्टेसनमा उत्रिएँ ।
फेरि आवाज आयो, “ओई ! कता ?”
मैले भनेँ, “रुकुम पूर्वस्थित सिस्ने र पुथा उत्तरगङ्गा गाउँ पालिका समेत हेर्दै आएको ।”
उसले खुसी हुँदै सोध्यो, “तल उर्लिँदो सानीभेरी नदी र माथिको तारेभिरमा पनि रेल्वेको दुरुस्त लिगहरू तैनाथ थिए नि, हैन ?”
मैले सहज हुँदै भनेँ, “अँ ! अब कहीँकतै डोरीमा झुण्डिएर, नदिनाला तर्नु पर्ने रहेनछ, न त रूखमा बाँधिएको डोरीमा बेरिएर भिर चड्नु पर्ने नै !”
उसले रिसाउँदै भन्यो, “तिमीलाई झापामा बोलाउँदा, नबोली किन कुदेको !”
मैले सरल हुँदै भनेँ, “ट्रेन कुदिहाल्यो … अनि, तिमी कहाँ पुगेर आउँदै ?”
“म कन्काईबाट, विश्वकै सबैभन्दा ठूलो क्रुज ‘आइकन अफ दि सिज’ नामक पानीजहाजमा विश्वको एक फन्को लाएर आएको !” उसले भन्यो ।
“ए ! ए !! त्यो क्रुज ? मायामी फ्लोरिडाबाट छुटेपछि, त्यसको पहिलो विश्रामस्थल नारायणी बन्दरगाहमा हुन्छ, हैन र ?”
“हो त्यही पानीजहाज हो ! जसबाट उत्सर्जन हुने मिथेन ग्यास, यहीँको टुकुचामा विसर्जन र प्रशोधन हुने गर्छ !”
सहमतिको शिर हल्लाउँदै, मैले उक्त मित्रले ल्याएको एटलान्टिक महासागरको पेन्गुईनका सुकुटी माग्न खोज्दै थिएँ; ऊ दगुरेर बागमतीको टेकु दोभानको तिरमा पुगिहाल्यो ।
म पछिपछि दगुरेँ ।
किनारामा नै रहेको, हिन्दमहासागर हानिन तम्तयार अर्को ‘हार्मोनिक’ नामक क्रुजनजिक पुग्दै, वरिपरि नियाल्न थाल्यो ऊ ।
एनाकोन्डाको रूप धारण गर्दै बागमती नदीले बगाउँदै ल्याएर, बगरमा अलपत्र पारेको, एक बेवारिसे लाशजस्तैलाई फेरि उसले कोट्याएर सोध्यो, “ओई ! कता ?”
०००
कथाकार परिचयः कात्यायन धन्वन्तरि मिश्रको साहित्यिक नाम हो । काठमाडौंको चाबहिलमा जन्मेर हाल माछापोखरी, बालाजुमा बसोवास गर्ने उनको लेखन २०३९ सालमा उत्साह त्रैमासिकमा “आदेश” कथा प्रकाशनसँगै भएको थियो । उनी कथा, लघुकथा, सूत्रकथा, कविता लगायतका विधामा कलम चलाउँछन् । उनको “कोमामा आमा”(२०७३) सूत्र उपन्यास प्रकाशित छ ।
हार्दिक आभार व्यक्त गर्दछु !