उठ! मानवताका पाइतालाहरू

कविता

निर्मलरमण पराजुली

 

मेची हिँडे पनि

काली हिँडे पनि

मेरा पाइतालामा

दुख्नु हुन्न देश

म ऊ

वा

अर्को जो  आए पनि

मेरा दृश्यमा

दुख्नु हुन्न मन

दुख्नु  हुन्न मानवता

मान्छे

अलिकति “म”हो

अलिकति “ऊ”हो

अलिकति “अरू”हो

जम्मैको जोड

सिङ्गो मानवता हो

र उसका पाइताला

अटाउने देश हो

तराई ताते

पहाड उक्ल

हिमाल चिसिए

तराई ओर्ल

रडाको बिर्सेर

तेरो मेरो

झैझगडा बिर्सेर

उसको अरूको

सुविधासम्पन्न

सहरहरू

हिँड

लिम्पियाधुरा दुखेको छ

चेतनाका विश्राम गरौँ त्यता

ओर्ल

झुप्राझोपडीहरू

मानवताको दिल दुखेको छ त्यता

मुछेर

चिसो तातोमा

तातो चिसोमा

झर्नाको वेग

हिमालबाट

तराई दौडेझैँ

हामी

मान्छेहरू

एउटै मानवताको

म्याराथुन दौड्

दौडनुपर्छ

एउटै जन्मस्थलको

पिल्लर सगरमाथा

अग्लनुपर्छ

सम्साँझै कसैले

धावा बोल्न नपावस

मेरो विराट् विश्व मानवतामाथि

मलाई

मजस्तै उसलाई

ऊजस्तै अर्कोलाई

विना स्वार्थ

विना भेदभाव

विना जातभात

ऊर्जा भर्ने

सधैँ भरिरहने

एकमात्र

मेरो देशमाथि

मेरो भेषमाथि

मेरो संस्कारमाथि

मेरो संस्कृतिमाथि

र मेरो सर्वाधिक

सर्वोच्च आसनमाथि…!!!

 

कवि परिचयः निर्मलरमण पराजुलीको जन्म पोखरा महानगरपालिका वार्ड न २ बिन्धवासिनीमा भएको हो र हाल उनी टोखा नगरपालिका वार्ड न १० जवज्योती मार्ग सामाखुशी, काठ्माडौंमा वसोवास गर्छन् । उनका “आमाको सपना” (नाटकसङ्ग्रह २०४२), भाइटीका  (नाटकसङ्ग्रह २०४३), अतृप्त चाहानाको मझेरीमा (कबितासङ्ग्रह २०७३), अक्षरको खेती  (मुक्तकसङ्ग्रह २०७४), सम्मोहन  (मुक्तकसङ्ग्रह २०७५), देश लेख्न हतार छ (कवितासङ्ग्रह २०७६) प्रकाशित छन् ।

 

 

1 thought on “उठ! मानवताका पाइतालाहरू

  1. राम्रो कविता निर्मलजी !!!
    [[हेल्लो विश्वपरिक्रमा, डबल स्पेसिंगले गर्दा पढ्न अलि असहजजस्तो लाग्दोरहेछ । सिंगल स्पेसिंग नै दिऊँ ।
    स्रष्टाहरुलाई व्यापकरुपमा समेटिँदै गएको राम्रो छ । शुभकामना ।]]

Leave a Reply

Your email address will not be published. Required fields are marked *