पुष्पा खनाल
लुकाएर राख्न आँशु, थिए दुईटा आँखा
अटाएन, छल्किएर लाग्यो लाखापाखा ।
हिँड्दा ठेस लाग्दाखेरि,उठ्न जानिनँ रे
जिन्दगी यो अमूल्य छ भन्ने ठानिनँ रे
बाँधू भन्छु मनभित्रै, पिरहरूको गाँठो
खोल भन्छ व्यथा सबै,नच्याप्नु रे काख
अटाएन,छल्किएर लाग्यो लाखापाखा !
म बाँचेको वर्तमान,अरू भन्छन् भूल
मलाई नै डुबाउँछ रे बनी तिखो सूल
नदेखिने भविष्यको चपेटामा परी
वर्तमानलाई भविष्यको बन्दकी नराख
अटाएन, छल्किएर लाग्यो लाखापाखा !
कवि परिचयः पुष्पा खनाल एकतप्पा (हाल:फाकथोकथुम), ईलाममा जन्मेकी हुन् । विसं २०४६ सालदेखि लेख्न थाले पनि विसं २०५२ सालमा उनको “चोखो श्रध्दा” गीत प्रकाशनसँगै लेखन यात्रा शुरु भएको हो । उनका पोखिएँ यसरी(गीत तथा कविता सङ्ग्रह) २०६९, गह पोखिएर (गीत सङ्ग्रह) २०७६ कृतिहरु प्रकाशित छन् । उनको लेखनका बिधा कविता र गीत हुन् । हाल उनी भर्जिनिया अमेरिकामा बसोवास गर्छिन् ।
Nice song Pushpa-ji.